भक्तपुर- भक्तपुर जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सकहरु संगठित भएका छन्। हाल जिल्लामा कार्यरत करिब एक सयजना सरकारी तथा गैरसरकारी चिकित्सक संगठित भई भक्तपुर डाक्टर्स वेलफेयर सोसाइटी गठन गरेका छन्।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक डा सञ्जीतकुमार शाहको अध्यक्षमा उक्त सोसाइटी गठन गरिएको हो। जसको वरिष्ठ उपाध्यक्षमा भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक डा उज्ज्वल चालिसे रहेका छन्।

उपाध्यक्षमा भक्तपुर अस्पतालका चिकित्सक सुरज धौभडेल र महासचिवमा भक्तपुर क्यान्सर अस्पतालकै चिकित्सक डा राजीव शाह रहेका छन्। त्यस्तै सहसचिवमा डा निर्मल श्रेष्ठ, कोषाध्यक्षमा डा निर्मल बुढाथोकी र सहकोषाध्यक्षमा रनजीस पहाडी छन्। कार्य समिति सदस्यहरुमा भने चिकित्सकहरु क्रमशः डा मधु पाण्डे, डा मनिष राय, डा अरफान आजाद, डा राजन शाह, डा आनन्दबाबु ढकाल, डा. उमेश खाइतू, डा अम्बिका आचार्य र डा तपस्या भुसाल रहेका छन्।

भक्तपुर डक्टर्स सोसाइटी गठन भएको घोषणा गर्दै नेपाल मेडिकल एसोसियसनका महासचिव डा बद्री रिजालले सोसाइटीको स्थायित्वको लागि एसोसियसनले हर सम्भव सहयोग गर्ने वचन दिए।

उनले नेपालमा पछिल्लो समय चिकित्सकमाथि आक्रमण हुने तथा स्वास्थ्य संस्थामा तोडफोड हुन थालेकोमा चिन्ता व्यक्त गर्दै यस्ता उच्छृंखल गतिविधिले चिकित्सकहरु असुरक्षित हुन थालेको बताए।

तर चिकित्सकहरुको सुरक्षा गर्न जुनसुकै कदम चाल्न एसोसियसन प्रतिबद्ध रहेको महासचिजव डा रिजालले स्पष्ट पारे।

उनले स्वास्थ्य संस्था र चिकित्सकको सुरक्षा गर्ने पहिलो दायित्व सरकार र सम्बन्धित निकाय भएकोसमेत औंल्याए।

भक्तपुरका वरिष्ठ चिकित्सक डा इन्द्रप्रसाद प्रजापतिले भक्तपुरमा चिकित्सकहरुको संघसंस्थामात्रै खुल्ने तर एकदुई वर्षपछि बिलाएर जाने प्रवृत्ति रहेको भन्दै नवगठित सोसाइटीलाई कामै गरेर देखाउन सुझाव दिए।

‘भक्तपुरमा संघसंस्था खुल्छ’, उनले भने, ‘तर कामै हुँदैन। एकदुई वर्षमै कता जान्छ जान्छ।’

नवगठित सोसाइटीका अध्यक्ष डा. शाहले जिल्लाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुबीच पेशागत भाइचारा अभिवृद्धि गर्दै आफ्नो हकहितको लागि आवाज बुलन्द गर्न सोसाइटी गठन गरिएको जानकारी दिए।

सोसाइटीका वरिष्ठ उपाध्यक्ष डा चालिसेले विभिन्न अस्पतालबीच सहकार्य र समन्वय गर्दै बिरामीहरुको सहज उपचार व्यवस्थापन गर्नु सोसाइटीको प्रमुख उद्देश्य रहेको जानकारी दिए। उनले असहाय एवं गरिब बिरामीको उपचार गर्न सोसाइटीले सहायता कोषसमेत सञ्चालन गरिने बताए।

‘सोसाइटीमा जिल्लामा रहेका सरकारी तथा गैरसरकारी सम्पूणर् अस्पतालका चिकित्सकहरुलाई संगठित गर्ने हाम्रो उद्देश्य रहेको छ’, डा चालिसेले भने, ‘त्यस्तै चिकित्सकहरुको शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्र्धन हुने कार्य पनि गर्छौं।’

संस्थाका उपाध्यक्ष डा धौभडेलले सोसाइटीले स्वास्थ्योपचारसम्बन्धी नियमित शैक्षिक गतिविधिसमेत सञ्चालन गर्ने जानकारी दिए।

सोसाइटी घोषणासँगै दसैँको शुभकामना आदानप्रदान गरिएको कार्यक्रममा संस्थाका सचिव डा राजीव शाह, भक्तपुर क्यान्सर अस्पतालका सर्जन डा उत्सवमान श्रेष्ठलगायतले चिकित्सकहरु व्यवसायिक एवं पेशागत रुपमा एकजुट हुनु अहिलेको आवश्यकता भएको धारणा राखे।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्