नियात्रा

च्छो रोल्पा, बुकीफूल र यात्रा !

मलाइ हिँड्न सार्है मनपर्छ। म रहर मात्रै गर्दिन, हिँड्छु पनि। हिँड्न पाएकैले म आफूलाई गतिशील अनुभूति गर्छु। मानिसहरूको सभ्यता नै हिँडेर गतिशील बनेको छ। मानिसहरु एकैठाउँमा कैले स्थिर  भएर बसेनन्, उनीहरु विविध उद्देश्यले हिँडीरहे। म पनि तिनै मानव पूर्खाको एक अंश न हुँ; उसैपनि यायावरहरूको धर्म हिँड्नु हो। यसपल्ट हिँड्दा हिँड्दै च्छो रोल्पा पुग्ने चाहना आइपुग्छ।

च्छो रोल्पा हिमतालबारे हाजिरीजवाफ पढ्दाताका देखि अब यो ताल फुट्छ रे भन्ने हिसाबले ज्यादा सुनियो, त्यसले मनमा अत्याँस लगाउँथ्यो। नाम यसरी मनमा गढेर बसेको थियो। कत्तिलाई त नाम नौलो लाग्दो रहेछ।च्छो रोल्पा यात्रा तय गर्ने भनेपछि बेग्लै उत्सुकता र रोमाञ्चकताले ठाउँ लिएको थियो।

मन कौतुहुलताको बादलले ढाकिएको थियो, त्यो उघार्न मैले हिँड्नै पर्थ्यो ! बुद्ध भन्छन्- “लक्ष्यसम्म पुग्न व्यक्ति आफै हिँड्नुपर्छ। आफू नहिँडी लक्ष्यमा पुऱ्याइदिने कुनै चमत्कारी तत्त्व हुँदैन। पुस्तकको अध्ययन, प्रवचनको श्रवण, विद्वान्‌ व्यक्तिको सङ्गत आदिबाट सही मार्ग जान्न त सकिन्छ, तर त्यस मार्गमा आफूलाई नलगाई गन्तव्यमा पुग्न सकिँदैन।”

संयोगको भेट !

अक्टोबर क्रान्तिको बिदा नजिकिँदै थियो, एउटा यात्रा कता जुराउने होला भनेर मथिङ्गलमा मथिँदै थियो। कताकता च्छो रोल्पा जाने बारे सोचियो। धेरै यात्रा सङ्गै गरेका भाइहरुको परीक्षा परेकाले मसङ्ग रिठ्ठे भाइ मात्रै भए। पहिलो दिन हामी कोटेश्वरबाट छेतछेतका लागि गाडी चढ्न भनेर बिहानै दिदीकोबाट निक्लियौं। झन्डै ६ बज्न आँटिसकेको थियो। गाडी खोज्न थालियो। वरपर अन्य रूटका सहचालकहरूले छुटेको संकेत दिए। यत्तिकै मा म तल चिया खाइरहेका दाइहरुभएको ठाउँमा पुग्छु। “छेतछेत पुग्ने गाडी गैसकेको हो र?” मैले सोधेँ। “पख भाइ म फोन गरेर बुझुम्ला।”

ती दाइले यसो भनेर फोन घुमाउन थाले। नभन्दै गाडी लोकन्थलीमा भएको कुरो बुझियो। एकैछिन रोकिने जानकारी पाएपछी हामी ट्याक्सी चढेर पुग्यौं। भाइ र म छेतछेतसम्म पुग्ने गाडी पाएकाले खुशी पनि भयौं र लास्टमा दुई सिट पायौं। लगत्तै त्यहाँबाट गाडी हिँड्यो। तामाङ सेलो गीत बजिरहेको थियो, बाहिर सिमसिम पानी परिरहेको थियो, कोही निदाइरहेका थिए, कोहि गफिँदै थिए, माहोल आफ्नै किसिमको थियो। म पनि झुपु झुपु निदाउँदै, उठ्दै थिएँ। दोलालघाटबाट उकालो लागेपछी विशाल पहाडी पृष्ठभुमिहरुमा कुहिरोसङ्गको लुकामारी चियाउँदै दृश्यको आनन्द लिँदै थिएँ। झण्डै साँढे ६ घन्टाको बस यात्रा पछि चरिकोट पुगियो। चरिकोटको हावापानी गज्जबको लाग्यो। खाना खान बस रोकियो र खाना खाइवरी बस फेरि छेतछेतका लागि निस्कियो। बसमा भेटिए सुनखानीका प्रेमलाल शिवाकोटी जो शिक्षक पनि हुनु हुँदो रहेछ।

