भारतको चीन चुनौती

माओ र अन्य चीनियाँ नेताहरूसँगको  ख्रुश्चेभको ऐतिहासिक तर तिक्ततापूर्ण वार्ता र त्यसको परिवेश

देश सञ्चार मै प्रकाशित यस पङ्क्तिकारका अघिल्ला लेखहरूमा () भारत र चीन वीचको १९६२को युद्ध र वर्तमान सन्दर्भबारे चर्चा गर्यौं ।

यसलाई सैद्धान्तिक रूपमा कसरी बुझौँ भने दोस्रो विश्व युद्धपछिको विश्व व्यवस्थामा अमेरिका र सोभियत सङ्घ महाशक्ति राष्ट्रको रूपमा आए ।

संसारको सवैभन्दा ठूलो जनसंख्या भएका र आकारमा समेत  विश्वका चौथो र सातौँ ठूला र दुई प्राचीन समृद्ध सभ्यतालाई प्रतिनिधित्व गर्ने चीन र भारत दुई फरक राजनीतिक, सामाजिक, आर्थिक  र  नैतिक मूल्य र मान्यता बोकेर विश्व समुदाय माझ उपस्थित भए ।

चीनमा माओको नेतृत्वमा हिंसा र बन्दुकको बलमा  नयाँ  राज्य व्यवस्था स्थापना भयो र  त्यसैलाई उसले आफ्नो परिकल्पनाको विश्व व्यवस्था निर्माण गर्ने उद्देस्य राख्यो ।

ऊता भारतले अहिंसा, सत्य, प्रजातन्त्र, न्याय र मानव स्वतन्त्रताका मूल्यहरूको बलमा स्वतन्त्र भारतले त्यस्तै विश्व व्यवस्थाको निर्माणमा आफ्नो प्रयत्नलाई केन्द्रित गर्यो ।

त्यसैले अमेरिका र सोभियत सङ्घ क्रमश: पहिलो र दोस्रो विश्वको नेता भएपछि संसारका नव स्वाधीन तेस्रो विश्वका राष्ट्रहरूको नेतृत्वको प्रतिष्पर्धा  पनि थियो – १९६२को चीन-भारत युद्ध ।

समान जस्तै राजनीतिक सामाजिक र आर्थिक मूल्यहरूमा साझा आस्था बोक्ने मुलुकको हैसियतमा अमेरिका भारतको पक्षमा उभियो र त्यसले युद्धलाई अन्त्य गर्न निर्णायक भूमिका निर्वाह गर्यो ।

१९६२ को  चीन-भारत युद्धबारे अमेरिकी रणनीतिबारे अघिल्ला लेखहरूमा चर्चा  गरियो तर सो सम्बन्धमा सोभियत सङ्घको दृष्टिकोण के थियो भन्ने छोटो चर्चा आवश्यक देखिन्छ ।

अझै महत्वपूर्ण कुरा के भने उक्त वार्ताले चीनको  भारतलाई हेर्ने  त्यतिखेरको दृष्टिकोणमा  आज पनि परिवर्तन भएको देखिन्न र त्यतिखेरको त्यो भीडन्तले गत वर्ष लद्दाखमा दुई मुलुकबीचको झडपलाई स्मरण गराउँछ ।

साथै त्यो वार्ताले भारत, चीन र सोभियत सङ्घको तत्कालीन नेपाल नीतिलाई समेत सङ्केत गर्दछ ।

ल्हासामा चीनियाँ जनमुक्ति सेनाको कब्जामा पर्ने निश्चित भएको अवस्थामा चीनियाँ सेनाको आँखा छल्दै  तिब्बत र हिमालय क्षेत्रका विकट  डाँडाकाँडा, खोच र गल्छीहरू पारगर्दै करीव पन्ध्र दिनको पैदल यात्रापछि दलाई लामा ३१ मार्च १९५९मा भारत प्रवेश गरे ।

त्यसको तीन दिनपछि भारत सरकारले मानवीय आधारमा उनलाई शरण दिने निर्णय गर्यो ।

यद्धपि दलाई लामा ल्हासा छोडेर भारत प्रवाशमा आउनु अघिको उनको यात्रामा भारत सरकारको कुनै भूमिका रहेको पाइन्न तर चीनले यसमा भारतको हात रहेको  ठहर गर्यो र त्यसपछि चीनले भारत विरूद्ध आक्रामक रणनीति अवलम्वनगर्न थाल्यो ।

यसै क्रममा सीमानामा हिंसात्मक भिडन्तका स्थितिहरू  देखिन थाले ।

त्यसैताका तिब्बत सवाल र सीमा द्वन्द्वबारे सोभियत सङ्घका सर्वोच्च शासक निकिता ख्रुश्चेभ र चीनिया सर्वोच्च नेता माओ, प्रधानमन्त्री चाउ एनलाई र अन्य वरिष्ट नेताहरू वीचको. वार्ताको एउटा झलक यस्तो छ —

माओ र अन्य चीनियाँ नेताहरूसँगको  ख्रुश्चेभ र अन्य सोभियत नेताहरूको प्रतक्ष वार्ता ()

“ख्रुश्चेभ : हामी भारतसँग तपाइँहरू किन भीडन्तमा जानुभयो बुझ्न सकिरहेका छैनौ ।

हेर्नोस, इरानसँग हाम्रो एक सय ५० वर्ष सम्म सीमा विवाद रह्यो ।

तीन चार वर्ष अघि  हामीले हाम्रो केही भूभाग दिएर सम्झौता गर्यौँ ।

बुझ्नोस, छिमेकीहरूको वीचमा पाँच किलोमिटर जमिन घटी वा बढी महत्वपूर्ण होइन, मित्रता महत्वपूर्ण हो ।

लेनिनले पनि टर्कीसँगको सीमाको हकमा त्यसै गरेका थिए ।

जुन भूमि टर्कीलाई दिइयो त्यहाँका ककेसस जनताले  लेनिनको विरोध  पनि गरे तर पनि लेनिनको त्यो निर्णय ठीक थियो ।

धेरै वर्षसम्म तपाइँको नेहरूसँगको सम्बन्ध राम्रो रह्यो ।

एक्कासी अहिलेको रक्तपातपूर्ण भीडन्तले नेहरूलाई एकदम अप्ठ्यारो स्थितिमा धकेलेको छ ।

हामी नेहरूलाई एउटा बुर्जुवा राजनेता त मान्न सक्छौँ तर यदि नेहरूगए भने उनी भन्दा राम्रो को हुन सक्छ त ?

