ग्वाटेमालामा ‘सिपिङ कन्टेनर’बाट ११ नेपालीसहित १२६ को उद्धार

ग्वाटेमाला प्रहरीले शनिबार कन्टेनरबाट उद्धार गरेका आप्रवासीहरु । तस्बिर : पीएनसी डी ग्वाटेमाला

ग्वाटेमाला प्रहरीले अलपत्र छोडिएको ‘सिपिङ कन्टेनर’ भित्र रहेका १२६ जना आप्रवासीको उद्धार गरेको छ । यसरी उद्धार गरिनेमा ११ जना नेपाली पनि रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ग्वाटेमालाको बाटो छेउमा अलपत्र छोडिएको कन्टेरमा अमेरिका लैजान भनी मानव तस्करले लगका विभिन्न देशका आप्रवासी थिए । मेक्सिको हुँदै अन्ततः अमेरिका लैजाने भन्दै पैसा लिएका तस्करहरुले उनीहरुलाई बाटोमै छोडेका हुन् । उनीहरु बन्द कन्टेनरभित्र निकै नाजुक अवस्था फेला परेका हुन् ।

नुएभा कोन्सेप्सिओ र कोकालेसको बीचको बाटोमा अलपत्र छोडिएको कन्टेनर भित्रबाट चिच्याएको आवाज आएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उद्धार गरेका आप्रवासीमा हाइटीका १०६, नेपालका ११ तथा घानाका ९ जना रहेको स्थानीय प्रहरी प्रवक्ताले बताएका छन् ।

उनीहरुलाई अहिले स्थानीय शिविरमा राखिएको र केही समयपछि होण्डुरसको सीमा पठाइने छ । होण्डुरस हुँदै ग्वाटेमाला छिरेका कारण उनीहरुलाई त्यहीँ पठाइने भएको हो ।

पछिल्लो समय युरोपका विभिन्न क्षेत्र हुँदै दक्षिण तथा मध्य अमेरिकी क्षेत्र भएर अवैध रुपमा नेपाली आप्रवासीहरु अमेरिका जाने प्रयास गर्ने गरेका छन् । यसरी अवैध बाटोबाट मानव तस्करको जालमा परेर जाँदा उनीहरु ठगिने तथा कतिपयको बाटोमै ज्यान जाने गरेको छ ।

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्