अझै बेवास्तामा मानसिक स्वास्थ्य

क्षणिक खुशीको खोजीले अशान्त हुन्छ मन

काठमाडौँ – समस्या, दुःख, पीडा, तनाव हुँदा के गर्ने? यी समस्याबाट जुधिरहँदा धेरैको मनमा नकारात्मक कुराहरुले डेरा जमाउन सक्छन्। धेरैलाई लाग्न सक्छ, जिन्दगी बाँच्नुको सार्थकता छैन। आफैले आफूलाई हानी गर्ने खालका भावनाहरु मनमा उत्पन्न हुन सक्छन्।

मानसिक रुपमा स्वस्थ नहुँदा यस्ता खाले कुराहरु उत्पन्न हुने विज्ञहरुले बताउने गरेका छन्।

विश्वभर एक अर्ब मान्छेहरु मानसिक समस्यासँग जुधिरहेका छन्, जसमध्ये प्रत्येक वर्ष विश्वका करिब ३० करोड मानिसहरु डिप्रेशनको शिकार भइरहेका हुन्छन्। यी ३० करोड मध्ये प्रत्येक वर्ष १ करोड ६० लाखले आत्महत्याको प्रयास गर्ने गरेका छन्।

त्यसमध्ये पनि प्रत्येक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

एकजनाको आत्महत्याबाट १३५ जना प्रभावित हुने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। आत्यहत्या १५ वर्षदेखि २९ वर्षसम्मका युवाहरुमा मृत्युको दोस्रो कारणका रुपमा रहेको छ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक ४० सेकेण्डमा संसारको कुनै न कुनै एक ठाउँमा एकजनाले आत्महत्या गर्ने गरेका छन्।

आफैले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनेर बुझ्ने गरेको मानसिक अस्पताल पाटनका वरिष्ठ कन्सल्टेन्ट साईक्याट्रिष्ट डा. बासुदेव कार्की बताउँछन्।

उनले भने, ‘आत्महत्या गर्ने व्यक्तिलाई थाहा हुन्छ, उसलाई मैले गर्न लागेको कामको परिणाम मृत्यु हो भन्ने कुरा थाहा हुन्छ।’

विभिन्न कारणले मानसिक समस्यासँग जुधिरहेकाहरु त्यसबाट उम्किन भन्दै कुलतमा समेत फस्ने गरेका छन्। त्यही कुलतमा फसेका मध्ये करिब ३० लाख व्यक्तिको हरेक वर्ष मृत्यु हुने गरेको छ।

असन्तुष्टि, तनावका कारण व्यक्तिमा मानसिक समस्या बढ्न थालेको छ। मानिस धेरै महत्वकाङ्क्षी हुँदै गएका छन्। सपनाका पछाडि भागिरहेका उनीहरुले चाहेका हर कुरा पूरा नहुँदै गर्दा मानसिक समस्यामा फस्दै गएको चिकित्सकहरुले बताएका छन्। यस्तो समस्याबाट निस्कन उनीहरुलाई लामो समय समेत लाग्ने गरेको उनीहरुको बुझाइ छ।

उसो त विश्वको ७५ प्रतिशत आत्महत्या न्यून तथा मध्य आय भएका देशहरुमा हुने गरेको विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्कमा समेत उल्लेख छ।

वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. बासुदेव कार्की।

अझ कोरोना भाइरस महामारीका कारण अहिले मानसिक समस्याबाट गुज्रिरहेकाहरुको संख्या थप भएको छ । महामारीकै कारण धेरैले आफ्ना प्रिय व्यक्ति गुमाए। कतिले जागिर गुमाए। कति आफ्न्तबाट टाढिए। लामो समयदेखि दीर्घकालीन रोगको औषधि तथा उपचार गराइरहेकाको सेवा प्रभावित भयो। भविष्यको मिठो कल्पना गर्दै उच्च शिक्षाका लागि विदेशिने तयारी गरिरहेका धेरैको सपनामा धक्का लाग्यो। पढाई बिचमै रोकियो।

जसका कारण मानिसहरुमा नैराश्य थपिँदै गयो। मानसिक समस्यामा गाजिँदै गए। यसको एउटै मात्रै कारण बन्यो, करिब दुई वर्ष आगाडिदेखि सुरु भएको ‘कोरोना भाइरस महामारी’।

विभिन्न कारणले मानसिक समस्यासँग जुधिरहेका उनीहरु हाँस्न छोडेका छन्। एक मुस्कानका लागि खुशी हुने कारण खोजिरहेका छन्।

तर मुस्कुराउनका लागि प्रयास गर्दा पनि कयौँ व्यक्तिको मानसिक स्वास्थ्य ठीक हुँदैन । यस्तै प्रहरीको पछिल्लो ८ वर्षको तथ्याङ्क हेर्ने हो भने ५ प्रतिशत भन्दा बढीले आत्यहत्या गर्नेको संख्या बढेको देखाएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ७ हजार ११७ जाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ६ हजार २४१ जानले आत्महत्या गरेका थिए।

यो ग्राफ उकालो चढेको देखिएको छ।

यस्तै आर्थिक वर्ष २०७०/०७१ मा ४ हजार ५०४ जनाले आत्महत्या गरेका थिए भने २०७१/०७२ मा ४ हजार ३३२ जाले आत्महत्या गरेका थिए। तथ्याङ्कमा उल्लेख गरिए अनुसार यो वर्ष अघिल्लो वर्ष भन्दा केही कम देखिएको छ।