दलाई लामा तिब्बत छोडेर भागे, उनी एउटा बुर्जुवा हुन ।

उनको भारत प्रवाशको परिघटनाबारे हामी पूर्ण जानकार छैनौ ।

हंगेरीमा नेहरू हामी विरूद्ध उभिए I तर हामी उनी विरूद्ध गएनौ ।

किनकि एउटा बुर्जुवा राजनेतासँग हाम्रो खासै अपेक्षा थिएन, त्यसकारण, हामीले नेहरूसँग राम्रो  राजनीतिक सम्बन्ध  राखिरह्यौँ ।

उनी विरूद्ध आक्रामक भएर गएनौ ।

तपाइँको अतिथिको रूपमा आएको मलाई तिब्बत सवालमा तपाइँ गलत हुनुहुन्छ भन्न त असजिलो त हुन्छ र तपाइँ अनुमति दिनुहुन्छ भने म भन्दछु कि – तिब्बतमा तपाइँले शासन गरिरहनु भएको थियो ।

तपाइँका गुप्तचर एजेन्सीहरू थिए तर तिनीहरूले एउटा अनुभवहीन र २३ वर्षे युवा दलाई लामाको योजना  र उद्देस्य कसरी पत्ता लगाउन सकेनन ?

माओ : भन्न त नेहरूले पनि त्यसै भने – तिब्बत घटनामा हाम्रै दोष बताए ।

तर तपाइँहरू तास सम्बाद समिति () मार्फत  नेहरूको पक्षमा उभिएको देखिनु भयो र यो हाम्रो लागि प्रिय थिएन ।

ख्रुश्चेव: तपाइँ साँच्चै भारतसँगको  द्वन्द्वमा हामी  तपाइँहरूको पक्षमा उभिनु पर्दछ भन्ने सोच्नुहुन्छ ?

त्यसो गर्नु मूर्खतापूर्ण कार्य हुने छ भन्ने हामीलाई लाग्दछ । त्यसैले तासको त्यो विज्ञप्ति उचित  र आवश्यक थियो ।

त्यसो नगरेको भए  सिङ्गो समाजवादी विश्व भारतको विपक्षमा उभिएको सन्देश विश्वमा जाने थियो र त्यसको धेरै नकारात्मक परिणाम आउने थिए ।

त्यसैले यो सवाल भारत र चीनवीचकै मात्र रहेको बुझियोस भन्ने हामीले चाह्यौँ ।

माओ : तिब्बत हाम्रो नियन्त्रणमा आए लगत्तै दलाई लामालाई निशस्त्र नबनाउनु हाम्रो गल्ती थियो ।

तर त्यतिखेर तिब्बती जनता माझ हाम्रो कुनै सम्पर्क  र सम्बन्ध थिएन  ।

ख्रुश्चेभ : तपाइँहरूले  अझै पनि तिब्बतका जनतासँग कुनै सम्बन्ध  र सम्पर्क राख्नु भएको छैन ।

माओ यस विषयमा हाम्रा फरक बुझाई रहेका छन् ।

ख्रुश्चेभ :  हो यसै कारण, हामीले यो विषय उठाएका हौँ ।

हेर्नोस किम इल सुङ्गसँग असहमत धेरै मानिस  भागेर चीन पनि आए र सोभियत सङ्घमा पनि I हामीले उनीहरूलाई शरण दियौँ  ।

तर यसले किमसँगको हाम्रो असल सम्बन्धमा कुनै नराम्रो असर पुगेन ।

हामी तपाइँहरूको स्थानमा भएको भए दलाई लामालाई उम्किन दिने थिएनौ, त्यस्तै परे उनको हत्या पनि हुन सक्थ्यो ।

अहिले उनी भारतमा छन् र सम्भवत अमेरिका जाने छन् ।

यदि यसो भयो भने यो समाजवादी विश्वको लागि राम्रो स्थिति बन्ने छैन ।

माओ: यो असम्भव थियो  I  हामी त्यतिखेर उनलाई गिरफ्तार गर्न सक्दैनथियौँ । यसले तिब्बतमा स्थिति हाम्रो नियन्त्रण बाहिर जान सक्थ्यो ।

हामी उनलाई भारत जानबाट रोक्न सक्ने अवस्थामा पनि थिएनौ ।

भारतसँगको विस्तारित सीमानामा उनी कुनै पनि बिन्दुबाट प्रवेश गर्न सक्थे ।

ख्रुश्चेभ : यो दलाई लामाको गिरफ्तारी हुन सक्थ्यो सक्दैनथ्यो भन्ने सवाल होइन, मेरो यति मात्रै भनाई हो कि तपाइँहरूले लामालाई भाग्न  दिनुभयो  र त्यो नै गल्ती हो ।

तपाइँहरू दलाई  लामालाई भारत भाग्न  दिनुहुन्छ  अनि भारत पुगेका दलाई लामालाई नेहरूले के गरुन ?

त्यसैले तिब्बतमा जे भयो त्यसको दोष चीनियाँ कम्युनिस्ट पार्टी को हो , नेहरूको होइन ।

माओ : होइन, त्यो नेहरूकै दोष हो ।

ख्रुश्चेभ : त्यसो भए हंगेरीमा भएको घटनामा हाम्रो कुनै दोष छैन -अमेरिकाको छ ?

हेर्नोस, हंगेरीमा हाम्रो सेना थियो । हामीले त्यो स्वाँठ राकोसी  () लाई समर्थन गर्यौं । सहयोग गर्यौँ ।

त्यहाँ जे भयो त्यहाँ गल्ती हाम्रो थियो – अमेरिकाको होइन ।

माओ: तपाइँ कसरी राकोसी र दलाई लामाको तुलना गर्न सक्नुहुन्छ ?

