‘प्रदेश १ प्रदेश सभाको सभामुखको भूमिका प्रस्ट देखिएन’

मोरङ –एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेश १ प्रदेश सभाको सभामुखको भूमिका प्रस्ट नदेखिएको अरोप लगाएका छन्।

आइतबार प्रदेश सभाको नवौं तथा हिउँदे अधिवेशनको दोस्रो बैठकको विशेष समयमा बोल्दै राईले अहिलेको परिस्थितिमा सभामुख प्रदीपकुमार भण्डारीको भूमिका सही रूपमा नआएको बताए।

सरकार संविधानलाई नमानेर अराजक हुँदै अघि बढेको आरोप लगाएका नेता राईले सरकार लाज ढाक्नेतर्फ समेत सचेत हुन नसकेको उल्लेख गरे।

सभामुखसँगको तिक्तता व्यक्त गर्दै नेता राईले सभामुखले लाचार बनेको सरकारलाई सहयोग पुर्‍याउने खालको भूमिका खेल्न थालेको आरोप लगाए। उनले भने, ‘सभामुखले अहिलेको अवस्थामा सही भूमिका खेल्नुपर्ने थियो। तर, आजको बैठक पूर्व, उहाँले कार्य परामर्श समिति बैठक, दलीय बैठकसमेत डाक्नुभएन। यहाँ संविधानको धारा मिचिरहेको र यसको हिस्सेदार बन्न सक्दिनँ भनेर उहाँले भन्न सक्नुपथ्र्यो।’

सो क्रममा नेता राईले सभामुखले खेल्नुपर्ने तटस्थताको अवस्था नदेखिएको बताए। नेता राईले इतिहासको पहिलो सभामुखलाई कलंकको टीका नलगाउन नेता राईले आग्रह गरे।

त्यसैगरी, एमाओवादी केन्द्रका नेता इन्द्रबहादुर आङबोले सरकारलाई विश्वासको मत लिएर आउन आग्रह गरे। आफूहरूले सरकारबाट धेरै मुल्यमान्ता र निष्ठाको अपेक्षा गरिरहँदा मुख्यमन्त्री भीम आचार्यले मासु खान समय मागिरहेको आश्चर्यप्रकट गरे। उनले भने, हामीले मुख्यमन्त्रीबाट मूल्यमान्यता निष्ठाको अपेक्षा गरेका थियाँै। तर उहाँ मासु खाने कुरा गरिरहँदा सभामुख मासु खान दिने प्रपन्च मिलाइदिँदै हुनुहुन्छ।’

राजनीतिमा नैतिकताको कुरासँगै केन्द्रमा मन्त्रीले राजीनामा दिएको उदाहरण पेस गर्दै नेता आङगबोले प्रदेश सरकार र मुख्यमन्त्रीसँग नैतिकता टाढाको कुरा भएको र संविधानको अपव्याख्या गरिरहेको आरोप लगाए। गलत कुराको सारथि नबन्न सभामुखलाई नेता आङग्बोले सुझाव दिएका थिए।

सदनमा आन्तरिक मामिला राज्यमन्त्री लीलाबल्लभ अधिकारीले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक ०७८ संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गरेका थिए।

सो प्रस्तावलाई सर्वसम्मतले परित गरेको सभामुख भण्डारीले घोषणा गरेका थिए। यससँगै सभामुख भण्डारीले सोमबार असोज २५ गतेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए।

 

 

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्