प्रदेश खेलकुदलाई अन्तर्राष्ट्रिय उचाईमा लैजाने लक्ष्य : नवनियुक्त सदस्यसचिव बस्नेत

मोरङ – प्रदेश १ खेलकुद बोर्डको सदस्यसचिव कृृष्ण बस्नेत ‘परशुराम’ ले प्रदेश खेललाई अन्तर्राष्ट्रिय उचाईमा पुराउने लक्ष्य राखेको बताएका छन्।

आइतबार बेलुका प्रदेश सरकारद्धारा बोर्डको सदस्यसचिवमा नियुक्त भएसँगै देश सञ्चारसँगको संक्षिप्त कुराकानीका बस्नेतले राजनीतिक भागवण्डालाई सहज रुपमा लिएको बताएका छन्।

सरकारले वैधानिक रुपमा बोर्डलाई पूर्णता दिएको बताउँदै सदस्यसचिव बस्नेतले प्रदेशको खेलकुदलाई चलायमान र गतिशील बनाउन केन्द्रित रहने उल्लेख गरे। यसअघि अन्य तीन प्रदेशमा बोर्ड गठन भइसकेको बताएका उनले विद्यालयदेखि विश्वविद्यालयसम्ममा खेलकुदको विकास गराउन सक्ने बताए।

विगतदेखि नै खेलाडीको सुविधामा ध्यान पुग्न नसकेको बताउँदै उनले अब खेलकुद प्रतियोगिताको सहभागिता हेरिकन खेलाडीलाई स्वास्थ्य, यातायात जस्ता कुरामा सहजता दिलाउने बताए। खेललाई जीवन दिएका खेलाडीले स्वास्थ्य उपचार नपाएर गुम्सिनु परेको पीडालाई बोर्डले सम्बोधन गर्ने बताएका बस्नेतले खेलाडीको स्वास्थ्य र सेवामा बढी ध्यान दिइने जानकारी दिए।

हाल १४ जिल्लाका खेलकुद विकास समिति र त्यसका संरचनासमेत बोर्ड मातहत आउने उनको भनाई छ। बोर्ड ऐन पारित भएको दुईवर्ष भित्रमा समितिलाई समायोजना गर्न सकिने प्रावधान रहेको छ। तर त्यस विपरीत जिल्लातहमा प्रदेशका कर्मचारी राखेर काम सुरु हुन थालिसकेको राष्ट्रिय खेलकुद परिषद्का एक कर्मचारीको भनाई छ। बस्नेत एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली निकटस्त हुन्। उनी पत्रकार खिलानाथ ढकाललाई कुटपिट गरेको अभियोग र सम्पत्ती शुद्धीकरण आयोगको छानबिनमा परेका व्यक्ति पनि हुन। दुवै सन्र्दभमा उनले सफाई पाइसकेका छन्।

विश्वासको मत लिन नसकिरहेको अवस्थामा सरकारद्धारा गरिएको चार वर्षीय कार्यकाल नियुक्तिको आयुबारे बस्नेतले भने, ‘हामीलाई सरकारले वैधानिक तवरबाट राजनीतिक नियुक्ति गरेको हो। यसको सम्मान गर्दै पूर्णकालका लागि अघि बढ्ने छौँ। समस्या धेरै नआउला। समस्या देखिए कानुन संवत पन्छाउदै अघि बढ्ने हो।’

यसअघि, एमालेका तत्कालीन खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले माओवादीको भागवण्डाबाट राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव बनेका युवराज लामा हटाउन पत्र नै काटेका थिए। मन्त्री पौडेल र लामाबीचको विवाद सतहमा नै आएको थियो। दुवैबीच तिक्तता रहँदै गर्दा सदस्यसचिव लामा मन्त्रीको कार्य कानुन र विधि संवत नभएको जनाउँदै सर्वोच्च अदालत पुगेका थिए। अदालतबाट स्टे अर्डर ल्याएर लामाले आफ्नो पूर्ण कार्यकाल सम्पन्न गरेका थिए।

यसअघि बागमति, गण्डकी, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रदेश खेलकुद बोर्ड गठन भइसकेको छ। प्रदेश १ मा २०७५ असोजमा विधेयक दर्ता भएको भए पनि २०७६ वैशाखमा बोर्डलाई प्रदेशसभाले प्रमाणित गरेको थियो। त्यसयता बोर्डको सदस्यसचिवका लागि विभिन्न नाममा मन्त्री मन्त्रीबीच नै सहमति बन्न नसक्दा बोर्डले पूर्णता पाउन सकेको थिएन ।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्