ख्रुश्चेभ: कुनै हद सम्म सकिन्छ, नसकिने होइन ।

माओ: भारतीयहरूले तिब्बतलाई आफ्नै जस्तो सम्झिए, र त्यस्तै व्यवहार प्रदर्शन गरे  ।

ख्रुश्चेभ: हामीलाई थाहा छ र तपाइँहरूलाई पनि थाहा छ, नेपालले सोभियत दुतावाश राख्न चाह्यो तर हामीले लामो समय सम्म त्यहाँ हाम्रो राजदुत पठाएनौ।

तपाइँहरुले पनि पठाउनु भएनकिनकि नेहरू नेपालमा सोभियत र चीनियाँ राजदुतको उपस्थिति नहोस भन्ने चाहन्थे।

यो कुनै नौलो कुरा थिएन  र यो भारतसँग सम्बन्ध  तोडिहाल्ने आधार बन्न सक्दैनथियो।

माओ:नेपालको सवालमा हामीले पनि नेहरूलाई समर्थन गर्यौँ,  तर तिब्बतको सवालमा हामी नेहरूलाई सिध्याएरै छोड्छौँ ।

ख्रुश्चेभ:तपाइँहरूले भारतको सीमाना क्षेत्रमा किन हत्या मच्चाउनु भयो ?

माओ: पहिला भारतीय पक्षले सीमाना पार गरेर यता आए ।

हामी माथि आक्रमण गरे ।

लगातार १२ घण्टा सम्म फायर गरे ।

चाउ एनलाई : तपाइँहरू हाम्रा कुरा पत्याउनु हुन्छ कि भारतीयहरूको ?

ख्रुश्चेभ :पहिला भारतले आक्रमण गरेको भएता पनि कुनै पनि चीनियाँ मारिएका थिएनन् तर भारतीयहरू मात्रै मारिए ।

चाउ एनलाई: हामीमाथि आक्रमण भएपछि हामीले पनि फायर गर्नै पर्यो नी !

हावामा गोली हान्ने कुरा भएन ।

उनीहरूले त अझ म्याकमोहन  रेखा समेत पार गरे ।

यसको अतिरिक्त निकट भविष्यमा भारतीय उपराष्ट्रपति राधाकृष्णन चीन भ्रमणमा आउँदै छन् ।

हामी यो सवाललाई शान्तिपूर्ण समाधानका सवै उपाय अवलम्वन गरिने कुरा राख्छौँ ।

मैले सेप्टेम्बर ९मा नेहरूलाई पठाएको पत्रमा ()

पनि  घटना कसरी विकास भएको थियो सवै व्यहोरा खुलस्त पारेको छु ।

ख्रुश्चेभ: कमरेड चाउ एनलाई, तपाइँ लामो समयदेखि चीनको विदेश मन्त्रालय समेतको जिम्मेवारीमा  हुनुहुन्छ ।

कुनै रक्तपात बिनानै कसरी विवादहरूलाई समाधान गर्न सकिन्छ भन्ने बारेमा म भन्दा बढी जानकार हुनुहुन्छ ।

यो सवालमा म भारत र चीनको सीमा सम्बन्धमा विस्तारमा जान  चाहन्न ।

यो मेरो काम होइन ।

म यो विषयलाई सम्वोधन गर्ने क्रममा तपाइँहरूले अवलम्वन गरेको विधिको विरोधमा छु ।

चाउ एनलाई: हामीले पनि सीमाको उक्त घटनाबारे जानकारी पाएको धेरै भएको छैन ।

केन्द्रको अनुमति बिनानै स्थानीय अधिकारीहरूले उक्त कारवाही गरेका रहेछन् ।

साथै हामी भारतसँगको सीमानामा तीनवटा विवादका क्षेत्रहरूका बारेमा कुरा गरिरहेका छौँ ।

म फेरि भन्न चाहन्छु – पहिला उनीहरू सीमावारी आए , गोली चलाए ।

अर्को कुरा, चीनको कुनै पनि सरकारले म्याकमोहन रेखालाई मान्यता दिएको छैन ।

उदाहरणको लागि फिनल्याण्डले सोभियत सङ्घको सीमानामा आक्रमण गर्यो भने तपाइँहरू प्रत्याक्रमण गर्नुहुन्न ?

मिखाइल सुस्लोभ () तर फिनल्याण्डमा हाम्रो कुनै भौगोलिक दावी छैन ।

मार्शल चेन यी : तिब्बतमा विद्रोह भएपछि भारतमा धेरै  चीन विरोधी र कम्युनिस्ट विरोधी अभियानहरू संचालन गरिए ।

दिल्लीमा हाम्रो दूतावाश र कलकत्ताको हाम्रो महावाणिज्य दुतावाश बाहिर प्रदर्शनहरू  भए ।

हाम्रा नेताहरू  र चीन विरूद्ध नाराहरू लगाइए ।

हामीले त्यस्तो केही गरेनौ ।

चीनकालागि भारतीय राजदुतलाई  त्यस्तो कुनै अमैत्रीपूर्ण व्यवहार अनुभव हुने वातावरण बन्न दिएनौ ।

ख्रुश्चेभ: हाम्रा सोभियत राजदुतहरूले विदेशमा  तपाइँहरूले  भन्दा धेरै बढी  त्यस्तो कति बेहोरे कति ।

कतिपय सोभियत राजदुतहरू त मारिए पनि ।

१९१८मा सोभियत सङ्घमा एक जना जर्मन राजदुत मारिए ।

कुनै अवस्थामा सोभियत सङ्घ स्थित  पश्चिम जर्मन र अमेरिकी दुतावाशका झ्यालहरू फोरिए र त्यो हामीले नै गराएका थियौँ ।

चेन यी : नेहरूलाई आफ्नो पक्षमापार्न हामीले अवलम्वन गरेको तरिका तपाइँहरूले अवलम्वन गरेका अवशरवादी रणनीति भन्दा धेरै सफल र प्रभावकारी हुने छ ।

ख्रुश्चेभ: चेन यी, तपाईं विदेशमन्त्री हुनुहुन्छ र तपाइँले बोल्दा  तौलेर- जोखेर बोल्नु राम्रो हुन्छ ।

तपाइँले यो  कुरा एक्कासी भनेको लाग्दैन ।

कम्युनिस्ट पार्टीको शासन अन्तर्गत  हामी  आएको ४२वर्ष  भयो र ३० वर्षसम्म हामी एक्लै समाजवादी राष्ट्रको रूपमा रह्यौँ ।

हामीले हाम्रो सिद्धान्तमा कहिल्यै सम्झौता गरेनौ र इमान्दारीपूर्वक कम्युनिस्ट नीतिलाई अनुशरण गरिरह्यौँ ।