विविध ठाउँबारे बताउँदै, चिनाउँदै जानुभयो। परिचयको क्रममा मेरा साथीहरू पनि उहाँले पढाएका स्कूलबाट नै एसएलसी उत्तीर्ण भएको चाल पाइयो। सुनखानी आएपछि प्रेम सर झर्नुभयो। पहाडहरु हेर्दै जाँदा दृश्यले बडो तानिरहेका थिए। बस सिंगटीमा पुगेर रोकियो, हामीले त्यहाँ गएर चिया पियौं। भोर्लेको झरनामा केही बेर रोकिएर तस्बिर खिच्यौं र तामाकोसीको तिरैतिर हामी सांढे ३ बजेको आसपास छेतछेत पुग्यौं। छेत्छेत झन्डै १४१० मि को उचाइमा रहेछ, त्यहाँ एउटा मात्र पसल र होटेल थियो। हामी सङ्गै अरू ३ पदयात्रीहरू पनि झरे, परिचय पनि गरियो।

हामी दुई विद्यार्थी, उनीहरुले तीन जागिरे ! अब हामी ५ भयौं। यत्ति भएसी यात्रा पनि सजिलो हुनेछ भन्ने सोचियो। सुर्मुचे तिर भालु आतंक बारे सुनेको कथाले बेला बेला झस्काउनाले पनि कोही साथी भेटे हुन्थ्यो भन्ने लाग्थ्यो, संयोगले भेट पनि जुर्यो यी ३ मित्रहरुसङ्ग। खाजा खाएर हामी सिमिगाउँको लागि हिँड्यौं। तामाकोसी तरेर झन्डै २ घन्टाको ठाडो उकालो चढेर हामी सुन्दर गाउँ सिमिगाउँमा पुग्यौं। त्यो रात मितिनी होटेलमा गएर बस्यौं। सिमिगाउँ झन्डै २००० मि को उचाईमा रहेछ। छरिएको बस्ती तर सुन्दर गाउँ, शेर्पा र तामाङ जातीले श्रिङ्गारिएको बस्ती पनि। रातको खाना खाएर हामी बिस्तारामा पल्टियौं।

दोस्रो दिन सबेरै निस्कने योजना थियो तर बिहान पानी ठूलो परेकोले हामी सबेरै उठेनौं। हामी सबै चिया र खाजा खाएर १० बजे त्यहाँबाट निस्कियौं। आकाश बादलले ढाकिएको थियो, पहाड कुहिरोले ढाकिएको थियो, र हामी सिमसिम पानीमा भिज्दै यात्रामा लम्किरह्यौं। सबैले निलो प्लास्टिकको ओढाउ ओडेका थियौं। सिमिगाउँबाट उकालो लागेर जुकाको प्रिय साथी बन्दै हामी लम्किरह्यौं र उत्तिसे(२०६५ मि) हुँदै सुर्मुचे पुग्यौं।

सुर्मुचे(२४८० मि) मा एउटा मात्रै होटेल रैछ तर सफा र सुन्दर थियो। यात्राको क्रममा रातको मात्रै खाना खाने हाम्रो रुटिन अनुरूप भाइ र मैले चिया र रारा चाउचाउको सूप खायौं। साथीहरू ३ जनाले खाना खाए। सामान बोकेर आएका दाइहरू देखि हिमाल चढ्न आएका स्पेनिश पर्वातोरोही सबै त्यहीँ जम्मा भएका थिए। सिमसिम पानी पर्न रोकिएको थिएन। यसपछी हामी क्याल्चे पुग्यौं। क्याल्चे पुगेर कालो चिया खायौं, होटेलवाला दिदीसङ गफियौं। केही बेर पछि डोदाङको लागि लम्कियौं।

रोल्वालिङ खोलाकै किनार छेउ देखिएको २ घरहरु क्याल्चेभन्दा केही परबाट सुन्दर देखिन्थ्यो। यसले मलाई हाम्रै घरको झलझल्को दियो, हाम्रो हेलम्बु उपत्यकाको सानो अंशको यादलाई झल्याँस्स बिम्झायो। सिमसिम पानी रोकिएको थिएन, न त जुका आतङ्क नै। समसाँझ हुँदै गर्दा हामी डोदाङ पुग्यौं। डोदाङमा छिरिङको होटेल परिचित रैछ। आगो ताप्दै केही बेर अगेना छेउ बसेर गफियौं। भित्र स्पेनीस पर्यटकहरू थिए। विविध विषयमा गफियौं। “नेपालीमा गुडनाइट कसरी भन्ने?” भनेर सोधिन्। अनि हामीले सिकायौं, उनीले स्पेनीशमा सिकाइन। रातको खाना खाएर हामी सुत्यौं।

