सन्दर्भ : विश्व मानसिक स्वास्थ्य दिवस

असमान विश्व र सकारात्मक मानसिक स्वास्थ्य

विश्व मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्य महासंघको अगुवाइमा सन् १९९२ देखि मनाउँदै आइएको छ। विश्व मानसिक स्वास्थ्य दिवस २०२१ ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने मूल नाराका साथ मनाउने निर्णय गरिएको छ। मानसिक स्वास्थ्यलाई स्वास्थ्य प्रणालीको मूल प्रवाहमा ल्याई सम्बन्धित निकायमा पैरवी र जनचेतना अभिवृद्धि गर्न यो दिवस मनाउँदै आइएको छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ६१४२ जनाले र २०७७/०७८ मा ७११७ जनाले आत्महत्या गरे। विगत वर्षको दाँजोमा आत्महत्यामा १३.७ प्रतिशतले वृद्धि भएको छ। यसअनुसार हरेक दिन औसतमा २० जना व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ। नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार देशको कुल जनसंख्या (२ करोड ९० लाख) को ४ प्रतिशत अर्थात लगभग ११ लाखमा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन्। सर्वेक्षणका अनुसार २३ प्रतिशत वयस्कले मात्र आफूमा लक्षण देखिएपछि चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग लिने गरेको जसमध्ये ६.५ प्रतिशत मनोचिकित्सक, ८.८ अन्य विशेषज्ञ, ६.७ पराम्परागत उपचारका तरीका अपनाउने गरेको सर्वेक्षणमा देखिएको छ।

कोभिड–१९ र मानसिक स्वास्थ्य

मानसिक स्वास्थ्यको अवस्थालाई कोभिड–१९ले झन् खराब बनाएको छ। यसले व्यक्तिको शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक सुस्वास्थ्यलाई नकारात्मक असर पारेको छ। केही विशिष्ट समूहहरु जसमा स्वास्थ्य सेवा प्रदायक, अग्रपङ्तिका सेवा प्रदायक, विद्यार्थी, एकल महिला, ज्येष्ठ नागरिक र मानसिक स्वास्थ्य समस्या अनुभव गरिरहेका व्यक्तिहरुलाई यसले बढी प्रभावित गरेको छ।

कोरोना लहरको कारण अधिकांश व्यक्तिले आफन्त, साथीभाइ वा आफ्नै नजिकका व्यक्तिहरु गुमाइरहेका छन्। यसले मानसिक रुपमा आघात र विक्षिप्त बनाएको छ। कोभिड–१९ को दोस्रो लहरका कारण अधिकांश व्यक्तिमा विभिन्न मानसिक समस्या जस्तै चिन्ता, उदासीनता र तनाव उत्पन्न भएको देखिन्छ। वैचारिक पक्षअन्तर्गत बारम्बार एउटै सोच आइरहनु, विगत वा भविष्यका कुराले सताउनु, आफैलाई गलत ठान्नु नकारात्मक सोच्नु र आफन्तका लागि केही गर्न सकिएन भनेर आफैलाई दोषी ठहराउनु।

कोरोना लहरको कारण अधिकांश व्यक्तिले आफन्त, साथीभाइ वा आफ्नै नजिकका व्यक्तिहरु गुमाइरहेका छन्। यसले मानसिक रुपमा आघात र विक्षिप्त बनाएको छ। कोभिड–१९ को दोस्रो लहरका कारण अधिकांश व्यक्तिमा विभिन्न मानसिक समस्या जस्तै चिन्ता, उदासीनता र तनाव उत्पन्न भएको देखिन्छ। वैचारिक पक्षअन्तर्गत बारम्बार एउटै सोच आइरहनु, विगत वा भविष्यका कुराले सताउनु, आफैलाई गलत ठान्नु नकारात्मक सोच्नु र आफन्तका लागि केही गर्न सकिएन भनेर आफैलाई दोषी ठहराउनु।

भावनात्मक पक्षअन्तर्गत उदास हुनु, दिक्क लाग्नु, अत्यधिक डर लाग्ने, निराश हुनु, छिटो रिस उठ्नु अनावश्यक चिन्ता लिनु र डराउनु। शारीरिक पक्षअन्तर्गत मुटुको चाल तेज हुनु, टाउको दुख्ने, भारी हुने, सन्चो नभएको भान हुनु, शरीर आलस्य हुनु, शरीरमा ऊर्जा नहुनु, हातखुट्टा झमझमाउनु वा पोलेको महसुस हुनु र कहिलेकाहीँ बेहोससम्म हुनु। यसबाहेक व्यक्तिको जैविक कार्यप्रणालीको गडबढी हुनु जस्तो भोक वा खान मन नलाग्नु र निन्द्रा नलाग्नु। व्यवहारिक पक्षमा आत्महत्याको प्रयास, रुन मन लाग्नु, एक्लै बस्न मन पराउनु तथा आक्रामक व्यवहार देखाउन थाल्नु। र, बालबालिकाको हकमा औंला चुस्न थाल्नु वा ओछ्यानमा पिसाब/दिसा फेर्न थाल्नु।

नेपाल मानसिक सुस्वास्थ्य अभियान २०७८

विश्व मानसिक स्वास्थ्य दिवस २०७८ अवसर पारेर नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनै तहको सरकार र सम्बद्ध सबै पक्षको सहभागितामा नेपाल मानसिक सुस्वास्थ्य अभियान २०७८ सञ्चालन गरेको छ। नेपालमा यो वर्ष ‘असमानता हटाउन आवश्यक छ सबैको साथ र योगदान, सुलभ, समान र पहुँचयुक्त मानसिक स्वास्थ्य हाम्रो अभियान’ भनेर यो दिवस देशभर अभियानका रुपमा मनाउन लागिएको छ। यसले मानसिक स्वास्थ्य साक्षरतामा वृद्धि गरी विद्यमान अन्धविश्वास, भ्रम, कुरीति, कलङ्क र सामाजिक दुर्व्यवहारसम्बन्धी तथ्यमा आधारित मानसिक स्वास्थ्यको प्रवर्द्धन, मानसिक स्वास्थ्य समस्याको रोकथाम, समयमा पहिचान, उचित व्यवस्थापन र आवश्यक पुनःस्थापना गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