चेन यी: (अत्यन्त  उत्तेजित भएर र उतर्सिदै ) सोभियत सङ्घका हाम्रा मित्रहरूले पनि बुझ्नु पर्दछ   चीनियाँ जनता लामो समयसम्म दयनीय अवस्थामा रहे ।

दशकौँसम्म ब्रिटिस, अमेरिकी, फ्रेन्च र अन्य साम्राज्यवादीहरूको दमनको शिकार भएर रहे ।

हामी अहिले भारतसँगको द्वन्द्वलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न केही उपायहरू अवलम्वन गरिरहेका छौँ  ……  हामी समयको प्रतीक्षा पनि गरिरहेका छौँ ।

तपाइँहरूले हाम्रो नीतिलाई सही रूपमा बुझ्नु पर्दछ र हामी हाम्रो नीति सही  र दृढ  रहेकोमा विश्वस्त छौँ ।

ख्रुश्चेभ: अति वामपन्थलाई यसरी बुझौँ ।

हेर्नोस कमरेड चेन यी – यदि तपाइँ अति वामपन्थ तिर झुक्नुभयो भने दक्षिणपन्थ तिर पुग्नुहुन्छ ।

ओक वृक्ष एक दम मजबूत भएर खडा भएको देखिन्छ हुन्छ तर भाचिन्छ र ढल्छ ।

यो विषयमा हाम्रो अलग अलग बुझाई रहेकोले अव यो विषयलाई यहीँ विश्राम दिनु राम्रो होला भन्ने लाग्दछ ।

चाउ एनलाई: कमरेड ख्रुश्चेभ,  लाग्दछ कि भारतीयहरूलाई सीमानामा यो के भयो र कसरी भयो भन्ने थाहा छैन ।

लिन पियाओ: सोभियत सङ्घ र जर्मनीको फासिस्ट सत्तावीचको युद्धमा सोभियत सेनाले जर्मन सेनालाई सखाप पार्दै बर्लिन प्रवेश गर्यो ।

यसको अर्थ यो होइन कि युद्ध सोभियत सङ्घले शुरू गरेको थियो ।

ख्रुश्चेभ : यो कुरा मबाट होइन, एक लेफ्टिनेन्ट जनरलसँग कक्षा लिनुपर्दछ तपाइँले  ।

मिखाइल सुस्लोभ: कमरेड लिन पियाओ, तपाइँ बिल्कुलै तुलना गर्न नसकिने दुई विषयलाई तुलना गरिरहनु भएको छ ।

सोभियत सङ्घ र जर्मनीवीचको त्यो महान देशभक्तिपूर्ण युद्धमा लाखौँ लाख मानिसहरू मारिए — यहाँ त्यो युद्धलाई यहाँ यस्तो सामान्य सीमा विवादसँग ल्याएर जोडिरहनु भएको छ ।

चाउ एन लाई:  हिन्दुस्तानीहरू जहाँबाट चीनको सीमानामा प्रवेश गरेका थिए त्यहाँ बाट आफ्नो सेना फिर्ता लगेनन् ।

हामीले द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्यौँ र एक एक गरेर क्रमैसँग सवै समस्यालाई समाधानमा लैजान सकिने सुझाव राख्यौँ  ।

ख्रुश्चेभ: तपाइँहरूले जे गरिरहनु भएको छ त्यसमा हाम्रो विमति छैन ।

तर यो तपाइँहरू र हामीहरूवीच यो घटनाबारे मतभेद हुनु अघिको  कुरा हो ।

चाउ एनलाई: भारतीयहरूले यो सीमा अतिक्रमण अघि ४० वर्षसम्म चीन विरूद्ध प्रचारवाजी गरिरहे ।

सीमा अतिक्रमण गर्ने उनीहरू, पहिला फायर खोल्ने उनीहरू, तर पनि त्यस्तो स्थितिमा कसैले हामीलाई यो घटनाको लागि कसरी जिम्मेवार मान्न सक्दछ ?

ख्रुश्चेभ: हामी कम्युनिस्ट हौँ र उनीहरू नोहाज आर्क () जस्ता I र तपाइँ कमरेड  चाउ एन लाईले  यसलाई मैले जसरी नै बुझ्नुहुन्छ ।

मिखाइल सुस्लोभ :  नोहाज आर्क यस अर्थमा कि उनीहरूसँग हरेक जीवको कम्तीमा एक एक जोडा छ ।

पेङ्ग झेन ( हतारिएर र आक्रोश प्रदर्शन गर्दै ) सोभियत सङ्घले निशर्त इजिप्टका  राष्ट्रपति  गमाल नासेरलाई सहयोग उपलव्ध गरायो तर उनले विना कारण सोभियत सङ्घको विरोध गरे ।

यहाँ हामीले राष्ट्रिय बुर्जुवावर्गको प्रतिक्रियावादी चरित्रलाई ध्यानमा राख्नै पर्दछ ।

ख्रुश्चेभ : कसैले तपाइँहरूलाई भारतको  विरोध र आलोचना  नगर्नोस भनेको छैन तर गोली हान्नु र आलोचना गर्नु यौटै कुरा त होइन ।

पेङ् झेन : म्याकमोहन लाइन चीनको कुनै सरकारले पनि मान्यता नदिएको हाम्रा लागि अत्यन्त अस्वीकार्य  सीमा रेखा हो ।

ख्रुश्चेभ: हामी यहाँ तीन जना छौँ ।

तपाइँहरू नौ जना हुनुहुन्छ । र हरेक व्यक्ति उही कुरा दोहोर्याई -तेहोर्याई भनिरहनु भएको छ ।

कुनै नयाँ कुरा छैन ।

यसकारण यो विषयमा कुरा गर्नु बेकार हो ।

हामीले हाम्रो स्थितिबारे जानकारी गरायौँ । यसलाई कसरी ग्रहण गर्ने त्यो तपाइँहरू जान्नु होस् ।

माओ: भारतसँगको सीमा द्वन्द्व एउटा सामान्य सीमा विवाद मात्रै हो ।

यो दुई सरकार वीचको द्वन्द्व होइन ।

त्यहाँ के भएको थियो त्यसबारे नेहरूलाई पनि थाहा छैन ।

हाम्रो जानकारी अनुसार तिनीहरूको सीमा रक्षक दलले म्याकमोहन रेखा पार गर्यो I घटना घट्यो I र हामीले धेरै पछि मात्र त्यसको जानकारी पायौँ ।

