नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (असोज १७ देखि २३ गतेसम्म)

दसैँको भिडभाडमा बढ्न सक्छ कोरोना संक्रमण

डब्लुएचओका अनुसार विश्वमा कोरोना संक्रमण र यसको प्यान्डेमिक सुरु भएदेखि २३,६६,००००० अर्थात् पौने २४ करोडमा यो संक्रमण लागिसकेको छ र करिब ४८,३१,००० ले यसैका कारण ज्यान गुमाइसकेका छन्।

अर्को भाषामा भन्ने हो भने हाल विश्वमा करिब ७,९०,००,००,००० जनसंख्या रहेकामा जम्मा जनसंख्याको करिब ३% मा कोरोना संक्रमण भएको र जम्मा जनसंख्याको ०.०६% को कोरोनाका कारण मृत्यु भएको देखिन्छ। विश्वमा हालसम्म कोरोना संक्रमणको समग्र मृत्यु दर, जम्मा संक्रमितमध्ये मृत्यु हुनेको अनुपात, करिब २.०% देखिन्छ।

जनसंख्याको हिसाबले सबैभन्दा ठूलो महादेश एसियामा हालसम्म करिब १.६४% जनसंख्यामा कोरोना संक्रमण भएको छ भने ०.०२% जनसंख्याको यसैका कारण मृत्यु भएको छ।

त्यस्तै दोस्रो ठूलो जनसंख्या भएको महादेश अफ्रिकामा ०.६१% जनसंख्यामा कोरोना संक्रमण भएको छ भने ०.०१% जनसंख्याको यसैका कारण मृत्यु भएको छ।

त्यस्तै, युरोपमा ८.०५% जनसंख्यामा कोरोना संक्रमण भएको छ भने ०.१७% जनसंख्याको यसैका कारण मृत्यु भएको छ। दक्षिण तथा ल्याटिन अमेरिकामा ५.७५% जनसंख्यामा कोरोना संक्रमण भएको छ भने ०.१८% जनसंख्याको यसैका कारण मृत्यु भएको छ।

उत्तर अमेरिकामा सबैभन्दा धेरै १४.६०% जनसंख्यामा कोरोना संक्रमण भएको छ भने ०.३०% जनसंख्याको यसैका कारण मृत्यु भएको छ। ओसनिया (अस्ट्रेलिया तथा वरपरका देशहरूमा)मा सबैभन्दा कम ०.५८% जनसंख्यामा कोरोना संक्रमण भएको छ भने ०.००७% जनसंख्याको यसैका कारण मृत्यु भएको छ।

एक शताब्दीअगाडिको स्प्यानिस फ्लु प्यान्डेमिकको कुरा गर्ने हो भने सन् १९१८ देखि १९१९ सम्म रहेको उक्त प्यान्डेमिकमा, सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार, करिब ५० करोड अर्थात् जम्मा जनसंख्याको करिब एक तिहाइमा उक्त संक्रमण फैलिएको थियो भने करिब ५ करोड (जम्मा संक्रमितमध्ये १०%, जम्मा जनसंख्याको ३.३३%)को त्यसैका कारण मृत्यु भएको थियो। युरोप, अमेरिका र एसियाका केही भागबाट सुरु भएको उक्त प्यान्डेमिकमा अमेरिकामा मात्रै ६७५००० जनाको उक्त संक्रमणबाट मृत्यु भएको थियो।

यसरी स्प्यानिस फ्लुसँग तुलना गर्ने हो भने वर्तमान कोरोना संक्रमणको प्यान्डेमिक, विश्वको जनसंख्याको अनुपातमा, निकै सानो छ। तैपनि, कोरोना प्यान्डेमिकले विश्वलाई कति दुःख दिएको छ भन्ने कुरा यहाँ भनिराख्नुपर्ने विषय होइन। स्प्यानिस फ्लुले जत्तिको कोरोना प्यान्डेमिकले पनि दुःख दिए भने यो सुन्दर संसार कस्तो होला! कल्पनाभन्दा निकै पर छ। त्यतिबेला प्यान्डेमिक पत्ता लगाउने प्रविधिको विकास भइसकेको थिएन, भ्याक्सिनको विकास र प्यान्डेमिकसँग सम्बन्धित अन्य संक्रमणको उपचार गर्न औषधिको विकास पनि त्यति भएको थिएन।

वर्तमान अवस्थामा विश्वले विज्ञान तथा प्रविधिको उचाइ चुमिसकेको अवस्थामा वर्तमान प्यान्डेमिकको चाँडैै अन्त्य होला भन्ने विश्वास गर्न सकिन्छ। यद्यपि, वर्तमान कोरोना संक्रमणको उत्पत्ति भएको स्प्यानिस फ्लु प्यान्डेमिकभन्दा लामो भइसकेको छ।

विश्वमा कोरोना प्यान्डेमिकका कैयौं लहर आउने–जाने क्रममा दक्षिण एसिया पनि यसै परिस्थितिबाट गुज्रिरहेको छ।

चित्र नम्बर १ ले दक्षिण एसियाको १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा दैनिक संक्रमण र दैनिक मृत्यु दुवैमा क्रमिक कमी हुँदै आएको छ।
दक्षिण एसियामा दैनिक औसत २८००० नयाँ कोरोना संक्रमण र ४०० नयाँ मृत्यु देखिने गरेको छ जुन एक महिनादेखि स्थिर देखिन्छ।

चित्र नम्बर २ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशमा दैनिक संक्रमणमा कमी हुँदै आएको छ।

