रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी र स्थानीयबीच झडप

बुटवल– रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको छ। अहिले मोतीपुर क्षेत्र तनावग्रस्त छ। प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनाव सिर्जना भएको हो।

प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्। दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गरी दुई राउण्ड गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको आरोप छ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिँदै आएको थियो। तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले सशक्त विरोध गरेका थिए।

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्