हाम्रो तिब्बतमा रहेको सैन्य दललाई  पनि यो थाहा थिएन ।

जव नेहरूलाई आफ्ना सैनिकहरूले सीमाना पार गरेको जानकारी पाए उनले तिनलाई आफ्नो सीमा क्षेत्रमा फर्किने आदेश दिए I हामीले पनि शान्तिपूर्ण समाधानको लागि पहल गर्यौँ ।

ख्रुश्चेभ: सीमानामा अलिअलि झडपको स्थिति उत्पन्न हुने बित्तिकै तदारूकता देखाइएको भए यस किसिमको रक्तपातपूर्ण स्थिति उत्पन्न  हुने थिएन । साथै तपाइँहरूले हामीलाई घटना हुने बित्तिकै जानकारी नदिएर लामो समय सम्म त्यसै बस्नु भयो ।

लिउ शाओची: ६ सेप्टेम्बरमा मैले वेइजिङ्ग स्थित कार्यवाहक सोभियत राजदुत सर्गेई  एन्तोनोभलाई सीमाको वर्तमान परिस्थितिबारे जानकारी गराएको थिएँ । हामी आफै  त्यसबारे स्पष्ट नभई हतार हतार तत्कालै  तपाइँहरूलाई  जानकारी गराउने कुरा पनि भएन ।

चाउ एनलाई: मैले नेहरूलाई लेखेको पत्रको जानकारी तपाइँलाई प्राप्त हुनु अगावै तास घोषणा आयो ।

कमरेड एन्तोनोभलाई ९ सेप्टेम्बर अपरान्ह सो पत्र प्राप्त गराइएको थियो ।

एन्द्रेइ  ग्रोमिको: सोभियत सङ्घका लागि भारतीय राजदुतले मलाई बताए अनुसार चीनियाँ पत्रले परिस्थितिलाई शान्त गराउनुको स्थितिलाई झन् पछाडि धकेलेको  छ ।

पेङ्ग झेन: चीनको संसद सदस्यहरूले चीन-भारत सीमामा भएको झडपमा एउटा ठूलो दाजुले  वास्तवमा के ठिक  र के बेठिक भन्ने नबुझिकन नै चीन विरूद्ध र भारतको पक्षमा हुने गरी तासले गरेको चीनको कडा आलोचनाबारे सोधे ।

वाङ् साङ्: तर पहिला फायर गर्ने भारतीयहरू नै हुन, हामी होइनौ ।

ख्रुश्चेभ: हो हो,भारतीयहरूले पहिला गोली चलाए,

आफैँले आफूहरूलाई गोली हाने,अनि आफैँ मरे ।

हामी सम्झिन्छौँ, तपाइँहरूसँग आफ्नो विचार र दृष्टिकोण राख्नु हाम्रो कर्तव्य हो ।

हामी बाहेक कसैले तपाइँहरूलाई यस्तो भन्न सक्दैन ।

चाउ एनलाई : चीन र सोभियत सङ्घका कम्युनिस्ट पार्टीहरूवीच विवाद छन् र समाधानमा नपुगेका विषय पनि छन् ।

तर ती बाहिरियाहरू लक्षित हुनुहुन्न र हामी सधैँ सोभियत सङ्घसँग एकता र भातृत्व चाहन्छौँ ।

लिन पियाओ: भारतीयहरूले पहिला गोली हान्न शुरू गरे ।

१२ घण्टासम्म तिनीहरूले आफूसँग भएको सवै गोली नस्कियुञ्जेल फायर गरिरहे । यसलाई अलग तरिकाले बुझ्नु आवश्यक छ ।

उनीहरू हाम्रो भूभागमा आए हामीले फर्किन वाध्य बनायौँ ।

माओ :  र त्यो स्थानीय सैन्य स्तरमा भयो ।

लिन पियाओ : माथिबाट उनीहरूलाई त्यस्तो कुनै आदेश थिएन ।

माओ: हामीले दलाई लामालाई रोक्न सकेनौ ।

भारतसँगको त्यति लामो सीमानामा उनी जताबाट पनि भारत छिर्न सक्थे ।

सुस्लोभ : तपाइँहरूले  उनको उद्देस्य र गुप्त योजनाबारे थाहा पाउनु पर्थ्यो ।

माओ: हामीले तिब्बतमा  प्रतक्ष शासनगर्न  चार वर्ष ढिलो गर्यौँ ।

ख्रुश्चेभ : र गल्ती त्यहीँ भयो ।

माओ: ढिलो गरौँ भन्ने निर्णय गरियो । दलाई लामा भागिहाले । पहिला नै आक्रमण गरिहाल्न र तिब्बतलाई प्रतक्ष नियन्त्रणमा लिइहाल्न देखाउने कुनै कारण पनि थिएन ।

हामी यहीँ  फस्यौँ । र तपाइँहरू हाम्रो स्थिति बुझ्न सक्नुहुन्न ।

पछि तपाइँ देख्नुहुनेछ हामी म्याकमोहन लाइनलाई  मान्यता दिनेछौँ र भारतसँगको सीमा सम्बन्धी द्वन्द्व र विवाद अन्त्य हुने छ ।

ख्रुश्चेभ: यो राम्रो कुरा हो । तर सवाल यो र त्यो रेखा भन्ने होइन ।

हामीलाई यसबारे जानकारी पनि छैन र जानकारी लिन पनि चाहन्नौ ।

माओ: भारतसँगको सीमा विवाद वार्ताद्वारा नै हल गरिने छ ।

ख्रुश्चेभ: हामी यो विचारको स्वागत गर्दछौँ ।

२२ जनवरीका दिन हामीले नेहरू समक्ष सीमा सम्बन्धमा वार्ताको प्रस्ताव राख्यौँ । उनीहरूले अस्वीकार गरे । अहिले आएर नेहरू वार्ताकोलागि राजी छन् ।

माओ: तपाइँहरूले हामीलाई दुई आरोप लगाउनु भएको छ – भारतसँगको द्वन्द्वमा दोषी हामी हौँ र दलाई लामाको भारत निर्वाशनमा  हामी जिम्मेवार छौँ र हाम्रा गल्तीले यसो भयो ।

