मानसिक स्वास्थ्य दिवस

समाजले बहिष्कार गर्ला कि भनेर लुकाउँछन् मनको घाउ

काठमाडाैँ – दुर्घटनामा परेको व्यक्ति जो अस्पतालमा भर्ना भएको हुन्छ। शरीरभरी ब्यान्डेज र मुखमा अक्सिजन लगाएको भएपनि उसले आफ्नो तस्बिर खिच्छ र फेसबुकमा पोस्ट गर्छ। त्यहाँ सहानुभूतिका कयौँ शब्द पोख्खिन्छन्। चाँडै निको हुन शुभकामना दिइएको हुन्छ।

शारीरिक रुपमा अस्वस्थ व्यक्तिको बारेमा थाहा नपाउने एकले अर्कोलाई भनिरहेको हुन्छ, ‘कठैबरा फलानोलाई यस्तो भएको छ रे!’

तर यही वातावरण मानसिक समस्याबाट गुज्रिरहेका व्यक्तिहरुसँग हुन्छ त ?

पछिल्लो दशक मानसिक स्वास्थ्यको बारेमा कुराकानी, उपचार केही खुलेर हुन थाले पनि मानसिक समस्याबाट गुज्रिरहेको व्यक्तिले खेप्ने व्यवहार असन्तुलित र असमान छ। शारीरिक समस्या भएका बिरामीले पाउने सद्भावपूर्ण व्यवहार मानसिक समस्या भएका व्यक्तिले पाएको देखिँदैन। अरुको सहयोग चाहिने यो अवस्थामा उल्टै अस्वाभाविक व्यवहारको सामना गर्नुपरेको देखिएको छ जसले गर्दा बिरामीलाई रोगले दिने पीडा भन्दा समाजले दिएको पीडा सयौँ गुणा ठूलो हुन जान्छ।

उदाहरण १

कन्भर्जन डिसअर्डरलाई मास हिस्टेरियाको रुपमा बुझिन्छ। एक जना यस्तै समस्या भएको अविवाहित युवतीलाई मास हिस्टेरिया भएको भन्ने थाहा पाएपछि आबाबाबुले हत्तपत्त विवाह गरिदिए।  ऊभन्दा धेरै उमेरको केटासँग उनको विवाह भयो, केटा पहिले नै विवाहित रहेछ र जाँडरक्सी खाने रहेछ। काठमाडौँको यो घटनामा विवाहपछि महिलामाथि श्रीमानबाट नै दुर्व्यवहार भयो।

श्रीमानले उनको समस्यालाई आक्षेप लगाउने माध्यम बनाए। उनलाई पहिला चिन्ता पर्दा बेहोस हुनेमात्र हुन्थ्यो। परिवारले उपचार गर्नुको साटो विवाह गरिदियो। विवाहपछि पनि राम्रो स्याहार पाउनुको साटो अनेकौँ पीडाबाट उनी गुज्रनुपर्‍यो। उनी घरमा बस्दिन भनेर माइती जान्थिन् तर माइतीले उनलाई घरमा नै पुर्‍याइदिन्थ्यो।

केही बाटो नपाएपछि उनले चौथो तलाबाट फाल हालिन्। भाग्य या दुर्भाग्य ! उनको ज्यान गएन, शरीरको धेरै हड्डी भाँचिए। त्यसपछि उनको मानसिक समस्या अझै बढ्यो, उनी काप्न थालिन्। अहिले धेरै वर्ष भयो उनी चिकित्सकको सम्पर्कमा छैनन्।

उदाहरण २

आफन्तको असामयिक मृत्युपछि एक युवतीलाई ‘एन्जाइटी’ भयो। उनले उपचारमा आएर ‘एन्जाइटी’ औषधि खान थालिन्। एयर होस्टेजको पेशामा रहेकी उनलाई औषधि सेवन गरेको अवधिभर काममा नआउन भनियो। उनको उपचार लामै समय गएको हुनाले जागिर जाने डर भयो र उनले औषधि खान छोडिन्।

उनलाई हेर्ने चिकित्सकका अनुसार उनले औषधि खान छोड्ने बेला भएको थिएन ।

उदाहरण ३

बैंकमा काम गर्ने एक कर्मचारी, उनी ऋण विभागमा काम गर्थे। एक दिन उनीसँगै टेबलमा बस्ने सहकर्मीसँग उनको झगडा भयो। त्यसपछि उनलाई शंका लाग्न थाल्यो, फसाउँछ भनेर डर लाग्न थाल्यो। एक दिन पैसाको हिसाब मिलेन। त्यसपछि ऊ अस्वाभाविक भयो। काम सकेन। उसलाई झगडा परेको साथीले ‘मैले फसाउन खोजेको हैन’ पनि भने, तर उनले सामान्य भएर व्यवहार नै गर्न सकेन। काममा भएको तनाव देखेपछि उसको परिवारले ‘काम छोडिदेऊ’ भने । त्यसपछि उसले जागिर छोड्यो।

