भेमाथाङको स्थलगत अध्ययन प्रतिवेदन

मेलम्ची–हेलम्बुका मुख्य दुई बाढी : स्रोत भिन्न, प्रकृति उस्तै

पेम्दाङ्ग खोला (दायाँ) र मेलम्ची खोला (बायाँ) को संगमस्थल भेमाथाङ ।

काठमाडौँ – यो वर्षको मनसुनमा मेलम्ची तथा हेलम्बु क्षेत्रमा मानवीय तथा ठूलो भौतिक क्षति गरेको दुई ठूला बाढी तथा पहिरोजन्य विपद्को स्रोत फरक रहेको स्थलगत अध्ययन सँगै उपलब्ध प्रमाणहरुका आधारमा भएको अध्ययनले देखाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को संयोजनमा खानी तथा भूगर्भ विभाग र ट्रिम्याक्स आइडी इन्फ्राइस्टक्चर एण्ड सर्भिसेजको सहकार्यमा भएको स्थलगत अध्ययनमा असार र साउनमा आएका लेदो तथा गेग्रानसहितको बाढीको स्रोत फरक रहेको देखिएको हो। गएको असार १ गते मेलम्चीसहितका क्षेत्रमा लेदो तथा गेग्रानसहितको बाढी आउनु र साउन १६ गते हेलम्बु क्षेत्रमा ठूलो क्षति गर्ने गरी आएको बाढीको प्रकृति उस्तै भए पनि स्रोत भने फरक रहेको देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् तथा एनडीआरआरएमएका कन्सल्टिङ इञ्जिनियरसहित पाँचजनाको टोलीले गएको असार १ र साउन १६ गते आएको बाढीको प्रारम्भिक कारण खोज्नका लागि गरेको स्थलगत अध्ययनपछि तयार प्रतिवेदनका अनुसार असार १ गते मेलम्ची बजार क्षेत्रमा मानवीय तथा भौतिक क्षति गर्ने गरी आएको लेदो तथा गेग्रानसहितको बाढीको स्रोत भेमाथाङभन्दा तल्लो क्षेत्रमा गएको पहिरो हो भने साउन १६ गतेको लेदोको स्रोत भेमाथाङ भन्दा माथि र तल दुवैतिर रहेका गएका पहिरोहरु हुन्।

विभागका वरिष्ठ भूगर्भविद् शिवकुमार बास्कोटा र भूगर्भविद् गौतमप्रसाद खनाल तथा एनडीआरआरएमएका कन्सल्टिङ इञ्जिनियरहरु विकास भुसाल, गोकुल भण्डारी र निरज भट्टराईसहितको टोलीले भेमाथाङ क्षेत्रमा गरेको पाँच दिनको स्थलगत अध्ययन तथा स्याटेलाइट र ड्रोन तस्बिरहरुको विश्लेषण गरी अध्यनन प्रतिवेदन तयार पारेको हो।

अध्ययनको नेतृत्व गरेको वरिष्ठ भूगर्भविद् बास्कोटाले भने, ‘स्थलगत तथा उपलब्ध तथ्याङ्कहरुका आधारमा भएको हाम्रो अध्ययनअनुसार साउन १६ भन्दा अघि  भेमाथाङभन्दा माथि विषेश गरी पेम्दाङ्ग खोलाको माथिल्लो तटीय क्षेत्रमा गएका पहिरो र त्यसवाट सिर्जित भेलबाढीका कारण भेमाथाङमा गेग्रान थुप्रिए पनि डिल भत्कन सुरु भएको देखिएको छैन। ठूलो पानी परेका कारण भेमाथाङभन्दा उपल्लो भागबाट हिमनदीका गेग्रानहरु समेत बगेर आएको देखिन्छ । बगाएको गेग्रान भेमाथाङमै अड्किए पनि त्यहाँबाट मेलम्ची खोलाको तल्लो तटीय क्षेत्रमा बग्दै आउँदा भेमाथाङभन्दा केही तल पुरानो पहिरोबाट खसेका पदार्थहरुमा पहिरो सृजना भई भेल पहिरोको रुप लिएको र परिणामस्वरुप तलतिर सक्रिय किनारा कटानका कारण थप पहिरोहरु विकसित भएपछि ठूलो मात्रामा गेग्रान उत्पादन भएको र  नाकोटेभन्दा तल्लो तटीय क्षेत्रमा आईपुग्दा मेलम्ची खोलाको बहाव घट्ने भएकोले सो गेग्रान थुप्रिदा मेलम्ची बजार क्षेत्रमा क्षति गरेको देखिन्छ।’