तेस्रो दिन बिहान सबेरै उठ्यौं। ना पुग्ने योजना सहित च्या खाइवरी बाटो तताइयो। रोल्वालिङ खोलाको तिरैतिर, धुपी, गुराँस, गोब्रे सल्ला र अन्य लेकाली प्रजातीका बडा बडा बीच हामी हिँड्ने गोरेटो सुन्दर रूपले निस्किएको थियो। रोल्वालिङ खोलाकै शीरमा पुग्नु थियो, छाड्ने कुरो पनि थिएन। गफिँदै हामी नपत्याउँदो तरिकाले उकालो उक्लिरह्यौं।

स्वीस सहयोगमा बनेका बाटो र पूलहरु हुँदै हामी थान्दिङ पुग्यौं। यात्राको दौरान बिजुली बत्तिका पोल ओसार्ने दाइहरु भेटिए। ४ जना भएर एउटा पूल बोकेका थिए। हामीलाई उच्छिन्ने पनि। “गोर्खालीहरु सानो कदका हुन्छन् तर उनीहरुमा अदम्य साहस हुन्छ।” यो वाक्य यत्तिकै भनिएनछ। त्यो हिमाली उचाइ र विकटतामा मानिसले गरेको दु:खले अचम्मित बनायो। बाँच्ने जिजिविषा र जिविकोपार्जनका कुरो त छँदैछ नै छ।

रहर र बाध्यता !

सबै मानिसहरु गतिमै थिए, फरक यत्ती हो हाम्रा उद्देश्यहरू बेग्लै थिए। गोरेटो एउटै थियो, कोहि रहरले हिँडेका थिए, कोहि बाध्यताले ! हिमाली विषमता पनि मानिसहरु गुराँस भएर फुलेका थिए। बाटोमा भेटिएकाहरु हामीसङ्ग मुस्कान साट्थे, र हामी पनि मुस्कान साट्थ्यौँ। हिमाली क्षेत्रमा फैलिएका कोणधारी जङ्गल, नागबेली हिमनदी, आँखाको धीत नमरुन्जेल हेर्न सकिने दृश्यहरुसङ्गै साक्षत गर्न पर्ने यी विषमता र कठिनताले भने सोच्न बाध्य बनाउँछ !

जीवन भोगाइ र यात्राका अनगिन्ती प्रश्नहरुको उत्तरविहिन हुन्छु म। हाम्रा हिमाल रहर रहेछन्, ती मानिसहरुको बाध्यता ! टाढा टाढा बाट आफू पालिन र परिवार पाल्न कामको सिलसिलामा काम गर्न आएका रहेछन् मैले बाटोमा भेटेका दाइहरु ! छेतछेत देखि निधारमा नाम्लो बाँधेर गह्रौ भारीहरु बोकेर हिमाली गाउँ पुर्‍याउन खोटाङ, सोलु, ओखलढुंगाका दाइहरु थिए। कोभिड पछि यता आएको सुनाए। ती दु:खहरु बीच पनि उन्मुक्त भएर आफ्ना कुराहरु सुनाए। ती हर मनहरु आत्मीय थिए।

गिनिज रेकर्ड होल्डरहरुको गाउँमा !

सोच्दासोच्दै रोल्वालिङ उपत्यकाको बेदिङ गाउँ पुगिन्छ। बेदिङ गाउँ सिमिगाउँ पछिको सबैभन्दा ठूलो र सुन्दर गाउँ हो। छेवैमा रोल्वालिङ खोलो बग्छ, भित्तामा सुन्दर गाउँ छ, त्यहीँ छेउ गुम्बा पनि छ। वरपरको सानो चरन क्षेत्रमा भेडा र चौंरीहरू चरिरहेका थिए।

बेदिङ गाउँ गिनिज वर्ल्ड रेकर्ड होल्डरहरुको गाउँ पनि हो। तीनजना दिदीबहिनीले एकसाथ सगरमाथा चढेर बनाएको रेकर्ड, काकाठूल्बाका छोराहरु मिलेर बनाएको रेकर्ड लगायत विविध थिए। हामीले यिनै रेकर्ड होल्डर दिदी जाङ्मु शेर्पाको घरमा खाना खायौं।

त्यहाँ भेटिए अरु यात्रीहरु पनि। अनि खाना खाइसकेर हामी बेदिङ, रोल्वालिङ उपत्यकाको अन्तिम गाउँका लागि निस्कियौं। यसपल्ट हामीसङ्ग ना गाउँका नोर्बु भाइ पनि थिए। ना मा मेरो होटेल छ, च्छो रोल्पा सम्म गाइड गर्छु तपाईंहरुलाई भनेर उनले हामीलाई आश्वस्त तुल्याएका थिए।

रोल्वालिङ उपत्यकाको अन्तिम गाउँ !

