माल्भिकाको मानसिक समस्याको विक्षिप्त अनुभव – ‘त्यो रात साथीले ‘तिम्रो छोरा छ’ भन्दा म झसंग भएँ’ (भिडियो)

स्टुडियोमा छिर्दा हामी चुपचाप थियौँ। मलाई उनको शान्तपनले तर्साएको थियो। सन् २००२ की मिस नेपाल, सक्रिय सञ्चारकर्मी माल्भिका सुब्बालाई मैले स्क्रिनमा देखेको चुलबुले, रमाइलो पात्रभन्दा फरक रुपमा भेटेको थिएँ। तर्सिनुको अर्को कारण पनि थियो, उनलाई त्यही तीतो अनुभव सम्झाउँदै थिएँ जसले उनलाई नराम्ररी बिथोलेको थियो। मलाई डर थियो मेरो प्रश्नले उनलाई अप्ठेरो पर्छ कि !

किनकि अन्तर्वार्ताका लागि समय माग्दा नै उनले भनेकी थिइन्, ‘त्यो समय सम्झनु भनेको केही हदसम्म आफू त्यहाँ पुग्नुजस्तो हो, यो कुरा गर्‍यो भने मलाई अहिले पनि नराम्रो लाग्छ।’ यो अभिव्यक्तिपछि उनले पार गरेको मानसिक समस्याको यात्रालाई सम्झाउन मलाई पनि असहज महसुस भइरहेको थियो।

चियरमा बसिसकेपछि पनि हामी राम्ररी बोलिरहेका थिएनौँ। अन्तर्वार्ता लिनुअघि पाहुनासँग असहज परिस्थिति हुनु नौलो कुरा हैन तर म आफू किन त्यति नर्भस थिएँ, मैले थाहा पाइरहेकी थिइनँ।

कुरा भन्न र सुन्न दुबै गाह्रो हुने अवस्थामा हामीले कुराकानी सुरु गर्‍यौँ। हाम्रो छलफल मानसिक स्वास्थ्यप्रतिको जनचेतना अनि भोगाइमा केन्द्रित थियो। पूर्वतयारी गरे पनि मलाई वातावरण बनाउन कठिन भयो।

२० वर्ष सञ्चार माध्यममा सक्रिय कर्म गरिरहेकी उनको मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान भोगाइभन्दा निकै फरक थियो।

‘मानसिक स्वास्थ्यलाई सजिलैसँग काउन्सिलिङ गरेर, आफ्नो बारेमा आफैँले थाहा पाएर आफैँलाई मद्दत गर्न सकिन्छ भन्ने थाहा थिएन। एन्जाइटी, डिप्रेसन हुन्छन् भन्ने सुनिन्थ्यो। तर, गहिराइमा कहिले पनि बुझिएन। त्यो अवस्थामा कहिलेकाहीँ पुगियो जहाँ डर हुन्थ्यो, एन्जाइटी हुन्थ्यो। तर, त्यहाँबाट निस्कने बाटो थाहा थिएन। ५, ६ वर्षदेखि मात्र होला पूर्णरुपले अवगत भएर, जानेर, बुझेर, पढेर र भोगेर यसबारे थाहा पाएको’, उनले अगाडि भनिन्, ‘तर आफूलाई पर्दा सजिलो नहुने रहेछ। निको हुनलाई भनेजस्तो ए, बी, सी, डी स्टेपमा जान सकिने रहेनछ। त्यो प्रक्रियामा जान, सहयोग माग्नका लागि, मलाई गाह्रो भइरहेको छ भन्न पनि कठिन हुने रहेछ।’ उनले त्यस बारेमा पढ्दा पनि आफूलाई परेको समस्या थाहा पाउन सकिरहेकी थिइनन्।