उनका अनुसार असार १ गतेको विपद् आउनुमा भेमाथाङभन्दा तलको भागमा आएको पहिरो र सो क्षेत्रमा भएको अत्यधिक वर्षा कारक रहेको देखिन्छ।

त्यसबेला भेमाथाङभन्दा माथि पहिरो गएको वा विपद्लाई सहयोग गर्नेखालका गतिविधि भएको हुनसक्ने तर त्यसको स्पष्ट प्रमाण अहिलेसम्म प्राप्त नभएको उनले बताए।

वरिष्ठ भूगर्भविद् बास्कोटाले भने, ‘उपलब्ध तस्बिरहरुमा असार १ गते वा त्यसको अघिल्लो दिन भेमाथाङको डिलमा पहिरो गएको देखिँदैन। असार १ गते वा सो भन्दा पछि भेमाथाङमा गेग्रान थुप्रिएकाले माथिल्लो भागमा पहिरो वा मोरेन बहावको घटना भएको हुनु पर्छ तर स्याटेलाइट मार्फतको क्लियर तस्बिर नआएकाले थप कारणहरु यकिन गर्न सकिने अवस्था अझै  छैन।’

यसअघि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले असार १ गतेको बाढीको कारण खोज्न गरेको अध्ययन प्रतिवेदनमा गएको असार १ गतेको बाढी आउनुमा भारी वर्षा, हिउँ, भू–क्षय, पहिरोसँगै सानो आकारको हिमतालको संगठित प्रभाव उल्लेख थियो।

इसिमोडको अध्ययनमा असार १ गतेको बाढीको प्रारम्भिक कारण के खुलेको थियो ?

पेम्दाङ्ग खोलाको माथिल्लो क्षेत्रमा गएको क्षति।

रिमोट सेन्सिङ तथा तल्लो क्षेत्रको स्थलगत अध्ययनमार्फत भएको अध्ययनको प्रतिवेदनअनुसार मेलम्ची नदीको आसपास र किनारका विभिन्न क्षेत्रमा भएका मानवीय गतिविधिका कारण निम्तिएका समस्याहरु तथा जलवायुजन्य गतिविधिका कारण भीषण स्वरुपको बाढी आएको इसिमोडको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘मेलम्चीमा असार १ तथा त्यसपछिका दिनमा आएको विपद्का लागि एकमात्र कारण नभई नदी किनार तथा त्यसको माथिल्लो क्षेत्रमा मानवीय तथा जलवायुजन्य तत्व र प्रक्रिया कारक देखिएका छन्।’

माथिल्लो क्षेत्रमा भएको भारी वर्षाका कारण विपद्को सुरुवात भएको र त्यसले नदीको मार्ग क्षेत्रमा व्यापक खतरा निम्त्याएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

अध्ययनमा संलग्न इसिमोडका क्षेत्रीय कार्यक्रम व्यवस्थापक डा अरुणभक्त श्रेष्ठले अध्ययन सार्वजनिक भएपछि देश सञ्चारसँग भनेअनुसार मेलम्ची विपद्का लागि भारी वर्षा तथा हिमपातसहितको मौसमी गतिविधि, उच्च क्षेत्रमा रहेको सानो आकारको हिमताल, भेमाथाङमा रहेको पुरानो पहिरो, मेलम्चीघ्याङमा बनेको नयाँ पहिरो, नदीको बहाव थुनिनु र पछि फुट्नु तथा नदी किनारमा भएका भू–क्षयसहितको संगठित प्रभाव रहेको देखिएको थियो।

