यात्रुसँग बढी भाडा लिने ७ जना पक्राउ

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अप्रेसन थालेको छ। यसअन्तर्गत चाडपर्व मनाउन उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोजेको आरोपमा ७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

यात्रुसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचयपत्र साथमा नलिई अनधिकृत रूपमा भाडा उठाई बिचौलियाको काम गर्ने ७ जनालाई सोमबार बिहान नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

ट्राफिक प्रहरीले कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क– ३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एलेक्स चौधरी, मकवानपुर भीमफेदीका प्रेम घिमिरे र बारा जीतपुरका विशाल लामालाई पक्राउ गरेको हो।

वरिष्ठ प्रहरी उपरीक्षक भट्टराईले दसैँतिहार मनाउन घर जानेहरूको अरु समयमा भन्दा यतिखेर बढी नै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको जानकारी दिए।

उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारबाही गर्ने पनि बताए।

ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्नेलगायतको काम हुनसक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरी आफै यात्रु बनेर कारबाही अभियान चलाइरहेको छ।

पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्