झन्डै ३ घन्टाको हिँडाइपछि हामी ना गाउँ पुग्यौं। सिमसिम पानीमा भिज्दै आएकोले जाडोले कठ्यारिङ्रीएका थियौ हामी। दुई जना साथीहरू रूपक र विशाललाई हामीले नोर्बुलाई छाडेर आएका थियौं। झन्डै ३५ मिनेट पछि उनीहरु आइपुगे। होटेलको दिदीले खाना बनाउन थाल्नुभयो।

रातमा आकाश पनि खुल्यो। ताराहरुले आकाश सुन्दर देखिन्थ्यो। भोलिपल्ट बिहानै उठेर वरपर हेर्यौं, बिस्तारै आकाश उघ्रीँदै थियो। हिमाल पनि खुल्न थालेको थियो। २ दिन सिमसिम पानीमा भिज्दै यात्रा गर्नुको पीडा पानीले भिजिएला भन्नेमा थिएन, मात्रै गन्तब्य सोचेझैं नहुने हो कि भन्ने पिरलो थियो। यात्राको आफ्नै किसिमको रमाइलो त छ नै, यद्यपि गन्तव्यको खोजी नहुने पनि त होइन।

बिहान २७०° मा हिमालहरुले हामीलाइ दर्शन दिए, यो भन्दा खुशीको कुरो के हुन्थ्यो र? हिमालहरुको दर्शन गरेर हामी रोल्वालिङ खोलाको तिरैतिर च्छो रोल्पाको लागि निस्कियौं। बाटाभरी चौंरीहरु चर्दै थिए। आकाश खुलेको थियो, तलबाट कुहिरो बिस्तारै बिस्तारै माथी उक्लिँदै थिए, तर आज भने हामी कुहिरो भन्दा छिटो भएका थियौं।

आज पनि तीनजना साथीहरुलाई नोर्बुसङै छाडिदियौं। भाइ र म सरासर हिँड्यौं, कतै नअल्झिकन। प्यास लाग्दा विशाल पहाराबाट रसाएका पानी खाइन्थ्यो। नुम्बुर हिमाल हाम्रै अगाडि शानले उभिएको थियो। दृश्यले बडा तानिरहेको थियो।

च्छो रोल्पामा हाम्रो रेकर्ड?

ठ्याक्कै १ घन्टा ८ मिनेटमा हामी च्छो रोल्पा पुग्यौं। हामी भन्दा घन्टौं अगाडि निस्केका दाइहरु दङ्ग परे, “ओहो कति  छिटो आइपुगेका तिमेरू? हामी १० मिनेट मात्रै अगाडी आइपुगेका।” हामी ताल पुग्दा खुशीले गदगद थियौं। भाइ क्यामेरा तेर्साउन थाल्यो। मैले पनि विभिन्न कोणबाट तस्बिर लिन लगाएँ। च्छोमा पुग्दा मन हर्षले विभोर भयो।

बाआमा सम्झिएँ, हिमाल र ताल हरुलाई आँखाले धीत नमारुन्जेल हेरिरहेँ। नीलो आकाशमा छरिएका सेता बादलहरुलाई हेरिरहेँ। तालका लागि यात्रा तय गर्दा गौरीशंकर हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न पाइनु अर्को विशेषता हो। च्छो रोल्पाका किनारहरु बुकीफूलले सजिएकि थिइन्।

अनि मैले सम्झिएं धीरेन्द्र कुरुम्बाङ्को कविता;

उ माथि देउरालीमा

सेताम्य भएर

चिसो सिरेटोमा

बाँच्दै

फक्ताङ्लुङसँग रमाएर

नीलो आकाशका टुक्रा बादल बनेर

फुल्ने बुकी फूल

 ….