अध्ययन प्रतिवेदनअनुसार मेलम्ची तथा इन्द्रावती नदीको जलाधार तथा बहाव क्षेत्रमा परेको भारी वर्षा प्रमुख कारक देखिएको छ। जल तथा मौसम विभागको सेर्माथाङमा रहेको जलमापन केन्द्रका अनुसार दुई नदी क्षेत्रमा जेठ २६ गतेदेखि नै पानी पर्न थालेको थियो। जेठ २७ गतेको मापनमा सो क्षेत्रमा प्रतिघण्टा २२ मिलिमिटर पानी परेको थियो भने भोलिपल्ट त्यो ३७ मिलिमिटर प्रतिघण्टा पुगेको थियो। जेठ ३१ र असार १ गते प्रतिघण्टा वर्षादर १० मिलिमिटर मापन भएकोमा जेठ २७ गतेको कुल वर्षा १०० मिलिमिटरभन्दा बढी मापन भएको छ। ६ दिनको अवधिमा सेर्माथाङमा रहेको केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको थियो। मनसुन सुरु हुनु पूर्व अर्थात प्री–मनसुनको मार्च र मेको अवधिमा सामान्यभन्दा १२९ प्रतिशत बढी वर्षा भएकाले सो क्षेत्रमा अत्यधिक वर्षाको प्रभाव देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

यस्तै इसिमोडले माथिल्लो याङ्ग्र्री खोलाको नजिक ‘गन्जा ला’ मा स्थापना गरेको अटोमेटिक वेदर स्टेशनको तथ्यांकले बाढी आउनुभन्दा चार दिन पहिले सो क्षेत्रको वायुको तापक्रम अत्यधिक बढेको र त्यसका कारण हिउँ ठूलो मात्रामा पग्लिएको देखिने उल्लेख थियो। यास तथा ताउते आँधीको अप्रत्यक्ष प्रभावले माथिल्लो क्षेत्रमा हिउँ परेको थियो। हिउँ पग्लिने क्रम जारी रहेका बेला तल्लो तथा माथिल्लो क्षेत्रमा भारी वर्षा हुँदा जोखिमको तह बढाएको देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

भारी वर्षा तथा हिउँ पग्लिएको पानीका कारण माथिल्लो क्षेत्रमा रहेको मोरेन तथा गेग्रानहरु बग्न थालेको र त्यसले तल्लो क्षेत्रमा भू–क्षयसहितका गतिविधि निम्त्याएको देखिएको इसिमोडको अध्ययनमा उल्लेख गरिएको थियो।

अध्ययनको क्रममा निकै सानो आकारको हिमताल फुटेर अत्यधिक वर्षा तथा हिउँ पग्लिएका कारण सुरु भएको विपद्लाई सहयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ। पेमदाङ खोलाको मुहान क्षेत्रमा रहेको सानो आकारको हिमताल अहिले नदेखिएको सो प्रतिवेदनमा भनिएको छ।

नाकोटे क्षेत्रमा पहिरोले पारेको क्षति।

प्रतिवेदनमा उल्लेख छ, ‘सन् २०२० को नोभेम्बर १ को स्याटेलाइट तस्बिरमा पेमदाङ खोलाको मुहान क्षेत्रमा २,७६१ वर्ग मिटर क्षेत्रफलको हिमताल देखिन्छ। सन् २०२१ को मे १२ को तस्बिरमा सो तालको सतह हिउँले ढाकिएको र आंशिक रुपमा जमेको अवस्थामा थियो। तर बाढी पछि अर्थात सन् २०२१ को जुन २३ को तस्बिरमा ताल देखिएको छैन । भी आकारको बहाव मार्ग स्पष्ट रुपमा देखिएको छ।’