बदलामा हामी पनि तपाइँहरूलाई अवशरवादी  भन्न चाहन्छौँ ।

ख्रुश्चेभ: हामी यसलाई अस्वीकार गर्दछौँ ।

हामी सिद्धान्तनिष्ठ कम्युनिस्ट आचरणलाई पालना गर्दछौँ ।

माओ: तास घोषणाले साम्राज्यवादीहरूलाई खुशी पार्यो ।

मिखाइल सुस्लोभ : कुरा चाँही ठिक विपरित भयो ।

उक्त घोषणा र हालैका कदमहरूले स्थितिलाई शान्त गराउन योगदान पुर्याएका छन् । भारत र चीनवीच सम्बन्ध बिग्रदैं गएको भए  मात्र साम्राज्यवादीहरू खुशी हुने थिए ।

हाम्रो जानकारी अनुसार सीमामा द्वन्द्व लगत्तै अमेरिकीहरूले नेहरूलाई भेटेर आफ्नो सहयोगको आश्वासन दिएका थिए ।

हाम्रो कदमले प्रतिक्रियावादीहरूको उत्साहमा चीसो पानी  पो खन्याइदियो ।

लिन पियाओ: मूल सवाल कसले पहिला फायर गरेको हो भन्ने हो , पहिला को मारियो भन्ने होइन ।

चाउ एनलाई: हाम्रा सोभियत मित्रहरूको विवेकमा चोर घरमा पस्यो  र घरधनीले उस्लाई कुटेर लखेट्यो भने घरधनी दोषी हो ।

ख्रुश्चेभ: किन तपाइँहरू हामीलाई आलोचना गर्न सक्नुहुन्छ भने तपाइँहरूको ठूलो दाजुले  चाँही तपाइँहरूको क्रियाकलापबारे समीक्षा गर्न पाउँदैन ?

एउटा बैठकमा कमरेड युडिन र माओले सोभियत कम्युनिस्ट पार्टीको कठोर आलोचना  गर्नुभयो, हामीले त्यसलाई स्वीकार गर्यौँ ।

चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ काङ्ग्रेसमा सोभियत नेता अनास्तास मिकोयानले बोल्दाबोल्दै तपाइँ  विरोध जनाएर उठेर हिड्नु भयो ।

 कमरेड मिकोयान पनि बैठक छोडेर हिड्नु भयो ।वास्तवमा म पनि अहिले आफ्ना सुटकेसहरू बोकेर हिड्न सक्छु । तर म त्यसो गर्दिन ।

जब हंगेरीको चुनौती आयो , कमरेड  चाउएनलाई  हामी कहाँ आउनुभयो र लेक्चर पिलाउनु भयो । बिसर्बिया () र बाल्टिक मुलुकहरूको स्थितिको लागि हामीलाई दोष लगाउनु भयो ।

हामीले उहाँको सवै कुरा सुन्यौ ।

यसको अर्थ तपाइँहरू हाम्रा क्रियाकलापहरूको समीक्षा गर्न सक्नुहुन्छ, आलोचना गर्न सक्नुहुन्छ तर हामी चाँही सक्दैनौ ?

जब तपाइँहरूको पार्टी काङ्ग्रेसमा भाग लिएर   सोभियत कम्युनिस्ट पार्टीका नेताहरू फर्किनु भयो उहाँहरूको मूल्यांकनमा विश्वको समाजवादी राष्ट्रहरूको नेतृत्व सोभियत सङ्घले गरेको छ तर तपाइँहरू सोभियत कम्युनिस्ट पार्टीलाई त्यो सम्मान दिन सकिरहनु भएको छैन ।

तपाइँहरू  जसरी हामीहरूसँग कुरा गरिरहनु भएको छ   के त्यसले तपाइँहरूको  अति  दम्भलाई प्रदर्शन गर्दैन ?

माओ: हामीले तपाइँहरू समक्ष आफ्ना कुरा  आत्मविश्वासका साथ प्रष्टसँग राख्यौँ  I तपाइँहरूले पनि त्यसैगरी राख्नुभयो  ।

तर जब तपाइँहरू  सार्वजनिक रूपमा  आपसी  सम्बन्धका  कुराहरू राख्नु हुन्छ तिनलाई हामी ठिक मान्दैनौ ।

ल्यु शाओची: हामीले कहिल्यै पनि हाम्रा मतभेद अरूलाई  बताएनौ अन्य मुलुकका आफ्नै भातृ  पार्टीहरूलाई समेत बताएनौ ।

ख्रुश्चेभ यो ठिक हो, राम्रो हो ।

तपाइँहरूका कुरा हामीले सुन्यौँ, अव हाम्रा कुरा सुन्नुहोस र तपाइँहरूले सुन्नै पर्दछ र हामी माथि लगाएको आरोप फिर्ता लिनै पर्दछ ।

 अन्यथा हामीले हाम्रा पार्टीगत सम्बन्धलाई समाप्त भएको मान्नुपर्दछ ।

हामी तपाइँहरूका मित्र भएकाले सत्य बोल्नै पर्दछ ।

हामीले अहिलेसम्म कसैसँगको र आफ्ना मित्रहरूसँगको संबन्धमा पनि अवशरवादिता प्रदर्शन गरेका छैनौ ।

चेन यीतर तपाइँहरू हाम्रै घरमा आएर भारतसँगको सम्बन्धलाई बिगार्नमा  र दलाई लामालाई भाग्न दिनमा हाम्रो गल्ती देखाएर अवशरवादिता नै प्रदर्शन गरिरहनु भएको छ ।

ख्रुश्चेभ : यी दुवै बिल्कुलै फरक कुरा हुन् ।

तपाइँहरूको ध्यान नपुगेको के  कुरा म स्पष्ट पार्न चाहन्छु भने मैले तपाइँहरू माथि कुनै सैद्धान्तिक राजनीतिक आरोप लगाएको छैन तर तपाइँहरूले स्पष्टसँग राजनीतिक आरोप लगाइरहनु भएको छ ।

कमरेड चेन यी, यदि तपाइँ  हामीलाई अवशरवादी सम्झिनु हुन्छ भने हामीसँग मित्रताको हात अघि नबढाउनु होला, हामी त्यसलाई स्वीकार गर्दैनौ ।

