मोहनी : नेपालभाषीको दसैँ

मोहनी नै दसैँको देवीदेवता

काठमाडौँ– नेपालीको घरआँगनमा दसैँ आइसकेको छ। आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनाको दिन घरघरमा जमरा राखिएसँगै दसैँ सुरु भएको हो। दसैँलाई सम्पूर्ण नेपाली हिन्दूहरुको महान चाड भनिन्छ तर नेपालमा हिन्दूमात्रै बस्दैनन्। फेरि दसैँ मान्ने सबै हिन्दू होइनन् र, त दसैँ हिन्दूहरुको मात्रै पनि होइन।

नेपालमा दसैँ मान्ने गैरहिन्दू भन्नेबित्तिकै बौद्धमागीहरुलाई सम्झिन्छन्। बौद्धमार्गीहरुले पनि दसैँमा जमरा राख्छन् र दसैँ धुमधामसँग मनाउँछन्। बौद्धमार्गीहरु भाषिक रुपमा नेपालभाषी र गैरनेपालभाषी छन्। नेपालभाषी गैरबौद्धमार्गीहरु पनि छन्। गैरबौद्धमार्गी नेपालभाषीहरु पनि दसैँ मान्छन्। त्यसो भए दसैँ मान्ने नेपालभाषी के हुन् त? जुन हिन्दू होइनन् र बौद्धमार्गी पनि। दसैँ मान्ने उनीहरुको धर्म कुन हो त? दसैँ मान्ने नेपालभाषीहरु हिन्दू भने पक्कै नभएको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन्।

उनका अनुसार दसैँ मान्ने तर बौद्धमार्गी पनि नभएका नेपालभाषीमात्रै होइन नेपालीहरुसमेत सनातन धर्मका अनुयायी हुन्। जसलाई प्रकृतिपूजक पनि भनिन्छ। उनीहरुको लागि प्रकृति नै भगवान हो, प्रकृति नै अन्नदाता र जीवनदाता।

त्यसैले उनीहरुले प्रकृतिलाई देवीदेवताको नाउँमा पूजा, आराधना त गर्छन् तर ती देवीदेवताका मूर्ति, चित्र वा तस्बिर राख्दैनन्। ‘उनीहरु प्रकृतिलाई नै देवता मान्छन्’, संस्कृतिविद् शर्मा थप्छन्, ‘प्रकृतिमा जे जुन अस्तित्वमा छन्, ती नै उनीहरुका देवीदेवता हुन्।’

प्रकृतिलाई नै देवीदेवता मान्ने सनातन धर्मका अनुयायीहरुमध्ये यहाँ नेपालभाषीहरुको मौलिक दसैँबारे चर्चा गर्न खोजिएको हो।

नेपालभाषीहरुले मनाउने दसैँको मौलिक एवं शाब्दिक अर्थ मोहनी हो। नेपाली भाषीहरु दसैँ चाड भन्छन् भने नेपालभाषीहरु मोहनी नखः। दसैँजसरी मोहनी पनि घटस्थापनाको दिन जमरा राखेरै सुरु हुन्छ।

‘नलाः स्वाँ जौको मात्रै हुन्छ’

नेपालभाषीहरुले जौको मात्रै जमरा राख्ने संस्कृतिकर्मी शर्मा बताउँछन्। ‘नलाः स्वाँ जौको मात्रै हुन्छ’, उनले भने। तर हिन्दूत्वको प्रभावस्वरुप जमरा राख्दा मकै, गहुँसमेत अहिले छर्न थालिएको उनको भनाइ छ।

जमरा राख्ने कार्य नलाः स्वनेगु हो। नलाः उम्रेपछि स्वाँ (फूल) हुन्छ। ‘जमरा उम्रिएपछि नलाः स्वाँ हुन्छ’, शर्मा भन्छन्, ‘यहीं नलाः स्वाँ मोहनीमा प्रसादको रुपमा ग्रहण गरेर सबैले शीरमा राख्छन्।’

नलाः स्वानेगु गरिसकेपछि प्रत्येक दिन बिहान घरकी नकींले चोखो पानी दिन्छिन् भने बेलुका बत्ती बालेर पूजा गर्छिन्। दसैंको सुरुदेखि दशमीसँग बिहानबेलुका अष्टमातृकाको शक्तिपीठमा गएरसमेत पूजाआजा गर्ने चलन रहँदै आएको छ।

फूलपाती भित्र्याउँदैनन् नेपालभाषी

दसैँको सप्तमीमा नेपालभाषीहरु फूलपाती भित्र्याउँदैनन्। बरु महाअष्टमीको दिन कुःछी भ्वे (कुल भोज) खान्छन्। कुल देवता पूजा (देवाली) मा सहभागी भएका एकैघरका सबै सदस्य कुःछी भ्वेमा अनिवार्य सहभागी हुनुपर्छ। कुःछी भ्वेको पनि आफ्नै विधि विधान भएको संस्कृतिकर्मीहरुले बताए।