यसको अर्थ माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा तथा हिउँ पग्लिएर आएको पानीका कारण आएको बाढीले ‘ठूलो आकारको घर’ जत्रो हिमताललाई पनि बगाएको देखिने अनुसन्धानकर्ताले बताएका थिए। हिमतालसँगै त्यसको वरपर रहेका मोरेन, गेग्रान तथा थिग्रानहरु बग्दा तल्लो तटीय क्षेत्रमा क्षति भएको देखिने अध्ययन प्रतिवेदनमा उल्लेख छ।

एनडीआरआरएमए र खानी तथा भूगर्भ विभागले गरेको अहिलेको अध्ययनमा इसिमोडको अध्ययनलाई सन्दर्भका रुपमा लिइएको हो। तर माथिल्लो क्षेत्रमा तापक्रम बढेर हिउँ पग्लिएको भन्ने कुरा मौसमी स्टेशन नभएकाले पुष्टि गर्न नसकिएको वरिष्ठ भूगर्भविद् बास्कोटाले बताए।

उनले भने, ‘तापक्रम बढेको भनिएको छ। त्यो यकिन गर्न सकिएन। तर बढेको भए पनि एकैचोटी त्यसरी किन बढ्यो र त्यसलाई जलवायु परिवर्तनसँग जोड्न मिल्छ कि मिल्दैन भन्ने थप अध्ययनको विषय हो।’

माथिल्लो क्षेत्रमा रहेका हिमताल र सम्भावित घटनाबारे भूगर्भविद् गौतम खनालले भने, ‘पेमदाङ खोलाको माथितिर दुईवटा सानो हिमताल रहेको भन्ने कुरा छ। त्यो ताल फुटेर भएको हो कि भन्ने पनि थियो। तर त्यो यकिन गर्न सकिएको छैन। हामी माथिसम्म पुग्न सकेनौँ । स्याटेलाइट इमेज पनि आएको छैन। जुन तहको क्षति र गेग्रान थुप्रिएको छ त्यो ताल फुटेरमात्र भएको होइन। पेमदाङको माथितिर हेर्दा हिमनदीको भिरालो स्लोपमा खुकुला गेग्रानयुक्त मोराइनहरु रहेको र थुप्रै सतही पहिरोहरु निरन्तर तल खसेका देखिएको छ । जस्को कारण निरन्तर लेदो श्रीजना भएको हुनु पर्छ।’

भेमाथाङमा गेग्रान थुप्रियो, पछि पहिरो गयो

हालै सार्वजनिक भएको विभागको अध्ययन प्रतिवेदनमा साउन १६ गतेको विपद्का लागि भेमाथाङबाट खसेको गेग्रान, बालुवासहितको पहिरो प्रमुख कारण रहेको उल्लेख गरिएको छ।

पेमदाङ र मेलम्ची नदीको संगमस्थल भेमाथाङमा माथिबाट बगेर आएका गेग्रान, मोरेनसहितका सामग्रीको ठूलो चउर बनेको छ । ‘यु आकार’ मा रहेको नदीको उपत्यका क्षेत्र भेमाथाङमा जम्मा भएको सामग्रीमा माथिबाट आएका हिमनदीका मोरेनहरु, पहिरोका सामग्रीहरुसहित छन्।

‘यो वर्षमात्रै जम्मा भएको होइन, वर्षौँ पहिले भेमाथाङको सो चउर बनेको हो, त्यहाँ वर्सेनि गेग्रानहरु थपिँदै जाँदा आकार ठूलो हुँदै गएको हो’, अध्ययनमा खटिएका भूगर्भविद् गौतम खनालले भने, ‘यो वर्ष पनि ठूलो मात्रामा गेग्रानहरु त्यहाँ जम्मा हुँदा चौडाइ र लम्बाइ थप विस्तार भएको हो।’