उनको जीवन लयमा नहिँडेको उनलाई थाहा भयो र उनले प्रयास गरिन् त्यसलाई सम्हाल्न। तर, उनको हरेक प्रयास असफल भइरहेको थियो। त्यही समयमा उनमा नकारात्मक सोच हावी हुँदै गयो र कुनै रात उनले आफूलाई नै हानि गर्ने सोचिन्। आफ्नो अवस्था पहिचान गर्न उनलाई ५ महिना लाग्यो।

जब उनलाई सहयोग लिनुपर्छ भन्ने लाग्यो तब काउन्सिलरको खोजी भयो। नेपालमा उनलाई काउन्सिलर कहाँ उपलब्ध हुन्छन् भन्ने थाहा थिएन। उनलाई गोपनीयता कायम राख्नु अर्कोे चुनौती थियो। त्यसपछि उनले विदेशी काउन्सिलरसँग कुराकानी गरिन्।

काउन्सिलरसँगको साक्षात्कार सम्झँदै उनले भनिन्, ‘विश्वास गर्न अलि गाह्रो हुने रहेछ। हामीले उहाँलाई आफ्नो बाल्यकालदेखि ठूलो हुँदासम्मका कुरा, कतिपयचाहिँ आफैँमा सीमित राखेका कुरा भन्नुपर्थ्यो। कुरा गर्नलाई सहज वातावरण बन्न एकदमै आवश्यक थियो,’ उनले भनिन्, ‘भावनात्मक रुपमा संवेदनशील कुरा पनि गर्नुपर्ने भएकाले विश्वास सबैभन्दा ठूलो तत्व हो।’

चिकित्सकहरू मानसिक समस्यामा रहेको व्यक्ति साह्रै संवेदनशील हुने बताउँछन्। यो समस्याबाट गुज्रिरहेका व्यक्तिले आफूलाई परेको अप्ठ्यारो भन्नै नसक्ने अवस्था हुन्छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डा. रवि श्रेष्ठका अनुसार कतिपय अवस्थामा त्यो व्यक्ति आफू पीडामा भएको थाहै पाउँदैन र थाहा पाए पनि कसैलाई भन्न सक्दैन। अविश्वासको खडेरी पर्छ अनि भनेको मान्छेले बुझिदिएन भने त्यसले सामाजिक रुपमा पनि समस्या निम्त्याउँछ। त्यो बेलामा आफ्नै परिवारका बाबा, आमा, दाजुभाइ, श्रीमान् सबै पराइझैँ लाग्छ।

सुब्बाले यस विषयमा सहमति जनाइन्। ‘प्रतिक्रिया कस्तो आउँछ भन्ने कुराले बोल्न गाह्रो बनाउँछ। पहिला–पहिला पनि मलाई यस्तो कठिन भइरहेको छ भन्दा मेरो परिवारले ‘ह्या केही हैन, धेरै सोचेको भएर, तैँले यस्तो गरिस्, त्यसैले यो भोग्नुपर्‍यो’ भनेको सुनेको छु। उहाँहरूले मेरो समस्यालाई एकदमै हल्का रुपमा लिइदिने गरेकाले मैले भन्दै भनिनँ।’ उनले भनिन्, ‘मैले जम्मा दुई जना साथीलाई मेरो समस्या सुनाएको थिएँ। उहाँहरूले नै मलाई धेरै सहयोग गर्नुभयो।’

उनलाई आफूमा यो समस्या विवाहपछि हाबी भएको महसुस भयो। ‘किनकि विवाहअगाडि म खुला पन्छीजस्तै थिएँ, धेरै खुलेर बोल्थेँ। पछि केही आफ्ना भोगाइभन्दा ‘तिमीले विवाह गरिसक्यौ, अब यस्तो कुरा नगर’ भनियो।’ सुब्बा भन्छिन्, ‘विवाह आफ्नो इच्छाले गरेको भएर आइपरेका समस्या पनि आफैँले समाधान गरिनुपर्छ भनेपछि बोल्न छाडेँ। पछि त जति नै गाह्रो भए पनि कुरा गर्न मन नलाग्ने रहेछ।’

