वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. बासुदेव कार्की अन्तर्वार्ता

के हो पोस्टपार्टम, प्रसूतिपछिको मानसिक समस्या?

प्रसूतिगृह थापाथलीमा सन्तान जन्माएपछि सुत्केरी आमा । फाइल तस्बिर

काठमाडाैँ – मानसिक स्वास्थ्यका बारेमा खासै वास्ता गरिएको पाइँदैन। कसको कतिबेला मानसिक स्वास्थ्यमा समस्या देखिन्छ, कसैलाई पत्तो हुँदैन। कहिलेकाहीँ समान्य रुपमा लिँदै गर्दा समस्या जटिल भइदिन सक्छ।

मानसिहरु विभिन्न प्रकारका मानसिक समस्यासँग लडिरहेका छन्। जसमध्येको एक मानिन्छ, पोस्टपार्टम। पोस्टपार्टम हर्मोनको प्रभाव र मातृत्वको मनोविज्ञान महिलाहरुमा विकास नहुँदा सुत्केरी महिलामा यो समस्या हुने गरेको विभिन्न अध्ययन अनुसन्धानहरुमा उल्लेख गरिएको छ।

सुत्केरी भएका १० प्रतिशत महिलामा मानसिक तनाव देखिने गरेको पाइएको छ। यही पोस्टपार्टमको बारेमा केन्द्रित रहेर मानसिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. बासुदेव कार्कीसँग गरिएको कुराकानीः

के हो पोष्टपार्टम?

प्रसूतिपछिको कुरालाई पोस्टमार्टम भनेर बुझ्छौँ। यो प्रसूतिपछिको ६ हप्ता अर्थात ४२ दिनको अवस्थालाई भनिन्छ।

पोष्टपार्टम के कारणले हुन्छ?

मानसिक समस्या यही कारणले हुन्छ भनेर यकिनका साथ भन्न सकिँदैन किनकि यो समस्या ‘मल्टिफ्याक्टेरियल’ हुन्छ। यसबारे मनोसामाजिक दृष्टिकोणबाटै कुरा गर्ने गर्छौँ। तर कतिपय सवालमा पोस्टपार्टमको अवस्थामा मानसिक स्वास्थ्य समस्याहरु विभिन्न प्रकारहरु हुन्छन्। कतिपय हर्मोनको कारणले हुने गर्छ।

वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. बासुदेव कार्की।

जस्तो एउटा बच्चा गर्भमा छँदैखेरी गर्भवतीको हर्मोनको प्रणाली विकास भएको हुन्छ। बच्चा जन्मिसकेपछि साल गर्भमा नरहँदा त्यहाँ हर्मोनको सन्तुलन बिग्रिन्छ। त्यही हर्मोन एक्कासी बिग्रँदा धेरैजसोको प्रसवको अवस्थापछि मूडमा परिर्वतन आउँछ। मनोभावनामा परिर्वतन आउँछ। तर यतिले मात्रै समग्रमा प्रसूति पछाडिको मानसिक स्वास्थ्य अवस्थालाई व्याख्या गर्न भने सकिँदैन।

पोस्टपार्टम भइरहँदा कस्ता लक्षण देखापर्न सक्छन्?

आफूलाई के भइरहेको छ भन्ने कुरामा छटपटी भइरहने हुन्छ। भइरहेको परिस्थितिलाई स्वीकार्न नसक्ने समस्या देखिन थाल्छ। रिस उठ्ने, निन्द्रा नपर्ने, खानामा अरुचि हुने, चिढचिढाहापन हुने हुनसक्छ।

जसलाई हामी पोस्टपार्टमका सामान्य लक्षणहरुका रुपमा बुझ्ने गर्छौँ। करिब ८० प्रतिशत महिलाहरुमा हर्मोनको अभावले उनको मनोदशाको परिर्वतन देखिन्छ। तर त्यो आफै ठीक भएर जान्छ।