अहिले ठीक भएका ती व्यक्ति पहिला आफूले जागिर छोडेकोमा पछुतो मानिरहेका छन्। उनको अफिसले फेरि उनलाई काममा राख्न मान्दैन। कर्पोरेट हाउसले मानसिक समस्यासँग जुधिरहेका व्यक्तिहरुलाई बिरामीको दर्जामा त राख्छ, तर उसलाई कार्यलयको सेवा सुविधा भन्दा पर राख्छ।

जसरी खुट्टा भाँचिएको व्यक्तिलाई सबले माया गर्छन्, अफिसले पनि बिरामी बिदा भनेर दिन्छ। सञ्चो भएपछि काममा फर्कनु भन्छ। उसले भावनात्मकदेखि आर्थिक राहत प्राप्त गर्छ। भत्ता अनि जीवनबीमासम्मको पैसा पाउँछ।

तर मानसिक समस्याबाट गुज्रिरहेका मानिसलाई भने यस्तो किसिमको व्यवहार हुँदैन। उनीहरुलाई जागिरबाट निकालिन्छ। शारीरिक रोगजस्तै मानसिक रोग पनि भिन्न भिन्न प्रकारका हुन्छन्। कोही निको हुने र कोही जीवनभरिका लागि हुन्छन् भन्ने बुझिएको छैन। जो यो समस्याबाट गुज्रेर जान्छन्, उनीहरुले बोल्ने आँट गर्दैनन्। किनकि वातावरण यस्तो छ समस्याको बारेमा बोल्नु भनेको आफैलाई अझ समस्या निम्त्याउने कारण बनिदिन्छ।

धेरैले के बिर्सन्छन् भने, मानसिक समस्या भएका मानिसहरुलाई माया र सद्भावपूर्ण व्यवहार चाहिन्छ, उनीहरुको पनि आत्म सम्मान हुन्छ जसमा ठेस पुग्न सक्छ।

शारीरिक रुपमा फरक व्यक्तिलाई ‘फरक क्षमता भएको व्यक्ति’ भनेर सम्बोधन गर्ने गरिन्छ भने मानसिक समस्या भएको व्यक्तिलाई पनि संयम भएर व्यवहार गर्नुपर्ने कुरा सबैले बुझ्नुपर्छ। सबै कुरा सरकारले गर्नुपर्छ भन्ने हैन, आम मानिसले पनि यसमा ध्यान दिन आवश्यक छ।

पछिल्ला केही वर्षमा मानसिक रोग हुन्छ भन्ने सम्म ज्ञान भयो तर उनीहरुलाई हेयको नजरले हेर्नु हुँदैन भन्ने बारेमा जनचेतना फैलाउन जरुरी देखिएको पाटन स्वास्थ्य विज्ञान, प्रतिष्ठानका प्रमुख तथा मानसिक स्वास्थ्य विशेषज्ञ डा. रवि शाक्य भन्छन्। ‘यसको बारेमा बोल्नु पर्‍यो र जसरी समाजमा सुगर, ब्लडप्रेसर भएको मानिसलाई स्विकारिन्छ, त्यसरीनै स्किार्ने वातावरण हुनुपर्छ,’ शाक्य भन्छन्, ‘मैले भन्यो भने मलाई परिवारले बहिस्कार गर्ने हो कि श्रीमानले छोड्ला कि भन्ने डर हुनु हुँदैन।’

डा. रवि शाक्य।

‘असमान विश्वमा मानसिक स्वास्थ्य’

अक्टोबर १० मा ‘विश्व मानसिक स्वास्थ्य दिवस’ हो, वर्ल्ड फेडरेसन अफ मेन्टल हेल्थ भन्ने छाता संगठनले वर्षैपिच्छे विभिन्न नारामा यो दिवस मनाउने गरेको छ। यो वर्षको नारा ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने रहेको छ।

पाटन स्वास्थ्य विज्ञान, प्रतिष्ठानका प्रमुख तथा मानसिक स्वास्थ्य विशेषज्ञ डा. रवि शाक्य यस वर्षको नारालाई दुई आयाममा बुझ्नु पर्ने बताउँछन्।