नेपाललगायत पूर्वी संस्कृति भएका देशमा सामाजिक संरचना, दायित्व मानसिक समस्याका कारण बन्न जान्छन्। माल्भिकाले विवाहपछि उनले जीवन जिउनलाई हिँडेको बाटो परिवार र समाजले स्विकार्ला, नस्विकार्ला भन्ने डरले पनि आफूलाई पिरोलेको बताइन्।

‘समाजको एकप्रकारको सोचसँग आफ्नो सोच बाझिँदा समाजले के भन्छ, हाम्रो सामाजिक प्रतिष्ठा कस्तो हुन्छ भन्ने कुराले पनि एन्जाइटी विकास गर्‍यो’, माल्भिकाले आमा बनिसकेपछि झन् आफूलाई कमजोर महसुस गरिन्, ‘त्यो किन भयो, त्यसको सही उत्तर के हो भन्ने थाहा छैन। सबैको फरक अनुभूति हुन्छ, शरीर फरक हुन्छ। तपाईंको वरपर कस्तो वातावरण छ, तपाईंले कत्तिको साथ पाउनुभयो, तपाईंले के सोच्नुभएको थियो, के पाउनुभयो, त्यसले पनि फरक पार्छ। अर्को कुरा तपाईंको शरीरमा के परिवर्तन आयो भन्ने कुराले पनि निर्धारण गर्छ। म त्यो बेलामा शारीरिक र मानसिक रूपमा कमजोर थिएँ।’

यो यात्रामा उनको छोरा केन्द्रमा छन् तर आमाको यो अवस्था हुनुमा उनी निर्दोष छन्।

उनको अनुसार तपाईंको भलो नै चिताउने मानिस भए पनि सुरुमा अप्ठ्यारोहरू बताउँदा अगाडिका लागि बाटै बन्द गरिदियो भने पछि सहयोगका लागि ढक्ढक्याउन जान सकिन्न। समस्या बल्झँदै जाँदा ठूला दुर्घटना हुन्छन्। उनले एक रात दुर्घटना नजिक पुगेको अनुभूत गरिन्।

‘मलाई मेरो साथीले आधा घण्टा सम्झाउनुभयो, ‘तिम्रो एउटा छोरा छ। तिमी उसका लागि पनि बाँच्नुपर्छ।’ माल्भिकाले भनिन्, ‘म झसंग भएँ। मलाई आत्मग्लानि भयो। म आफू समस्यामा छु भन्ने थाहा थियो तर मैले अरुका लागि पनि बाँच्नुपर्छ। त्यसपछि मैले निर्णय लिनुपर्ने थियो, ‘म त्यही अवस्थामा बाँच्न चाहन्छु अथवा म राम्रो हुन चाहन्छु।’

त्यसपछि उनले सहयोगका लागि कदम अगाडि बढाइन्, काममा फर्किइन्। मलाई हानि गर्ने सोचाइ, मलाई अप्ठ्यारो पर्ने मानिससँग व्यवहार गर्न छाडेँ।’

त्यसले उनलाई पूर्णरूपमा सहयोग गरेन। त्यो क्षणिक सहजता थियो। उनले आफूले आफैँमा काम गर्नुपर्ने थियो, आफूले आफैँलाई सहयोग गर्नुपर्ने थियो। उनले विस्तारै आफूलाई र आफ्नो सन्तानलाई पहिलो प्राथमिकतामा राखिन्। काउन्सिलरसँग थेरापीमा बसेको केही समयमै उनमा परिवर्तन आयो। विस्तारै पहिलाभन्दा समय ठीक हुन थाल्यो।

माल्भिकालाई केही समयमा आफू ठीक भएजस्तो लागेको थियो, उनी काममा पनि सक्रिय थिइन्। ठीक भएँ भन्ने लाग्दालाग्दै उनलाई फेरि समस्या सुरु भयो। विशेषगरी विवाहपछि बुहारी अनि नयाँ आमामाथि पर्ने सामाजिक दायित्वले उनलाई समस्या पार्‍यो।