त्यस्तै, चित्र नम्बर ३ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशमा दैनिक मृत्युमा पनि कमी हुँदै आएको छ। भारतमा भने दैनिक कोरोना मृत्यु हरेक दिन केही तल–माथि हुने क्रम जारी छ ।

चित्र नम्बर ४ ले दक्षिण एसियाली र अन्य केही देशको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाका अनुसार साप्ताहिक औसत संक्रमण दरको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै पछिल्लो समय सबै दक्षिण एसियाली देशलगायत अमेरिका, जापान र बेलायतको पनि दैनिक संक्रमण दरमा क्रमिक कमी आएको देखिन्छ। यद्यपि, श्रीलंकाको दैनिक संक्रमण दर हाल पनि अन्यको भन्दा उच्च देखिन्छ। दक्षिण एसियामा नेपाल र श्रीलंकाको दैनिक संक्रमण दर डब्लुएचओको मापदण्डभन्दा बाहिर छ भने अन्यको एक महिनाभन्दा लामो समयदेखि मापदण्डभित्रै पर्दै आएको छ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गत साता वि.सं. २०७८ असोज १७ देखि २३ गतेसम्म ७ दिनको विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

गत साता पनि प्यान्डेमिकका तथ्यांक विश्वभरि र नेपालमा पनि उतारचढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकका आधारमा गत साता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरिहेरौं –

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। वि.सं. ०७८ असोज १७ देखि २३ गतेसम्म ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र नम्बर ५ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत साताको सात दिन, असोज २३ गते शनिबारसम्म, देशभरि जम्मा ५०१५ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ८०१६३३ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण दुई साताअघि ६०६० थियो। त्यस्तै, साप्ताहिक मृत्यु गत साता ६४ रह्यो जुन दुई साताअघि ७० थियो। गत साता जम्मा ५८६०८ पीसीआर परीक्षण गरियो जुन दुई साताअघि ६७२६० थियो।

यसरी पछिल्लो समय नेपालको साप्ताहिक कोरोना संक्रमण संख्यामा क्रमशः कमी हुँदै गएको छ भने साप्ताहिक मृत्यु पनि कम हुँदै गएकामा पछिल्लो केही साता साप्ताहिक मृत्युमा केही वृद्धि भएको देखिन्छ। यद्यपि, गत साता दुई हप्ता अघिभन्दा साप्ताहिक मृत्यु घटेको छ। साप्ताहिक पीसीआर परीक्षण संख्या पनि पछिल्लो समय नेपालमा कम गरिँदै गएको छ।

गत साता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण अनुपात समग्र नेपालको तुलनामा औसतमा ४३.७% जति देखिएको छ जुन दुई साताअघि ३९.१७% थियो।

पर्वको समयसँगै सिंगो देशको दाँजोमा काठमाडौँ उपत्यकाको दैनिक संक्रमण अनुपात पछिल्लो समय केही बढ्न खोजेजस्तो देखिन्छ जुन पछिल्लो समय झन् बढेको छ। बजार तथा सार्वजनिक क्षेत्रमा बढ्दो भीडभाड यसको प्रमुख कारण हुन सक्छ। पछिल्लो समय कोरोना संक्रमण उपत्यकाबाहिर कास्की, झापा, रुपन्देही आदि ठाउँमा बढेको देखिन्छ।

दैनिक संक्रमण दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र नम्बर ६ ले नेपालको गत साताको दैनिक संक्रमण दर देखाएको छ जुन विस्तारै केही घट्दै गएको देखिन्छ। गत साता पोजिटिभिटी दर न्यूनतम ६.५८% देखि अधिकतम १३.७८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ९.०२% रह्यो जुन दुई साताअघि ९.२९% थियो। नेपालको कोरोना संक्रमण दर डेढ महिनादेखि केही कम हुँदै गएको छ। तर, बेला–बेलामा संक्रमण दर केही बढ्न खोजेजस्तो देखिन्छ जुन खतराको सूचक हुन सक्छ।

संक्षेपमा, पछिल्लो समय, नेपालमा पर्व र भीडभाडको समयको बाबजुद, दैनिक संक्रमण, मृत्यु र संक्रमण दरमा कमी आएको देखिन्छ जुन सुखद पक्ष हो। गत साता नेपालको साप्ताहिक कोरोना सक्रमण संख्या र साप्ताहिक संक्रमण दरमा केही कमी आए पनि साप्ताहिक कोरोना मृत्युमा भने केही साताअघिको दाँजोमा त्यति कमी आउन सकेको छैन।

सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको कोरोना संक्रमण अनुपात पनि पछिल्लो समय बढ्दै गएको देखिन्छ जुन पर्वको अवसरमा बजार तथा सार्वजनिक क्षेत्रमा बढेको भीडभाडकै कारणले हो। बेलाबेलामा देशभरिको दैनिक संक्रमण दर उच्च देखिनु पनि त्यति सुखद होइन जुन खतरापूर्ण हुन सक्छ।

दक्षिण एसियामा समग्र रूपमा दैनिक संक्रमण र मृत्युमा कमी आउँदै गएको प्रवृत्ति देखिएको छ।

कोरोनाकालमा आफू बच्ने उपाय मात्रै गरे पनि त्यसले अरूलाई पनि बचाउन सकिन्छ। कोरोना प्यान्डेमिक समस्त मानव जातिका लागि एक युद्ध हो। अलि दुःख र कष्ट सहेर भए पनि सुनौलो भविष्यका लागि यो युद्ध लडेर जित्नै पर्छ। यसको अरू कुनै विकल्प नै छैन।

प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशासित जीवनशैली नै एक मात्र यस्तो हतियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्छ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाका रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्