गैरआवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन स्थगित

काठमाडौँ– गैरआवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन स्थगित गरिएको छ। संघको आइतबार भर्चुअल माध्यमबाट बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष कुमार पन्तको सभापतित्वमा बसेको बैठकमा गैरआवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको संघका प्रवक्ता डीबी क्षेत्रीले जानकारी दिए।

उनका अनुसार बैठकले मन्त्रालयको सुझावअनुसार पूर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ।

बैठकले मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको प्रवक्ता क्षेत्रीले बताए।

उनले अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरी थप निर्णय गरिने जानकारी दिए।

महाधिवेशनका लागि काठमाडौँ आइसकेका र आउन तयार रहेका प्रतिनिधिहरुमा पुगेको असुविधाप्रति संघ क्षमासमेत मागेको छ।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्