तिमी कहिले

नओइलाउने फूल

जिन्दगीको फूल

बुकी फूल।

च्छो रोल्पा तालको उत्पति ५० वर्षअघि मात्र भएको मानिन्छ। सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थियो भने सन् १९९७ मा लिएको भू–उपग्रहका नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म फैलिएको छ। तालको  गहिराइ १३५ मिटर छ। च्छो रोल्पालाई छाड्न मन थिएन तर बसिरहन सकिने पनि थिएन।

यात्रीहरुको कर्म हो गतिशील हुनु। मैले नचाहेर पनि बिदा माग्नै पर्थ्यो। घन्टौं ताल छेउ रमाएर बस्यौं, मनले उर्जाशील अनुभूति गरेको थियो। त्यो आनन्दुनुभूतिलाई महशुस गरेर हामी फर्कियौं। गएपछी फर्किनु नियमित प्रक्रिया होला !

डोगाङको छिरिङ !

डोगाङ्को अर्थ नेपाली भाषामा पाटी भन्ने हुँदो रहेछ।त्यै डोगाङ्को कर्मको फूल फूलाईरहेकी छिरिङ्ले मन जितिन् हाम्रो ! उमेरले भर्खरै २० टेकेकि ! सानैमा बा गुमाएकी, आमाको सहारामा हुर्किएकी, एक सहासी युवा ! क्याल्चेबाट २५ मिनेटको हिँडाइमा पुगिन्छ उनको होटेल भएको ठाउँ।

घर सिमिगाउँमा छ, तर व्यवसायको लागि डोगाङमा होटेल छ। दुवै आमाछोरी मिलेर होटेल चलाउने रैछन् तर आम सिमिगाउँमा व्यस्त हुँदा छिरिङ एक्लैले पाहुना र पर्यटकहरुलाइ खाना बनाएर खुवाउँदी रहिछन्। एक्लैले सारा काम भ्याएको देखेर म चकित परेको थिएँ, हामीसङ्गै जोडिएका साथीहरू पनि ट्वाँ परेका थिए। च्छो रोल्पाबाट फर्केर डोगाङ आएको रात छिरिङ्कै डोगाङ होटेलमा बास बसियो।

आगो ताप्दै गफियौं हामी। हामी बसेकै होटेलमा सगरमाथा चढेर गिनिज रेकर्डमा नाम लेखाएका बेदिङका दिदी र उनको परिवार थियो। चढ्नका निमित्त सबैका आआफ्नै सगरमाथा हुन्छन् भनेर वान्डा रुट्किवेजले यसै कहाँ भनिन् र? छिरिङको निमित्त चढ्न आफ्नैखाले सगरमाथा छ।

संवाद हुँदै गर्दा उनलाई मैले एउटा कुरा ठट्यौली पाराले सोधेँ, “छिरिङ यात्रा गर्दा गर्दा अब मसङ्ग तिमीलाई तिर्ने पूरा पैसा छैन, के गर्छौ?” छिरिङले किञ्चित पनि दु:ख नमानी, “भयो भने ठिकै छ, नभए पनि त म छाडिदिन्छु, पैसा मात्र ठू हो र?” पैसा नभएका यात्रीहरुका केही उदाहरण दिएर उनले मलाइ आश्वस्त पारिन्! उनी भित्रको दयाको सागर देखेर म लोभिएँ। संसारमा धेरै मानिसहरुका लागि जित्नका निमित्त धेरै कुरा होलान् तर थोरै मानिसहरूले मात्रै मन जित्न सक्छन्, छिरिङ्ले वास्तवमै हाम्रो मन जितिन्।

‘मितिनी’सङ्ग प्रीत !

फर्कने बेलामा हामी मितिनी होटेलमा खाजा खाएर योजना सहित छिर्यौं। मितिनी होटेलका अङ्कल बडा रमाइला रहेछन्। उनी ठट्टा गरिरहन्थे, अझै विशेष त उनको हाउभाउ थियो। आन्टीले खाजा तयार गरिन्। अन्डा चिउरा र च्या खाइयो।

त्यसपछि अङ्कलले मलाई मितीनी होटेलमा बिताएको समय बारे केही लेखिदिन आग्रह गरे। मैले पनि लेखिदिएँ आफ्नै पाराले, ” जिन्दगी यात्रा हो ! तर यात्रा त्यतिबेला सुन्दर हुन्छ जब यात्रामा भेटिने मनहरु सुन्दर हुन्छन्।