मानसिक स्वास्थ्य पेशाकर्मीको भूमिका

यो असहज परिस्थिति कुनै एक व्यक्तिलाई मात्रै देखापरेको समस्या नभई सम्पूर्ण विश्वलाई नै परेको समस्या हो। त्यसैले हामीले चिन्ताभन्दा चिन्तन गरी उक्त चिन्तनलाई व्यवहारमा उतार्दै विषम परिस्थितिबाट छुटकारा पाउनेतर्फ लाग्नुपर्छ भन्ने सकारात्मक मनोभाव लिएर अघि बढ्नु बुद्धिमानी हुनेछ । सकारात्मक मानसिक स्वास्थ्यको लागि मानसिक स्वास्थ्य पेशाकर्मीको भूमिका महत्वपूर्ण हुन्छ । वर्तमान अवस्थामा कोभिड–१९ का कारण डर, त्रासलगायतका मनोवैज्ञानिक समस्या भोगिरहेका र परिवारजन गुमाई आघातका अवस्थामा रहेका व्यक्तिहरुलाई मनो–सामाजिक सहयोग, मनोपरामर्श तथा मानसिक स्वास्थ्य सेवा प्रदान गर्न जरुरी छ।

सर्वप्रथम मनोबल उच्चका साथ सकारात्मक मनोभाव बनाउनु आवश्यक छ। रोग सार्नबाट जोगिनु नै उत्तम उपाय हो। सकारात्मक मनोभाव राख्ने गर्नाले मानसिक रोगबाट समेत बच्न सकिन्छ। यो समय भनेको चिन्ताभन्दा पनि चिन्तन गर्ने समय हो। नियमित दैनिक कार्यतालिका बनाउने र कार्य गर्ने। यो मनको कुरा त्यो मनले बुझ्ने व्यक्तिसित भावना साटासाट गर्ने। प्रत्येक व्यक्तिको जीवनमा प्रत्येक दिन निद्राको मात्रा महत्वपूर्ण हुन्छ। व्यक्तिको निद्राले मानसिक सु–स्वास्थ्य र कल्याणको लागि योगदान गर्दछ। उमेरअनुसार ६ देखि १७ घण्टासम्म निद्रा आवश्यक छ तर यो महामारीमा व्यक्तिले निद्राको मात्रा कमी आएको अनुभव गर्दछन्। त्यसैले पर्याप्त सुत्नु पनि मानसिक स्वास्थ्यको लागि महत्वपूर्ण छ। उचित खानपिनको सेवन शारीरिक साथसाथै मानसिक स्वास्थ्यको निम्ति पनि अत्यावश्यक पक्ष हो। यसका लागि व्यक्तिले सफा, ताजा र स्वस्थबर्द्वक खानपिन शैलीलाई फलो गर्नुपर्छ। जंक फुड र प्याक्ड फुड खानबाट टाढा रहनुपर्छ। आध्यात्मिकतामा योग र ध्यानले व्यक्तिमा एकाग्र शक्ति बढाउँछ। जसले गर्दा ईष्र्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रोे मनमा जरा गाड्न पाउँदैन। व्यक्तिले आफ्नो घरभित्र नै शारीरिक व्यायाम गर्ने, योगा गर्ने र इन्टरनेटको माध्यमबाट विभिन्न किसिमका तनाव व्यवस्थापन गर्ने रिल्याक्शेसन व्यायामसमेत गर्न सकिन्छ। आफूले चाहेको र आफूलाई मन लागेको विभिन्न सिर्जनात्मक एवम् रचनात्मक कार्यमा आफ्नो समय बिताउने गर्नुपर्छ। धूमपान र मद्यपानको सेवनले व्यक्तिलाई मात्र नभई परिवारको अन्य सदस्यमा समेत तनावको अवस्था सृजना गर्छ।

समस्याको समयमै निदान गरी औषधि, मनोसामाजिक सहयोग तथा मनोपरामर्शको माध्यमबाट उपचार गर्न सकिन्छ। उपचारपश्चात निको भई मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु आफ्नो दैनिकी सुचारु गर्न सक्छन्। समुदायका हरेक स्वास्थ्य समस्यामा परेका व्यक्ति, परिवारजन, नातेदार, समुदायका व्यक्ति, विभिन्न संघ–संस्था, समूह, विद्यालय, दातृ निकाय, स्थानीय तह, प्रदेश तथा संघीय सरकारका सम्बद्ध निकायहरु एक–अर्कामा हातेमालो गरी हरेक उमेर, वर्ग, समुदाय, पेशामा रहेका व्यक्तिहरुको सकारात्मक मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न सचेतना र सेवा प्रदान गर्न सहयोगीको भूमिका निर्वाह गर्न सकिन्छ। यति गर्दागर्दै पनि मानसिकतामा सकारात्मक परिवर्तन देखिएन भने मनोविद्, मानसिक रोग विशेषज्ञ, मनोविमर्शकर्ताहरुको सेवा पनि लिन सकिन्छ। त्यस्तो अवस्थामा भने व्यक्तिले टेली मानसिक स्वास्थ्य सेवा पनि लिन सकिन्छ।

(लेखक द स्कुल अफ साइकलोजी नेपालका अध्यक्ष एवं पीके क्याम्पसका अध्यापक हुन्। ) 

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्