मल्लकालीन वास्तुशैलीको येँ देय् सांस्कृतिक छेँ बनाइने

काठमाडौँ– हनुमानढोका दरबार परिसरको धर्मपथस्थित काठमाडौँ महानगरपालिकाको पुरानो भवन रहेको खाली जग्गामा अब काठमाडौंकै पहिचान प्रतिबिम्बत हुने गरी सांस्कृतिक भवन बनाउने योजना अघि सारिएको छ। ‘येँ देय् सांस्कृतिक छेँ’ नाम रहने उक्त भवन काठमाडौँ महानगरपालिका २२ वडास्थित पुरानो भन्सार टोलमा निर्माण गरिने भएको हो।

हाल खुला पार्किंगको रूपमा प्रयोग गरिएको उक्त जग्गाको क्षेत्रफल ८२६.६३ वर्ग मिटर (करिब १ रोपनी १० आना) रहेको छ। पूर्ण रुपले काठमाडौंको मल्लकालीन वास्तुशैलीमा निर्माण गरिने उक्त सांस्कृतिक भवनको बीचमा परम्परागत बहाल शैलीको एक चोक पनि रहने छ। भवनमा काष्ठकलाले भरिएका कलात्मक झ्यालहरू जडित हुनेछन्।

काठमाडौँ महानगरपालिका कला, संस्कृति, वास्तुकला एवं मूर्त÷अमूर्त सम्पदामा निकै नै धनी सहरका रुपमा विश्वविख्यात छ। बढ्दो सहरीकरण तथा बदलिँदो जीवनशैलीसँगै सम्पदा संरक्षणको अभावले गर्दा यहाँ विद्यमान महत्वपूर्ण धरोहरहरू क्रमशः लोप हुने अवस्थामा रहेका छन्। यसै कुरालाई मध्यनजर गर्दै काठमाडौंको परम्परागत कला, संस्कृतिको विविधता र भावनाको बारेमा जानकारी संकलन र सम्प्रेषण तथा सम्पदा प्रवर्द्धन गर्ने उद्देश्यले ‘येँ देय् सांस्कृतिक छेँ’ को अवधारणा प्रस्तुत गरिएको हो।

यो भवनको प्रयोग काठमाडौंबारे अध्ययन अनुसन्धान गर्ने बौद्धिक एवं प्राज्ञिक कार्यको लागि गरिने बताइएको छ। काठमाडौँबारे कुनै पनि प्रकारको जानकारी प्राप्त गर्न सकिने सूचना केन्द्र, काठमाडौं उपत्यकाको कला, संस्कृति, वास्तु, भाषा, जातिसम्बन्धी पुस्तक एवं शोधग्रन्थहरू संगृ्रहीत रहेको पुस्तकालय, फिल्म, डकुमेन्ट्री आदि जस्ता सामग्रीहरू रहने छन्। आवश्यक अनुसन्धाताहरूले त्यहीं बसी ती सामग्रीहरूको अध्ययन गर्न सक्छन्। साथै त्यहाँ साना गोष्ठी एवं सेमिनारहरू सञ्चालन गर्ने हल पनि रहने छ।

भवनको तल्ला विभाजनअनुसार भुइँतल्लामा आगन्तुक कक्ष, चीबाहाः सहितको मूल चोक, हाम्रो काठमाडौँ बजार, पर्यटक सूचना केन्द्र, बहुउद्देश्यीय हल, क्याफे, कोसेली घर, प्रदर्शनी कक्ष जस्ता स्थानहरू रहने छन्। पहिलो तल्लामा काठमाडौँ संग्रहालय, दुई वटा श्रव्य–दृश्य हल, बैठक कक्ष रहने छ।

दोस्रो तल्लामा काठमाडौँ संग्रहालय, एउटा श्रव्य–दृश्य हल र बैठक कक्ष रहने छ। तेस्रो तल्लामा काठमाडौँ पुस्तकालय, बैठक कक्ष, शौचालय रहने छ भने चौथो तल्लामा काठमाडौँ उत्पादनसम्बन्धी अनुसन्धान र विकासको लागि कार्यकक्ष रहने छ।

समय सापेक्ष ढंगबाट काठमाडौँ महानगरपालिकाको पहिचान बोकेका कुनै पनि वस्तुहरुको ब्रान्ड प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले यहाँ ‘हाम्रो काठमाडौँ बजार पसल’ रहने छ। त्यहाँ काठमाडौँमा उत्पादन भएका विभिन्न सामग्रीहरू बिक्री वितरण गरिने छ।

यो पूरै भवन वातावरण मैत्री तथा अपाङ्ग मैत्री हुनेछ। साथै कामको स्वरुपअनुरुप आन्तरिक कार्यक्षेत्रको योजना गरी समन्वयकारी कार्यकक्षलाई प्रोत्साहन हुने गरी खुला योजनाको अवधारणाअनुरुप डिजाइन गरिएको छ। आन्तरिक एवं बाह्य पर्यटकहरूले यहाँ आई काठमाडौँसम्बन्धी कुनै पनि प्रकारका जानकारीहरू हासिल गर्न सक्दछन्।

काठमाडौँ महानगरपालिकाले नगरको तल्लो भेगको इतिहासलाई जीवन्त बनाउन त्यस क्षेत्रको पनि अध्ययन गर्ने उद्देश्य लिएको छ। लिच्छविकालमा दक्षिण कोलिग्रामका नामले परिचित यस क्षेत्रमा अझै पनि लिच्छविकालीन र मल्लकालीन सांस्कृतिक सम्पदा, शिलालेखहरू प्रशस्त पाइएका छन्। त्यसको अनुसन्धान गरी यसको केन्द्रका रूपमा पनि येँ देय् सांस्कृतिक छेँलाई प्रयोग गर्न सकिने योजना बनाइएको हो।

यो कलात्मक भवनको निर्माणले उक्त क्षेत्रको स्वरुपलाई नै नयाँपन दिनुका साथै काठमाडौँको अध्ययन अनुसन्धान कार्यलाई पनि यसले नयाँ आयाम दिने विश्वास लिइएको छ।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्