अगस्ट ६ मा मानपन गरिएअनुसार भेमाथाङमा गेग्रान तथा बालुवा जम्मा भएको क्षेत्रको लम्बाई १,७७०.८६ मिटर र अधिकतम चौडाइ ५५६.७१ मिटर रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। ड्रोन तस्बिरको विश्लेषणबाट गेग्रान जम्मा भएको भेमाथाङ क्षेत्रको लम्बाइ तथा चौडाइ मापन गरिएको हो। साउनमा सो क्षेत्रमा ठूलो मात्रामा गेग्रान तथा बालुवा आएर जम्मा हुनुपूर्व सो क्षेत्रको अधिकतम चौडाइ ४३६.५१ मिटर थियो।

भेमाथाङको लम्बाइ उत्तरतर्फ यो वर्ष झण्डै ५० मिटरले बढेको देखिएको छ। तर दक्षिणतर्फ भने निरन्तर पहिरो खसिरहेकाले घट्ने क्रम जारी भएको प्रतिवेदनमा उल्लेख छ।

वरिष्ठ भूगर्भविद् शिव बास्कोटाले भने, ‘माथिबाट भेमाथाङमा निरन्तर गेग्रानहरु थपिने क्रम जारी रहँदा चौडाइ र लम्बाइ दुवै बढेको हो। यस पटकमात्रै १० मिटरभन्दा बढी मोटाइ हुने गरी भेमाथाङमा गेग्रान र बालुवा जम्मा भएको देखिएको छ।’

उनका अनुसार भेमाथाङमा वर्षौँदेखि जम्मा भएका सामग्रीको कुल मोटाइ ३० मिटरभन्दा बढी रहेको देखिएको छ। तर अझै पनि पिँध भेट्न नसकिएकाले मोटाइ अझ बढि हुन सक्ने उनले जानकारी दिए।

बास्कोटाले भने, ‘यसपटक भेमाथाङमा एक करोड ६९ लाख २५ हजार २६० घनमिटर सेडिमेन्ट (गेग्रान, ढुंगा–गिट्टी, बालुवा) जम्मा भएको र दुई लाख २८ हजार ३०९ घनमिटर सेडिमेन्ट बगेर तल्लो तटीय क्षेत्रमा गएको देखिएको छ।’

भेमाथाङमा सक्रिय पहिरो।

साउन १६ मा आएको बाढीमा सो सेडिमेन्ट पनि बगेको हो। अध्ययनमा संलग्न भूगर्भविद् गौतम खनालले भने, ‘अत्यधिक वर्षासँगै असार १ गते भेमाथाङभन्दा तल (मेलम्ची ध्याङबाट भेमाथाङसम्म) गएको पहिरोका सामग्री मिसिएको देखिन्छ, जसले मेलम्ची बजारसम्म क्षति गरेको थियो। साउनमा भेमाथाङमा माथिबाट आएर जम्मा भएको गेग्रान पहिरो पनि तल खसेको देखियो। यस्तै भेमाथाङभन्दा तलका पहिरोहरु माथितिर बढ्दै गएका कारण थप सामग्री मिसिएको हो।’

अत्याधिक वर्षा र माथिबाट आएको गेग्रानहरु थुप्रिएर प्राक्रितिक बहाब रोकिँदा भेमाथाङमा केही सीमित समयका लागि पानीको सतह अत्याधिक रहेको र पछि विस्तारै ‘ओभरफ्लो’ भएर तल बग्ने क्रममा लेदोसहितको बाढी तथा पहिरो गएको देखिने अध्ययनमा जनाइएको छ।

‘यसअघि भेमाथाङको मुख साँघुरो थियो। अहिले ठूलो भएको छ। माथिबाट गेग्रान झर्दा पेम्दाङ खोलाले धार परिवर्तन गरेको देखिन्छ साथै साँघुरो मुखमा केहीबेर थुनिएको पनि हुनसक्ने र जलसतह बढी भएपछि बगेर गएको देखिन्छ। बगेर जाने क्रममा तलको पहिरो पनि तानिएको छ। अलिकति काटिएर गएको देखिन्छ’, थप स्पष्ट पार्दै वरिष्ठ भूगर्भविद् बास्कोटाले भने।