पहिलो,

मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा मानसिक स्वास्थ्यलाई धेरै नै भेदभाव गरिएको छ। बराबरको ध्यान दिइएको छैन। ‘ओपिडीमा बिरामी जाँच्दा सबै परिक्षण भइसकेपछि पनि बिरामीले भन्ने गर्छन्, ‘डा साब, मेरो ब्लड प्रेसर हेरिदिनुभएको छैन नि।’ उनले भने, ‘बिरामी आइसियुमा नै बसेको भएपनि थुप्रै कुरा हुन्छ तर बिरामीको आफन्तले ‘रक्तचाप त ठीक छ नि!’ भनेर सोध्छन्।’

यसले शारीरिक स्वास्थ्यप्रति मानिसको सजगता र मानसिक स्वास्थ्यप्रतिको ज्ञानमा साँघुरोपन देखाएको प्रस्ट हुन्छ।

मानिसको स्वास्थ्यको तीनओटा आयामहरु, शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा दुईओटा आयामहरु मानसिक स्वास्थ्यसँग नै जोडिएको हुन्छ। तर यसको विषयमा समान नभएपनि समतामूलक रुपमा पनि बुझाई छैन, व्यवहार धेरै परको कुरा हुन आउँछ।

दोस्रो पक्ष,

सरकारले स्वास्थ्य क्षेत्रमा धेरै बजेट विनियोजन नै गर्दैन। आर्थिक वर्ष २०७८/७९ को कुल बजेटमा जम्मा ७.५५ प्रतिशत स्वास्थ्य क्षेत्रको लागि बजेट बिनियोजित गरिएको छ । यो वर्ष सरकारले कोरोना महामारीलाई मध्यनजर गर्दै बजेट विनियोजन गरेको हो। त्यसमा मानसिक स्वास्थ्यलाई १ प्रतिशत भन्दा कम बजेट विनियोजन गरिएको स्वास्थ्य मन्त्रालयका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फनिन्द्र प्रसाद बरालले जानकारी दिए। ‘जम्मा जम्मी ५ करोड रुपैयाँ पर्न आउँछ। त्यसमा सरकारले वितरण गर्ने निशूल्क औषधिको लागि प्रदेश अनुसार ५० लाख रुपैयाँ गर्दा साढे ३ करोड रुपैयाँ खर्च हुन्छ। विभिन्न सूचनामूलक कार्यक्रम, कैदी बन्दीहरुको लागि ५० लाख रुपैयाँ केन्द्रमा रहेको छ।’ उनले भने, ‘बाँकी पालिका तहमा पनि थोरै थोरै बजेट मानसिक स्वास्थ्यको लागि खर्च हुन्छ।’

सरकारले मानसिक स्वास्थ्यका क्षेत्रमा छुट्टाएकाे खर्च हेरेर डा. शाक्य भन्छन्, ‘हिसाब गर्ने हो भने, एक वर्षमा सरकारले एक जना नेपालीको लागि मानसिक स्वास्थ्यको लागि १ रुपैयाँ पनि खर्च नगरेको देखिन्छ। जबकि पखाला लगायत अरु स्वास्थ्यको लागि बजेट धेरै छन्।’

यस्तै नेपालमा मानसिक स्वास्थ्यको सेवा दिने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुको कमी रहेको छ। नेपाल साइक्राटिक एशोसियसनको तथ्यांक अनुसार नेपालमा जम्मा १५० जना मनोचिकित्सकहरु रहेका छन्। त्यही अनुसार तालिमप्राप्त नर्सहरु अन्य सेवाकर्मीहरुको संख्या अझै कम भएको शाक्य बताउँछन्।

शाक्यका अनुसार बिरामीलाई गर्ने व्यवहार, सरकारको बजेट जस्तो अवस्थामा भएपनि व्यक्तिगत तबरले मानसिक स्वास्थ्यको लागि काम गर्नु अति आवश्यक रहेको छ । ‘कुनै समयमा कुष्ठरोग भएको फाल्न लैजाने अवस्था थियो, जनचेतना फैलाउँदै जाँदा अहिले कुष्ठरोगको उपचार देखि धेरै कुरामा सहजता आएको छ,’ शाक्य भन्छन्, ‘बिरामीलाई सहयोग गर्ने बानी गर्‍यौँ भने अबको केही वर्षमा परिवर्तन सम्भव छ। त्यसैले एक अर्कामा कुराकानी गरौँ, समाधान खोजौँ।’

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्