महाअष्टमीकै दिन स्थानीय गुठीमा आवद्ध नेपालभाषीहरुले कोटदेवी मन्दिरमा राँगो काटेर घरघरमा मासु भित्र्याउँछन्। मोहनी नखःको अर्को प्रमुख विशेषता नै नेपालभाषीहरुले सामूहिक रुपमा कोेटदेवी मन्दिरमा राँगोको बलिपूजा गरी घरघरमा मासु भित्र्याउनु रहेको अर्का संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्।

महानवमीमा नलाः स्वाँ र मोहनीको बलिपूजा

उनका अनुसार नलाः स्वनेगु भएको नवौं दिन नेपालभाषीले नलाः स्वाँलाई नै मोहनी देवीदेवता मानेर बलिसहित पूजा गरिन्छ। नेपालभाषीले आआफ्नो क्षमताअनुसार बलि पूजा गर्छन्।’बलि पूजा नगर्नेहरुले कुखुराको अन्डा वा नरिवलमात्रै राखेर भए पनि पूजा गर्छन्’, उनले भने, ‘यसरी पूजा गर्नेबेला राखिने मोहनी नै दसैँको मुख्य विशेषता हो।’

जसको नाउँबाटै नेपालभाषीहरुले चाड (नखा) मनाउँछन्। सलिङचा (माटोको भाँडो) मा तोरीको तेल राखेर दियो बालिन्छ। त्यसमाथि भित्रपट्टि तोरीकै तेल दलिएको अर्को सलिङचाले छोपिन्छ। यसरी छोपिएको माथिल्लो सलिङचामा बलेको दियोको ध्वाँसो नै मोहनी हो। यस कार्यलाई ‘मोहनी फेयगु’ मोहनी स्थापना गर्नु भनिन्छ। यसरी मोहनी फेयगु गर्नुअघि दुइटै सलिङचामा पूजा गरिन्छ।

मोहनीले संकेत गर्छ दसैँ शुभ कि अशुभ

संस्कृतिकर्मीहरुका अनुसार बलिपूजाविना मोहनी फेयगु गरिँदैन। यसरी स्थापना गरिएको मोहनीमा ध्वाँसोको आकृति बसेको हुन्छ, जसमा विभिन्न देवीदेवता, देवस्थल तथा धार्मिकस्थलको प्रतीक प्रतिबिम्बित भएको जनविश्वास गरिन्छ। सोही ध्वाँसोको आकृतिको आधारमा नेपालभाषीले आफ्नो मोहनी नखः शुभ भयो कि अशुभ वा फलदायी कि कष्टदायक भयो भनी अड्कल गर्ने संस्कृतिकर्मीहरु बताउँछन्। त्यसैले मोहनी नै दसैँको मुख्य देवीदेवता हो।

‘दसैँको देवीदेवताको नाउँ नै मोहनी हो’, शर्मा जाेड दिएर भन्छन्, ‘तान्त्रिक विधिअनुसार पूजा गरेर मोहनी राखिन्छ। आफ्नो तथा घरपरिवारको दुःखकष्ट निवारण, सुखशान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गरी मोहनी देवीको पूजाआजा र आराधना गरिन्छ।’

यसरी राखिएको मोहनी भोलिपल्ट दशमीको दिन टीका जमरासँगै ग्रहण गरिन्छ। मोहनी रातो टीकाभन्दा माथि लामो धर्सो पारेर लगाइन्छ। जसलाई बोलीचालीमा कालो टीका पनि भनिन्छ। तर यो कालो टीका नभई मोहनी नै भएको र यसको तान्त्रिक महत्व भएको संस्कृतिकर्मी धाैभडेल बताउँछन्।

उनका अनुसार मोहनी एवं कालो रंग भैरवको प्रतीक हो। मोहनीमा रातो र सेतो कपडाको बाला (तुलबाला) समेत लगाइन्छ। दसैँमा स्थापना गरिएको मोहनी अरु बेला बालबच्चा तथा महिलाको लागि गाजल बनाउन प्रयोग गरिन्छ।

महानवमीकै दिन नेपालभाषीहरुले नलाः स्वाँको सँगै आफूले कृषि कर्ममा प्रयोग गर्ने सम्पूर्ण औजार, सांगीतिक वाद्यवादन, नापतौलका साधनकोे पूजा गर्छन्। घरको आँगनमा आफूले चलाउने सवारीसाधन, घरेलु उद्योगको मेशिन तथा पार्टपुर्जाको समेत पूजाआजा गर्छन्।