उनले नयाँ जिम्मेवारीमा हुँदा एक महिलाको मनस्थितिमा आइपर्ने तनावलाई समाजले संकुचित रूपमा लिएको महसुस गरिन्। त्यसपछि उनलाई अर्कै किसिमको मानसिक स्थितिबाट गुज्रनुपर्‍यो।

पछिल्लो २ वर्षमा मानसिक स्वास्थ्यबारे धेरै कुराकानी भएका छन्। कोरोना महामारीले पनि यसबारे धेरैलाई बोल्ने वातावरण बनाइदियो। उनले आफूले यसबारे बोलेपछि पनि धेरैले उनको प्रेरणा लिएको, उनीसँग सहयोगका लागि बाटो खोजेको अनुभव गर्न पाएकी छन्। अहिले केही हदसम्म मानिसमा यो अवस्थाबाट जो–कोही पनि गुज्रन सक्छ भन्ने चेनताको विकास भएझैँ लाग्छ।

साथ दिनु, उत्प्रेरणा दिनु महत्वपूर्ण हुन्छ। त्यो भन्दा ठूलो कुरा नकारात्मक कुरा र व्यवहार गर्नु हुँदैन र मनोपरामर्शदातासँग भेट्टाउनुपर्छ, तपाईंलाई मनोपरामर्शदाता अथवा मनोचिकित्सकबाहेक अरूले सहयोग गर्न सक्दैनन्। हो, जीवनशैली परिवर्तन, व्यायाम, योगा सहयोगी तत्व हुन् तर चिकित्सकीय सहयोगबिना सही बाटोमा हिँड्न असम्भव छ।’

‘मैले पनि बल्ल बुझेँ मानसिक रूपमा विक्षिप्त व्यक्तिलाई कसरी व्यवहार गर्नुपर्छ, किनकि मैले भोगेँ, सहयोग लिए र पहिलाको भन्दा अहिले राम्रो अनुभूत गरिरहेकी छु।’ उनले भनिन्, ‘मसँग जसले कुरा गर्नुहुन्छ, उहाँलाई आफ्ना नजिकका व्यक्तिसँग बोल्न सहज वातावरण नबनेको पनि हुन सक्छ।’

उनले उपचारको केही चरण पार गरेपछि आफूलाई परेको समस्या सार्वजनिक रूपमा बोलिन्। त्यो उनको नियतवशको प्रतिक्रिया थिएन। जब उनले बोलिन्, उनलाई ‘ठीकै गरेछु’ जस्तो लाग्यो।

‘कोभिडको पहिलो चरणमा मैलै यस विषयमा बोलिसकेपछि आएका प्रतिक्रियाले मैले बोलेर गलत गरेँ कि भन्ने लागेको थियो। मलाई त्यही डर फेरि सुरु भएको थियो’, उनले अगाडि भनिन्, ‘मैले यसबारे बोलेँ भनेर मलाई गर्वको कुरा छैन, मैले भन्दाखेरी कसैलाई सहयोग हुन्छ भने त्यो ठीक छ। कसैले मलाई नराम्रो भन्नुहुन्छ भने पनि मैले त्यसलाई मेरो समस्याका रूपमा लिन्नँ।’

केही अप्ठ्यारा परिस्थिति यो यात्रापछि हुन्छन्। जीवनलाई हेर्ने दृष्टिकोण अर्कै हुन्छ। उनी त्यो अवस्थाबाट अगाडि त आइन्। तर सम्झनाले केही गाह्रो अवस्थामा उनलाई अहिले पनि पुर्‍याउँछ। उनका परिवारसँग उनले अहिले पनि यसबारे कुरा गरेकी छैनन्।