तर अर्थिक वर्ष २०७२/०७३ मा भने आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। यो वर्ष ४ हजार ६८० जानाले आतमहत्या गरिरेका छन्।

त्यसपछिका वर्षमा आत्महत्या गर्नेहरुको संख्यामा बर्सेनि वृद्धि भएको तथ्याङ्कले देखाएको छ।

यस्तै २०७३/०७४ मा ५ हजार १२४ जानले आत्महत्या गरेको देखिएको छ भने २०७४/०७५ मा ५ हजार ३१७ जानले आत्महत्या गरेका छन्।

बर्सेनि बढ्दै गएको आत्महत्या दर आर्थिक वर्ष २०७५/०७६ मा यो संख्याले फड्को मारेको देखिएको छ। यो वर्ष मात्रै ५ हजार ७५४ जानले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले जनाएको छ।

प्रहरीको पछिल्लो ८ वर्षको तथ्याङ्कले नेपालमा मानसिक स्वास्थ्यको समस्या डर लाग्दो रपमा फैलिँदै गएको विज्ञहरुले बताएका छन्।

पछिल्लो समय कोरोना भाइरस महामारीले गर्दा कारण उत्पन्न भएका विभिन्न समस्याहरुका कारण तनावकाबीच मानिसहरु आफना दिन बिताउन बाध्य भइरहेका छन्।

यसका लागि एउटै कारण वा विषय भन्न नसिकने डा. कार्कीले बताए। उनले भने, ‘यो बहुआयामिक छ। सामाजिक, परिवारिक परिवेशमा बसे जहाँ मानसिक स्वास्थ्यको बारेमा खुलेर कुरा गर्ने गरिँदैन। यस्तो अवस्थामा मानसिक स्वास्थ्यको चेतना नभएरै हुन सक्छ। वा आत्महत्याका लागि उपयुक्त हुने साधनहरु सहजै उपलब्ध हुने भएका कारण हुन सक्छ।’

हुन त मानसिक स्वास्थ्यको बारेमा खासै चासो राखेको पनि देखिँदैन। राष्ट्रिय मानसिक स्वास्थ्य संस्थाले गरेको सर्वेक्षणमा उल्लेख गरिएका अनुसार मानसिक समस्या भएका भण्डै ९५ प्रतिशत व्यक्तिहरु आत्महत्याको प्रयास वा आत्महत्या गदर्छन्। तिनीहरुमध्ये ८० प्रतिशतमा उदासिनता, १० प्रतिशतमा साइकोसिस, ५ प्रतिशतमा डिमेन्सिया, डेलिरियम, र लागुपदार्थ सम्बन्धी समस्या रहेका छन्। सामान्य व्यक्तिहरुको तुलनामा मानसिक समस्या भएका व्यक्तिहरुमा आत्महत्याको जोखिम ३ देखि १२ गुणा बढी रहेको छ।

तथ्याङ्कमा भनिए अनुसार नेपालको सन्दर्भमा दैनिक १६ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ।

यस्तै राष्ट्रिय मानसिक स्वास्थ्यले गरेको सर्वेक्षण अनुसार १०५ वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३५ वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहने गरेको पाइएको छ।

सर्वेक्षणमा उल्लेख गरिए अनुसार २.३५ वयस्कमा र ०.६५ किशोरकिशोरीमा उदासिनताको समस्या देखिएको छ भने ६.५५ वयस्कमा र ३.९५ किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको छ।

त्यसैगरी १.१५ वयस्क र ०.७५ किशोरकिशोरीले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गर्ने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ।

स्वास्थ्यमा कुनै पनि समस्या देखिए पश्चात मानिस प्राथामिक उपचारका लागि तुरुन्त सेवा लिनका लागि पुग्ने गरेको पाइन्छ। तर मानसिक स्वास्थ्यमा समस्या देखिएपनि मानिसहरुको यसको प्राथामिक उपचारका लागि सेवा लिन हिचकिचाउने गरेको पाइन्छ। मानसिक स्वास्थ्यमा सुरुवाति समस्या देखिए लगत्तै सही उपचार तथा परामर्श लिन जरुरी रहेको डा. कार्की बताउँछन्।

अहिलेको बढ्दो आधुनिकता, बद्लिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकांक्षाका कारण मानिसहरुमा लामो समयसम्मको निराशा, मानसिक असन्तुलनका कारण मानसिक समस्या उत्पन्न हुन थालेको शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाले बताए।

‘धेरै महत्वकांक्षी जीवन जिउन चाहनेहरु आफूले भने जस्तो नभइदिँदा उनीहरुमा बिस्तारै मानसिक समस्या सुरु हुन्छ। समयमै उपचार नपाउँदा आत्महत्याका प्रयास हुने गरेका छन्’, उनले भने, ‘खुशी हुनु र सकारात्मक सोच राख्नु ठूलो कुरा हो। क्षणिक खुशीका लागि अनमोल जीवन खेर नफालौँ।’

डा. ओझाका अनुसार कोरोना भाइरस महामारीले नेपालमा मात्र नभएर विश्वभरका मानिसहरुमा अझ मानसिक समस्या थप्दै नकारात्मक र निराशावादी सोच सिर्जना गरेको छ।

यस्तै मानसिक समस्या भएका व्यक्तिहरुको विशेष रेखदेख, स्वस्थ र सामान्य जीवनका लागि पहल गर्न विज्ञहरुले सबैलाई आग्रह गरेका छन्।

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्