महानवमीमा ‘स्यूः कायः भ्वे’ खाइन्छ

संस्कृतिकर्मी धाैभडेलका अनुसार नेपालभाषीहरुले नलाः स्वाँमा बलि दिएर पूजा गर्नु मोहनी नखाको अर्को मुख्य विशेषता हो। यसरी बलि दिएको पशु भए टाउकोका विभिन्न अंग जस्तै आँखा, कान, नाक, जिब्राे र पुच्छर तथा पक्षी भए टाउको, खुट्टा, पखेटा र पुच्छरको ‘स्यूः’ बनाएर थकालीअनुसार भाग लगाएर भोज खाइन्छ। ‘यस किसिमको भोजलाई ‘स्यूः कायः भ्वे’ भनिन्छ’, उनले भने, ‘यो भोजले परिवारमा व्यक्तिको जिम्मेवारी र दायित्वलाई समेत परिभाषित गर्छ।’

‘नेपालभाषीहरु देवीदेवतासामु बलि दिन ल्याइएका पशुपक्षी नपर्सिएसम्म मार्दैनन्। बलि दिइसकेपछि पशुपक्षीको टाउकोमा कपुर र धूपबत्ती गरेर देवीदेवताकोे सामुन्ने राख्छन्’, संस्कृतिकर्मी शर्मा भन्छन्, ‘जानीनजानी केही गल्ती कमजोरी भए क्षमा पाउँ भनी देवीदेवताको मान राख्नु र पूजापछि मात्रै भगवानको प्रसादको रुपमा भोज खानु नेपालभाषीहरुको छुट्टै पहिचान र मुख्य विशेषता हो।’

तर गैरनेपालभाषीले दसैँघरमा राखिएको जमरामा बलि पूजा गर्दैनन्। ‘उनीहरु दसैंको नाउँमा मासु त खान्छन् तर देवीदेवताको प्रसादको रुपमा खाँदैनन्’, उनले थपे।

उनका अनुसार नेपालभाषीहरु दसैंतिहारको १६ दिनपछि पूजाआजा वा औपचारिक भोजभत्तेर भएको दिनबाहेक अरु बेला आफूखुसी मासुसमेत खाँदैनन्।

महानवमीको दिन पूजा गरिएका मोहनी, नलाः स्वाँ, कृषि औजार, वाद्यवादनलगायत दशमीको दिन प्रसादको रुपमा ग्रहण गरिन्छ। कृषि औजार तथा वाद्यवादन जजसले प्रयोग वा उपयोग गर्छ, उसउसलाई घरको थकालीले हस्तान्तरण गर्छन्। यस दिनलाई नेपालभाषीहरु चालँ भन्छन्।

‘हिन्दूहरुले दशमीको दिन दसैंघरमा दुर्गाको चित्र, तस्बिर वा मूर्ति राखेर पूजा गर्छन्’, संस्कृतिकर्मी शर्माले भने, ‘नेपालभाषीहरु दुर्गा पूजा गर्दैनन्। उम्रिएको नलाः स्वाँ र मोहनीलाई नै देवीदेवता मानेर पूजाआजा र आराधना गर्छन्।’

तर आजभोलि नेपालभाषीहरुले नलाः स्वाँ र मोहनीको पूजामा दुर्गा भवानीको मूर्ति एवं तस्बिर राख्न थालिएको भन्दै संस्कृतिकर्मी शर्माले आपत्ति जनाए। ‘सनातन धर्ममाथि हिन्दूको प्रभाव र अतिक्रमण हुनबाट जोगाउन ढिलो भइसक्यो’, संस्कृतिकर्मी शर्माले भने।

दशमीपछि नखत्याः, नबोलाई जाँदैनन्

मोहनीको दशमीपछि पूर्णिमासम्म नेपालभाषीहरुले छोरीज्वाइँ, दिदीबहिनी, भाञ्जाभाञ्जीलगायत नाताकुटुम्बलाई बोलाएर मोहनी नखत्या (भोज) खुवाइन्छ। नेपालभाषीहरु नखत्या नबोलाइकन मोहनीमा भोज खान जाँदैनन्। तर नेपाली भाषीहरुमा नबोलाए पनि सकेसम्म आफ्ना सम्पूर्ण मान्यजनकहाँ टीका थाप्न जानुपर्ने प्रचलन रहेको छ।

संस्कृतिकर्मीहरु दसैँ र मोहनी एउटै जस्तो देखिए पनि यसका आआफ्नाे छुट्टै मौलिक विशेषता, भिन्नता र पहिचान रहेको बताउँछन्।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्