नेपाल-भारत पहिलो हाफ बराबर

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत माल्दिभ्सको राजधानी मालेमा भइरहेको नेपाल र भारतबीचको फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

यद्यपि भारतले नेपालमाथि प्रसस्त दबाब दिएको छ।

माल्दिभ्समा जारी प्रतियोगितामा दुवै टिमले दुई खेल खेलिसकेका छन्।

नेपालले दुवै खेलमा जित हात पारेको छ। पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १-० को जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद् सुरूवात गरेको थियो भने दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ३-२ को जित हात पार्‍यो। नेपाल ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।

भारतले भने सुरूवाती दुवै खेलमा बराबरी खेलेको छ। पहिलो खेलमा १० खेलाडीमा सीमित बनेको बंगलादेशले भारतलाई १-१ गोलको बराबरीमा रोकेको थियो। दोस्रो खेलमा भारतलाई श्रीलंकाले गोलरहित बराबरीमा रोक्न सफल भयो।  २ अंक जोडेको भारत अंक तालिकाको चौथो स्थानमा छ।

भारतविरुद्धको आजको खेलमा जित हात पार्न सके नेपाल फाइनलमा पुग्नेछ।

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्