मितिनी होटेलमा हामीले पाएको माया र सद्भाव अद्भुत थियो। सम्झनाहरु बनाइयो। सुन्दर साँझ बिताइयो। मलाई लाग्छ यात्री र पर्यटकहरुले मितिनी होटेलमा साँझ/दिन बिताए भने पक्कै दु:खी हुनेछैनन्। नाम जस्तै छ प्रिय् ! मैले त वचन दिइसके अर्कोपटक आउँदा फेरि यहि मितिनीसङ्ग प्रीत गाँस्न आउनेछु।” यति लेखेर पढाइ सुनाउँदा ती अङ्कल मुसुमुसु हाँस्दै थिए, भाइ भिडियो रेकर्ड गर्दै थियो।

मेरो लागि हिमाल यात्रा हिमाल र हिमाली भूगोल हेर्ने मेसो मात्रै होइन। म त्यहाँ आफ्नोपन भेट्टाउँछु, गुराँस जस्तै फूलेका मानिसहरुको कथामा आफूलाई भेट्टाउँछु। हिमाल हिमाली मानिसहरू भएर जीवन्त छ, हिमाली पृष्ठभुमिका हर वस्तुहरुको कथा हिमाल जस्तै छ, कठिन इतिहासले बनेको मानिस जस्तै ! जिजिविषाको लहरबीच मानिसहरू संघर्षको आयतनमा सधैं उत्रीरहेका हुन्छन् !

हिमाल एउटा सजिव चित्र हो; जीवन, फगत एक सम्झना ! जिजीविषाहरू बीच रूमल्लिने विवशतायुक़्त्त रहरहरू बीच फूल्ने हिमाली फूलसरहका जीवन भए क्यार ! प्रारब्धको भेंट र नियतिको घनचक्करका दोबाटोहरूमा अलमलिने यात्रीहरू र भोगाईलाई केवल भोग्न निरीह बनाइएका कालखण्डका न उपजहरू, पात्रहरू। समय गतिमै थिए, छन् र रहिरहनेछन्; यादहरू स्मृतिका सागरमा प्रत्येक सम्झनामा सयर गरिरहेकै छन्, आगतका पन्नाहरुमा यी हिमाल सम्झना स्मृति पन्नामा सयर गरिरहनेछन्।

यात्रा, अध्ययन र राजनीति; मेरा रूचीका तीन विषय पनि हुन्; म भित्र बाले बिज़ारोपण गरेका बीऊहरु पनि हुन्, र यी जीवनपर्यन्त गतिमा रहिरहनेछन्। यात्रा म आफूखुशीले गरिरहन्छु, बाले मेरा यी जायज खुशीहरूमा कैले पनि प्रश्न गर्नुभएन ! र बा यो कुरो राम्रोसंग जान्नुहुन्थ्यो कि म उद्देश्यविहीन यात्रा गर्दिन थें भनेर। म आज पनि मेरा अनुशासनका परिधीहरुबाट टाढिएको छुइन, र के आशा ग़र्छु भने मेरा हर पाइलाहरूमा मलाई शुभाषिस र कामना मिलुन् ! म र अरु दुई भिन्न अस्तित्वको कुरो हो, म अरु होईंन र अरु बन्ने चाहना पनि छैन ! ४,५३८ मि को च्छो रोल्पामा फूलेको बुकीफूलसंगै मेरो सबैमा सम्झना र कामना; धन्यावाद ! सबैम शुभ दशैं।

कसरी पुग्ने च्छो रोल्पा?

पैलो दिन काठमाडौको चाबहिल, कोटेश्वर बाट छेतछेतसम्मको गाडीमा जाने, २ घन्टाको उकालो हिँडेर सिमि गाउँमा बस्ने।

दोस्रो दिन, सिमिगाउँबाट क्याल्चे या डोगाङसम्म पुग्ने

तेस्रो दिन क्याल्चे वा डोगाङ्बाट ना गाउँ सम्म

चौथो दिन ना गाउँबाट च्छो रोल्पा पुग्ने, फर्केर बेदिङ  आउने।

पाँचौ दिन बेदिङ्बाट छेतछेत आएर बस्ने

छैठौं दिन काठमाडौका लागि बस समात्ने।

खर्च कति लाग्ला?

आफूले कति खर्च गर्ने भन्ने कुरोमा भर पर्ने बाहेक एक्जनाले ८-१० हजार सम्म ले गज्जबसङ यात्रा गर्न सकिन्छ। समूहमा जाँदा अझै उत्तम हुन्छ।

(नियात्राकार खड्का एमबीबीएस अध्ययनरत छन् ।)

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्