यही समस्या लामो समयसम्म लम्बिएर एन्जाइटिकका समस्याहरु लम्बिन सक्छन्। कसैलाई डिप्रेसनका सोचाइहरु आइरहन सक्छन्। पछि त्यो आफै ठीक भएर जान्छ।

तर मुख्यतया हामीले ध्यान दिने कुरा भनेको पोस्टपार्टम साइकोसिस हो। यो केही समयसम्म रहिरहन्छ। धेरै महिलालाई यो नदेखिए पनि १० देखि १५ प्रतिशत सुत्केरीलाई पोस्टपार्टम साइकोसिस रहन्छ। त्यो बेला यो अलि कडा खालको मानसिक स्वास्थ्य समस्याको रुपमा देखिन्छ।
जुन बेला उपचारको समेत आवश्यकता पर्दछ।

पोस्टपार्टम सुत्केरी भएको ६ हप्तासम्म मात्रै रहन्छ वा पछिसम्म पनि हुन सक्छ?

उपचार गरेन भने ६ हप्तापछि पनि रहन सक्छ। ६ हप्ताभित्र देखिने सम्भावनालाई पोस्टपार्टम भनेर परिभाषित गरिएको छ। तर पोस्टपार्टम साइकोसिस प्रायःजसो एक महिनाभित्रमा देखिन्छ।

यो समयमै उपचार गरिएन भने यो लम्बिन सक्नुका साथै स्वरुप बद्लिनसमेत सक्छ। र, डिप्रेसन आउन सक्छ अथवा म्यानिया स्टेज भन्छौँ अर्थात भावनाको समस्याको रुपमा बद्लिन सक्छ। अझ पहिलोपटक पोस्टपार्टम साइकोसिस देखिएर उनीहरुको जिन्दगीमा मानसिक स्वास्थ्य समस्या भएर विभिन्न चक्रहरु चल्छन्, त्यो चक्र पनि समाप्त हुनसक्छ।

सुत्केरी पोस्टपार्टम साइकोसिकबाट गुज्रिँदै गर्दा बच्चालाई हानी वा नोक्सानी पुर्‍याउन सक्ने सम्भावना कति हुन्छ?

हुन्छ। जुन पोस्टपार्टम साइकोसिस जस्तो कडा प्रकृतिको मानसिक स्वास्थ्य समस्याको कुरा गर्ने हो भने त्यो बेला आफ्नो बच्चालाई मेरो होइन भन्ने, बच्चाप्रति नकारातमक भावना पैदा हुने हुन्छ। बच्चालाई चोट पुर्‍याउन सक्न सम्भावना हुन्छ। बच्चालाई मैले के गरिरहेको छु भन्ने होस नरहने जस्ता विभिन्न खाले समस्या देखिन सक्छन्।

यसको उपचार तथा रोकथाम के छ?

सबैभन्दा पहिला त यो अवस्थाको सुरुवातमै पहिचान हुनु ठूलो कुरा हो। त्यसैले प्रसूतिपछिको मानसिक स्वास्थ्य समस्या हुनसक्छ भन्ने कुरामा सजक हुन अत्यन्तै आवश्यक छ।

फेरि सामान्य खालको हुन्छ भन्ने थाहा भए पनि जटिल खालको, अत्यन्तै गम्भीर खालको हुनसक्छ भन्ने कुरा पनि आम मानिसहरुले बुझ्न जरुरी छ। यसरी बुझियो भने केही लक्षण देखिए पनि मानसिक समस्या हो कि भनेर उपचारका लागि खोजी गर्न सकिन्छ। त्यसैले यसको बारेमा सजग हुनुपर्छ।

वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. बासुदेव कार्की।

प्रसूति अवस्थामा महिलाले आफ्नो बच्चा स्याहार नगर्ने, आफ्नो स्याहार नगर्ने, कतिपय सवालमा नकारात्मक कुरा गर्ने, राम्रोसँग सुत्न नसक्ने, खाना खान नमान्ने, रिसाउने जस्ता लक्षण देखापर्न थाले भने मानसिक समस्या हुन सक्छ है भनेर खोजी गर्नुपर्दछ। त्यतिबेला आवश्यक विज्ञहरुसँग सरसल्लाह लिनुपर्छ। साइकोसिसमा परामर्शभन्दा पनि औषधोपचार नै चाहिन्छ।