भेमाथाङको दक्षिणतर्फको डिल भत्किएको ठाउँबाट अहिले पनि सीमित मात्रामा पानीसँगै लेदो खसिरहेको छ। विस्तारै बहाव मार्ग भिरालोबाट समथर बन्दै गएपछि बग्ने क्रम रोकिन सक्ने अनुसन्धानकर्ताले बताएका छन्।

अनुसन्धानकर्ता खनालका अनुसार भेमाथाङको डिलपट्टिबाट विस्तारै गेग्रान बग्ने क्रम रहे पनि त्यसको अर्थ सबै जान्छ भन्न मिल्दैन। ‘तर भेमाथाङको डिलमा चिरा परेका, कम्जोर र खस्ने अवस्थाका ढुंगाहरु छन्। त्यो आफै असन्तुलित भएर खस्दा त्यसमा अडेर बसेका गेग्रानहरु पनि एकैपटकमा बग्न सक्ने देखिन्छ।’

विसं २०७२ को भूकम्पले हल्लाएको जमिन र विकास भएका पहिरो, हिमनदी पग्लिएर बग्दै जाँदा खसेका मोरेन सामाग्रिहरु, हिमनदी सुकेपछि गएको पहिरो तथा छोटो अवधिमा भएको अत्यधिक वर्षाका कारण गएको लेदोसहितको पहिरोहरुले असार १ र साउन १६ को विपद्लाई सहयोग गरेको देखिने अध्ययन प्रतिवदेनमा उल्लेख छ।

अनुसन्धानकर्ताहरुले थप अध्ययन र निरन्तर अनुगमनको खाँचो रहेको बताएका छन्। ‘हामीले अहिले छोटो अवधिको स्थलगत अध्ययन र स्याटेलाइट, ड्रोन तथा यसअघिका तस्बिरहरुको विश्लेषण गरेर प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पारेका हौँ। भेमाथाङभन्दा माथिको क्षेत्रको गतिविधि र त्यसको तल्लो क्षेत्रमा परेको प्रभाव थाहा पाउनका लागि विस्तारित अध्ययन आवश्यक छ’, वरिष्ठ भूगर्भविद् बास्कोटाले भने।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार प्रारम्भिक अध्ययन प्रतिवेदनले भेमाथाङ तथा तल्लो तटीय क्षेत्रमा भएका गतिविधिबारे जानकारी दिएको र यसले विस्तारित तहको अध्ययनका लागि सहयोग गर्ने छ।

‘माथिल्लो पहाडी क्षेत्र र परिवर्तित मौसमी गतिविधि (अत्यधिक वर्षा) सहितले सो क्षेत्रमा बढाएको विपद्को जोखिम आँकलन गर्न केही हदसम्म अहिलेको अध्ययनले सहयोग गरेको छ। हामीले त्यहाँको ल्याण्ड मुभमेन्ट गतिविधि अहिले पनि नियालिरहेका छौँ र थप अध्ययनको प्रयास पनि जारी छ’, पोखरेलले भने।

माथिल्लो क्षेत्रमा हिमनदीहरु पग्लिँदा बग्ने मोरेन तथा अत्यधिक वर्षाले बढाउन सक्ने विपद्को आँकलन गरी समान परिवेश भएका क्षेत्रहरुको पहिचान तथा जोखिम न्यूनीकरणका प्रयासका लागि मेलम्ची–हेलम्बु–भेमाथाङ विपद् अध्ययनले सुरुवाती विन्दुका रुपमा सहयोग गरेको उनले बताएका छन्।

भेमाथाङको पुछार क्षेत्र नजिक सक्रिय पहिरो।

तस्बिर सौजन्य : शिवकुमार बास्कोटा

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्