घाइते प्लम्बरलाई मंगलमको ५० हजार सहयोग

काठमाडौँ – सीपीभीसी पाइप्स तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इण्डष्ट्रिज प्रालिले धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रुपैयाँको औषधि खर्च प्रदान गरेको छ।

विगत १५ वर्षदेखि प्लम्बिङ क्षेत्रमा काम गर्दै आइरहेका चौधरी भाद्र ११ गते काम गरिरहेकै अवस्थामा करेन्ट लागि तेस्रो तल्लाबाट खसेर घाइते भएका थिए। लामो समयदेखि मंगलम पाइप्सको प्रयोग गर्दै आइरहेका घाइते चौधरीको उपचार खर्चको लागि कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व सेवाअन्तर्गत उपचारमा सहयोग उपलब्ध गराएको हो।

मंगलम इन्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक अभिनव चुरिवालले आफ्ना कर्मचारीहरू कम्पनीको लागि गर्वको पात्र तथा कम्पनीको शक्ति भएको उल्लेख गरे।

मंगलम पाइप्सले आफ्ना कर्मचारी र प्लम्बरहरुलाई सकेको सेवा प्रदान गरी उनीहरुलाई दुःख परेको बेलामा सधैँ सहयोगको हात अघि बढाउने कम्पनी भएको उनको भनाइ छ। ‘विभिन्न कठिन अवस्थामा पनि आफ्नो सेवा प्रदान गर्दै आइरहेका हाम्रा कर्मचारीहरुको प्रयासलाई हामी व्यर्थ जान दिँदैनौं’, प्रबन्ध निर्देशक चुरिवालले भने, ‘किनकि उनीहरुलाई दुःख परेको बेला साथ दिएमात्रै सम्पूणर् कम्पनीको भलो हुन्छ।’

उनले मंगलम इन्डष्ट्रिज प्रालि सामाजिक उत्तरदायित्व निर्वाह र वातावरण संरक्षणमा पनि सदैव क्रियाशील रहने बताए।

मंगलम इन्डष्ट्रिज नेपालको पहिलो सीपीभीसी पाइप फिटिङ्स उत्पादक तथा पोलिमर पाइपिङको अग्रणी उत्पादक तथा निर्यातकर्ता कम्पनी हो।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्