कतिपय अवस्थामा औषधिले पनि नहुने, खाना नखाने, निन्द्रा पनि नपर्ने, बच्चालाई हानी गर्ने वा आफैलाई हानी गर्ने अवस्थामा विद्युतीय पद्धतिबाट उपचार गर्ने गरिन्छ। जसलाई राम्रो पनि मानिन्छ।

यो समस्याबाट महिलाहरु कति प्रभावित छन्, केही तथ्याङ्क छ?

नेपालको सन्दर्भमा मानसिक स्वास्थ्यमा विस्तृत तथ्याङ्क छैन। तर राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० मा हामीले डिप्रेसनलाई केलाएका छौँ। तर पोस्टपार्टम साइकोसिसलाई वर्गीकृत गरिएको छैन।

तर सन् २००८ मा नेपालका ८ जिल्लाका ८० हजार प्रजनन भएका महिलाहरुमा अध्ययन गरिएको छ। जसमा प्रजननसँग मात्रै अथवा पोस्टपार्टम अवस्थामा मात्रै नभएर समग्र १५ देखि ४९ सम्मको प्रजनन उमेरका महिलाहरुको मृत्युको कारण के भनेर खोज्दा गम्भीर अवस्था पाइएको थियो। त्यो बेलामा उनीहरुमा आत्महत्या सबैभन्दा धेरै देखिएको थियो। जसमा १६ प्रतिशत मृत्युको कारण आत्महत्या थियो भने १२ प्रतिशत प्रजननसँग सम्बन्धित भन्ने तथ्याङ्कमा उल्लेख गरिएको थियो।

त्यसैले यो उमेर समूहमा मानसिक स्वास्थ्य समस्या र त्यसले निम्त्याउन सक्ने जटिलता अत्यन्तै बढी पाइएको छ। उपचारका लागि अस्पताल आउनेको संख्या ज्यादै कम छ। मानसिक समस्या ज्यादै धेरै हुन सक्छ।

१५ देखि ४९ उमेर समूहका महिलामा त्यति धेरै आत्महत्या हुनुका कारण के हुन सक्छन्?

आत्महत्याको विषय आफैमा अत्यन्तै जेलिएको विषय हो। यसमा पनि एउटै कारणले भन्न सकिँदैन। आत्महत्या गर्नका विभिन्न कारण हुन सक्छन्। विभिन्न कारणसँग जोडिएर आउने मानसिक स्वास्थ्य समस्याको कारण आत्महत्या हुन सक्छ।

९० देखि ९५ प्रतिशत आत्महत्या मानसिक स्वास्थ्य समस्याका कारण हुने गर्दछन्। त्यसमा पनि ८० प्रतिशत डिप्रेसनका कारण आत्महत्या गर्ने गरेको पाइएको छ। त्यसैले यो उमेर समूहकाहरुको मानसिक स्वास्थ्य अवस्थाको बारेमा जानकार भई उचित व्यवस्थापन गर्न सकिएको खण्डमा १३ वर्ष अगाडि देखिएको तथ्याङ्क बदल्न सकिन्छ।

लामो समयसम्म पनि मानसिक स्वास्थ्यमा अध्ययन कस्तो छ?

तथ्याङ्क संकलनमा फरक फरक विधि र प्रक्रिया अपनाउने गरिएको छ। प्रजनन उमेर समूहकै तथ्याङ्क १० वर्ष अगाडि पनि गरिएको थियो। त्यति बेलाको भन्दा सन् २००८ को तथ्याङ्कसँग तुलना गर्दा आत्महत्यादर बढेको देखिएको छ। र, यसलाई गम्भीरताका साथ लिनुपर्ने देखिएको छ। त्यसपछि राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण भएको छ।

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्