तर, जसलाई यो समस्याबाट गुज्रनुपरेको छ, त्यो व्यक्तिको वरपर बस्नेलाई उनले आग्रह गर्छिन्, ‘संवेदनशील हुनुपर्छ। समस्यामा पर्ने र उसलाई हेर्ने दुवै पक्षले निरीह महसुस गरिरहेको हुन्छ, सहयोगका लागि हात बढाउनुपर्छ। साथ दिनु, उत्प्रेरणा दिनु महत्वपूर्ण हुन्छ। त्यो भन्दा ठूलो कुरा नकारात्मक कुरा र व्यवहार गर्नु हुँदैन र मनोपरामर्शदातासँग भेट्टाउनुपर्छ,’ उनले भनिन्, ‘तपाईंलाई मनोपरामर्शदाता अथवा मनोचिकित्सकबाहेक अरूले सहयोग गर्न सक्दैनन्। हो, जीवनशैली परिवर्तन, व्यायाम, योगा सहयोगी तत्व हुन् तर चिकित्सकीय सहयोगबिना सही बाटोमा हिँड्न असम्भव छ।’

माल्भिका अहिले आफूलाई धेरै भिन्न र सहज महसुस गर्छिन्। तैपनि, केही प्रश्न छन् त्यसको जवाफ उनले पाएकी छैनन्। उनलाई थाहा छैन, त्यसको उत्तर भेटिन्छ कि भेटिँदैन। समस्या केही छुटे पनि केही आफू अगाडि बढेसँगै साथ लागेका छन्।

‘कहिलेकाहीँ त्यही सामाजिक उत्तरदायित्वको घेरामा अल्झिन पुग्छु। सामाजिक सञ्जालले पनि व्यक्तिगत जीवनमा चासो राख्दै नचाहिँदा प्रश्न गर्न सहज बनाइदिएको छ। लेख्नेलाई केही सेकेन्ड हो तर त्यसको प्रभाव कति लामो समय जान्छ, त्यो नबुझेको पाउँछु,’ सुब्बा भन्छिन्, ‘म पेसागत रूपमा पनि सामाजिक सञ्जालमा देखिनुपर्छ तर यसले सहयोग असहयोग दुवै गरिरहेको छ। यो पनि चिन्ताको कारण बन्छ।’

उनलाई केही समस्या पितृसत्ता र युगौँदेखि जडा गाडेर बसेको संस्कारहरूले निम्त्याएजस्तो पनि लाग्छ। उनले भनिन्, ‘जुन संस्कार अहिलेको समय, परिस्थितिसँग मेल खाँदैन, हामी त्यसैलाई अवलम्बन गरिरहेका छौँ। यो परिवर्तन हुन अझै समय लाग्छ। मेरो बच्चाको जेनेरेसनमा आइपुग्दा बल्ल केही होला।’

प्रश्नको जवाफ दिइरहँदा उनी बेला–बेलामा शान्त हुन्थिन्। मानसिक स्वास्थ्यप्रतिको बुझाइ फराकिलो होस्, केही सामाजिक व्यवस्था परिवर्तन हुनुपर्छ भन्ने उनको चाहना थियो। तर, यो सबै कुरा ठीक हुन चुट्की बजाएझैँ सजिलो छैन भन्ने उनलाई थाहा छ। धेरै आयाम जेलिएर आइपर्ने समस्या भएकाले उनी सोच्छिन्, ‘विस्तारै परिवर्तन हुनुपर्छ र प्रयास गर्नुपर्छ।’

कुराकानी टुंग्याउँदै गर्दा उनले भनिन्, ‘शारीरिक स्वास्थ्यलाई ख्याल गरिएजस्तै मानसिक स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ किनकि मानसिक रुपमा स्वस्थ्य भइएन भने शारीरिक रूपमा पनि स्वस्थ भइँदैन। काउन्सिलरसम्म जान अप्ठ्यारो नमान्नुस्, आफ्नो समस्याबारे कुरा गर्नुस्। र, जसले अरूलाई समस्या परेको देख्नुभएको छ, उसलाई सकारात्मक वातावरण बनाइदिनुस् र मनोचिकित्सकसम्म पुर्‍याउने दायित्व लिनुहोस्। किनकि आफूलाई ठीक पार्ने आफैँले हो।’

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्