चेन यी: हामी पनि ! मैले तपाइँलाई भन्नै पर्दछ तपाइँ रिसाउनु भयो भन्दैमा म डराउने मानिस पनि होइन ।

ख्रुश्चेभ: मार्शलको  सैनिक पदवीको हैसियत छ भन्दैमा आकाशमा पुगे जस्तो गरेर अरूलाई थुक्नु हुन्न भन्ने कुरा बुझ्दा जाती होला ।हुँदा हुँदा थुक सकिएर मुख सुक्ला  त्यसबाट हामी डग्ने वाला छैनौ। ……. ।

माओ : (स्थिति सम्हाल्न खोज्दै)  चेन यीले भनेका कुरालाई सामान्यीकरण गर्नु जाती नहोला ।……।  ”()

भारत चीन सम्बन्धमा सोभियत सङ्घ र अमेरिकावीचको सम्बन्धको असर

अब फेरि माथिको सोभियत र चीनियाँनेताहरू माझको वार्ता अघि उल्लेखित सन्दर्भलाई जोडौं –

त्यसैले कोरिया र भियतनाममा चीनले अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई  चुनौती दियो र भारतमाथि आक्रमण गरेर तेस्रो विश्वको नेता बन्ने नेहरूको सपनालाई चकनाचुर मात्रै पारेन, ठूला राष्ट्रिय चुनौतीहरू माझ  असंलग्नताको खोक्रो आदर्शको अर्थहीनतालाई सावित गर्यो ।

माओको  चीन एकैसाथ विश्व व्यवस्थाको नेतृत्व  गरिरहेको अमेरिकालाई,  समाजवादी विश्वको नेतृत्व गरिरहेको सोभियत सङ्घलाई र तेस्रो विश्वका मुलुकहरूलाई नेतृत्व गरिरहेको भारत र नेहरूलाई एकैसाथ चुनौती दिइरहेको थियो ।

अनि चीनसँगको सवालमा  अमेरिका र सोभियत सङ्घ दुवै विश्व शक्तिहरू भारतलाई आफ्नो पक्षमा राख्न गहन कूटनीतिक प्रयत्न गरिरहेका थिए ।

माथिका वार्ताहरूले पनि स्पष्ट पारेका छन् – चीन सोभियत सङ्घलाई अवशरवादी र संसोधनवादी  र चीन र भारत वीचको द्वन्द्वमा  भारतको बुर्जुवा शासनको पक्षमा उभिएर कम्युनिस्टहरूको भातृ-राज्य विरूद्ध काम गर्ने र  परोक्षरूपमा अमेरिका लगायतका साम्राज्यवादी शक्तिहरुकोलागि  काम गरिरहेको आरोप लगाइरहेको थियो ।

एकैसाथ, अमेरिका र सोभियत सङ्घ भारतको निकट हुँदा क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलन आफ्नो विपक्षमा हुने र त्यो चीनको  कम्युनिस्ट शासनको लागि खतरनाक हुने देखेर चीन सोभियत सङ्घ  र भारतको बढ्दो निकटतालाई अन्त्य गर्न चाहन्थ्यो ।

१९५९ मा भारत र चीन वीच सीमा द्वन्द्व हुँदा सोभियत सङ्घ प्रष्ट रूपमा भारतको पक्षमा रहेको देखियो ।

१९५९ मा नै क्युबा लागायत दक्षिण अमेरिकाका केही मुलुकमा साम्यवादी शासन स्थापना भयो ।

सुरूमा क्युबाका क्यास्ट्रोको अमेरिकासँगको सम्बन्ध राम्रै थियो,  तर १९६०मा आइपुग्दा क्युबा र सोभियत सङ्घ निकै नजिक भइसकेका थिए ।

सेप्टेम्बर १९६०मा राष्ट्र संघ महासभामा भाग लिन सोभियत नेता ख्रुश्चेभ र क्युबाका नेता फिडेल क्यास्ट्रो दुवै पुगे ।

दुवैजना नेताहरूका वीच लामो वार्ता भयो ।

ख्रुस्श्चेभले राष्ट्र सङ्घ  महासभामा साँढे चार घण्टा धुँवाधार भाषण गरे ।

भाषण मूलतः अमेरिका विरूद्ध थियो ।

तर त्यसपछि  क्युबाको सोभियत सङ्घसँगको सम्बन्धमा निकै घनिष्टता आयो I अमेरिकासँगको सम्बन्ध चीसो हुँदै गयो ।

जनवरी १९६१मा आएर अमेरिकाले क्युबासँगको कूटनीतिक सम्बन्धलाई अन्त्य गर्यो ।

लगत्तै अप्रिलमा क्युबाका बिद्रोहीहरू मार्फत  क्यास्ट्रोको सत्ता पल्टाउन असफल प्रयास गर्यो ।

सम्बन्ध तीक्ततापूर्ण हुँदै गयो ।

क्युबामा सोभियत सङ्घले आक्रामक र प्रतिरक्षात्मक क्षेप्याश्त्र प्रणालीहरू तैनाथ हुँदै गरेका समाचारहरू आइरहेका थिए ।

अमेरिकाले त्यसका विरूद्ध कडा चेतावनी दिइरह्यो ।

अक्टोबर १४, १९६२मा अमेरिकीहरूले त्यस्तो क्षेप्याश्त्र प्रणाली तैनाथ गरिँदै गरेको तस्वीर अमेरिकाको जासूसी विमानले खिच्यो र त्यसको एक सातापछि अक्टोबर  २२मा अमेरिकाले क्युबाको वरिपरी जल नाकाबन्दी गर्यो ।

सोभियत सङ्घ क्युबा सवालमा अमेरिकासँग  ठूलो तनाव, द्वन्द्व  र  झन्डै युद्धको  स्थितिमा रहेकै बेलामा चीनले भारतमाथि आक्रमण गर्यो ।

१९५९ मा सीमामा सानो झडप हुँदा र त्यस झडपमा नौ जना  भारतीय सीमा रक्षकको निधन र अन्य  केही बन्दी बनाइदा सोभियत सङ्घ भारतको पक्षमा उभियो I चीन र सोभियात सङ्घका सर्वोच्च तहका नेताहरू माझ त्यो स्तरको तनाव रहेको थियो ।

