जग्गा पाइने आशमा आन्दोलनमा गएका रमेशले प्रहरीको गोली लागेर ज्यान नै गुमाउनुपर्‍यो

भैरहवा– बाणगंगा–१० बनकट्टी निवासी ३० वर्षीय रमेश परियारले घटना हुनुभन्दा एक घण्टाअघि श्रीमती मीनासँग पछि फोन गर्छु, प्रहरी आउन थाले भनेका थिए। मीनाका लागि रमेशको अन्तिम संवाद त्यहीँ भयो।

रमेश घर बनाउने काम गर्थे। मीनाका श्रीमान् रमेश जग्गा पाइने आशामा आन्दोलनमा सहभागी हुन मोतीपुर पुगेका थिए। गरिब, विपन्न परिवार भएकाले जग्गा पाइन्छ कि भन्ने आशा थियो। गाउँभरिका मानिस त्यसैगरी त्यहाँ पुगेका थिए।

जग्गा वितरण गर्न थालेको हल्ला चलेपछि धेरै संख्यामा मानिस औद्योगिक क्षेत्रको जग्गामा टहरा हाल्न पुगेका हुन्। तर, प्रहरी र जग्गा कब्जा गर्न पुगेका सर्वसाधारणबीच झडप भयो। प्रहरीले बल प्रयोग गरेपछि गोली नै चल्यो। रमेशलाई गोली लाग्यो। उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा पुर्‍याइयो।

तर, उनको मृत्यु भएको जानकारी आयो। सुरुमा रमेशका बुवा रणबहादुर दमाईं इमर्जेन्सी वार्डमा पुगे। उनले छोरालाई रगतमा लत्तपत्तिएको अवस्थामा भेटे। बोलाए। तर, छोरा बोलेनन्।

अनि रणबहादुरका आँखा रसाउन थाले। भक्कानिँदै बाहिर निस्किए। रणबहादुरले प्रहरीले गोली चलाएर ठूलो गल्ती गरेको बताए। ‘अब म र मेरी बुहारीलाई ठोक गोली,’ उनले भने, ‘हामीलाई पनि किन बचाउँछौ। गोली ठोकेर मार।’

खबर पाइसकेपछि श्रीमती मीना पनि इमर्जेन्सी वार्डमा छिरिन्। उनले पनि मुख देख्न पाइनन्। अनि उनी पनि रुन थालिन्। इमर्जेन्सी वार्डबाहिर आफन्ती र छिमेकी बीचमा विलाप गर्दै बसेकी छन्। अहिलेसम्म सर्वसाधारण चार जनाको मृत्यु भएको छ। घटनामा प्रहरी र सर्वसाधारण घाइते भएका छन्।

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्