तर १९६२मा  १९५९को भन्दा धेरै  ठूलो युद्ध भयो ।

चीनतर्फ सात सय जति भारततर्फ ३२५० मारिए ।

चार सय बन्दी बनाइए ।

दुवै तर्फ गरेर तीन हजार जती गम्भीररूपमा घाइते भएका थिए  अक्साई चीनको ४३ हजार बर्ग किलोमिटर क्षेत्र चीनले भारतबाट खोसेर लियो ।

तर यो युद्धमा चाँही सोभियत सङ्घ तटस्थ रह्यो ।

उता अमेरिकासँग झन्डै युद्धको स्थितिमा रहेको बेलामा ऊ चीनसँगको संबन्धमा तनाव थप्न चाहदैनथ्यो ।

त्यति मात्र होइन, के प्रष्ट हुन्छ भने सोभियत सङ्घको क्युबामा बढ्दो सैन्य उपस्थिति बढ्दै गर्दा र उसको अमेरिकासँगको सम्बन्धमा तनाव थपिँदै जाँदा सोभियत सङ्घ भारतको पक्षमा उभिन सक्दैन भन्ने रणनीतिक निष्कर्ष निकालेर चीनले त्यो अवशरलाई भारतसँगको युद्धको तयारीमा लगायो र क्युबा सङ्कट चरम स्थितिमा पुग्दा भारतमाथि आक्रमण गर्यो ।

उता क्युबा सङ्कट साम्य भयो, यता चीनले भारत विरूद्धको युद्धलाई विराम दियो ।

सन्दर्भ सामग्री र स्रोत

(१) केशवप्रसाद भट्टराई – चीन, अमेरिका र भारतको रणनीतिक द्वन्द्व त्रिकोण (देश सञ्चार ,भदौ ८, २०७८)

अकस, क्वाड र इन्डो प्यासिफिकको सेरोफेरो (देश सञ्चार, असोज ११, २०७८

(२)  हाउ माओ एण्ड ख्रुश्चेभ फट ओभर चाइना -इन्डिया बोर्डर डिस्प्युट , डक्युमेन्ट  नं ३ मेमोरेन्डम अफ कन्भर्सेसन अफ एन. एस. ख्रुश्चेभ विथ माओ जे दोङ्ग, बेइजिङ् २ अक्टोबर १९५९. शीर्षक अन्तर्गतको उपरोक्त वार्तालापको  अभिलेख एस. ए. एन्तोनोभ र आर. कुदासेभद्वारा अक्टोबर ३, १९५९मा हस्ताक्षरित भई  रूसी राष्ट्रपतिको राष्ट्रिय अभिलेखालयमा रूसी भाषामा रहेको उक्त सामग्रीलाई कोल्ड वार इन्टरनेसनल हिस्ट्री प्रोजेक्टको लागि भ्लाडिसलाभ एम. जुकोव द्वारा अंग्रेजीमा अनुवादगरी  अमेरिकाको लाइब्रेरी अफ काङ्ग्रेसको अभिलेख शाखामा रहेको छ ।

उपरोक्त वार्ता वुड्रो विल्सन इन्टर नेसनल सेन्टर फर स्कलर्स , वाशिंगटन डि.सी. : कोल्ड वार इन्टरनेसनल हिस्ट्री प्रोजेक्ट बुलेटिन फल/ विन्टर २००१ – दी इन्ड अफ कोल्ड वार,पृष्ठ २६५-२६९ मा समावेश छ ।

(३)सोभियत सङ्घको कम्युनिस्ट पार्टीको तर्फबाट सो घटनाको विरोध गरिएको विज्ञप्ति सोभियत समाचार सँस्था तासमा प्रकाशित भएको सन्दर्भ

(४)अत्यन्त क्रूर र बर्बर शासकको रूपमा चिनिएका मात्यास राकोसी  (१८९२-१९७१) हंगेरीका कम्युनिस्ट पार्टीका महासचिव र प्रधानमन्त्री थिए I सोभियत सङ्घकै समर्थन र सहयोगमा सत्तामा पुगेका उनको क्रूरता र बर्बरताले सीमा नाघे पछि सोभियत सङ्घले नै उनलाई हट्न र निर्वाशन मा जान वाध्य बनाएको थियो ।

(५)एचटीटीपी:// डिजिटल अर्काइभ डट  विल्सन सेन्टर डट  ओआरजी/ डक्युमेन्ट/ १७५९५९ ।

(६) ख्रुश्चेभ पछिका सोभियत कम्युनिस्ट पार्टीका दोस्रा ठूला नेता र सोभियत सङ्घका मूल नीति निर्माता र नीति निर्धारक ।

(७) प्राचीन पश्चिमी धार्मिक मान्यता अनुसार हजारौँ वर्ष अघि पृथ्वीमा हिंसा, भ्रष्टाचार र अन्य पापहरू बढ्दै गए पछि भगवानले नोहालाई एउटा विशाल जहाज बनाउने आदेश दिनुभयो ।

त्यस्तो जहाज  बन्यो I ईश्वरको आदेश अनुसार  नोहाले आफ्ना सवै परिवार र शाखा सन्तान अनि आफूलाई आवश्यक जीव जन्तुलाई जहाजमा राखेपछि  ठूलो जल प्रलय भयो ।

नोहाको जहाजमा बसेका मानिस र जीवजन्तु बाहेक सबै मानिस र जीवजन्तुको मृत्यु भयो I त्यस पछि प्रलय शान्त भयो । नोहाको जहाजमा रहेका मानिस र जीवजन्तुबाट पुन: नयाँ सृष्टि आरम्भ भएको मानिन्छ ।

(८) युक्रेनको दक्षिणमा रहेको र हाल मोल्दाभिया अन्तर्गत रहेको प्रदेश ।

(९) ख्रुश्चेभको आत्मकथा – ख्रुश्चेभ रिमेम्बर्स : दी लास्ट टेस्टामेन्ट (१९७४)  अनुवाद र सम्पादन स्ट्रोब ट्याल्बोट (लिटिल ब्राउन एण्ड कम्पनी, बोस्टन -टोरन्टो) पृष्ठ ३०६-३११मा पनि माथिको वार्ताको सन्दर्भलाई प्रष्ट पारिएको छ ।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्