दसैँमा लगाइन्छ थरिथरि टीका, के हो कारण?

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने वडादसैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाइन्छ।

मान्यजन र आफन्तबाट आशिर्वाद लिन विजया दशमीका दिन निधारमा टिका र जमरा थापिन्छ। दसैंमा टिका लगाउने चलन सबैजसो समुदायमा भएपनि स्थान, जाति र समुदायअनुसार टिकाको रङ भने फरक–फरक हुने गर्छ।

टिकाको रंग समयअनुसार फरक–फरक लगाइन्छ। सेतो शान्तिका लागि, पहेँलो पितृ कार्यहरुमा, रातो र कालोलाई शक्तिको प्रतीकका रुपमा लिइन्छ।

बडादसैंमा ब्राह्मण तथा क्षेत्रीले निधारभरी रातो टीका लगाउँछन् भने गुरुङ, राई, मगर, लिम्बु, तामाङ लगायत जनजातिले सेतो टिका लगाउँछन्।

तर नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा.जगमान गुरुङ भने रातो र सेतो टिकामा विवाद गर्नु व्यर्थको विषय भएको बताउँछन्। उनका अनुसार पहिले–पहिले बजारको सुविधा नभएकाले सबै मानिसले दही र चामल मुछेर सेतो टिका नै लगाउँथे।

देशसञ्चारसँगको कुराकानीमा उनले भने, ‘गाउँघरमा कहाँ अविर पाउने? बाहुन, क्षेत्री, तामाङ, लिम्बु सबैले सेतै चामलको टिका लगाउँथे। तर पछि बजारको सुविधा हुँदै गयो, अनि अविर मुछेर टिका लगाउन थाले।’

अहिले ब्राह्मण, क्षेत्रीले रातो तथा गुरुङ, राई, मगर, लिम्बु लगायतका जनजातिहरुले सेतो टिका लगाउने भनेर टिकाको अपव्याख्या गरेको उनको भनाइ छ। दसैं कुनै जातको विशेष चाड नभएर सबैको सांस्कृतिक पर्व भएको उनको भनाइ छ।

डा. गुरुङका अनुसार दुल्लु दैलेखतिर दही चामलमा बेसार हालेर पहेँलो टिका लगाउने चलन पनि छ। अझै पनि त्यहाँका कतिपयले रातो अविर नलगाउने उनले बताए।

कुन बेलादेखि दसैं मान्न थालियो भन्ने केही पनि टुङ्गो नभएको बताउँदै उनले यो शक्ति उपासना भएको बताए। उनका अनुसार जुन बेलादेखि दसैं मान्न थालियो त्यही बेलादेखि नै दसैंमा टिका लगाउन सुरु भएको हो।

अझ नेवारहरुले टिका लगाउने चलन पनि फरक रहिआएको छ। नेवारहरुले दसैंलाई मोहिनी पनि भन्ने गर्छन्।

टिकाको रंग समयअनुसार फरक–फरक लगाइन्छ। सेतो शान्तिका लागि, पहेँलो पितृ कार्यहरुमा, रातो र कालोलाई शक्तिको प्रतीकका रुपमा लिइन्छ। बडादसैंमा ब्राह्मण तथा क्षेत्रीले निधारभरी रातो टीका लगाउँछन् भने गुरुङ, राई, मगर, लिम्बु, तामाङ लगायत जनजातिले सेतो टिका लगाउँछन्।

डा. गुरुङका अनुसार नेवारहरुले पूजा गर्दाखेरि माटोको पालामा तेल राखेर दियो बाल्छन्। यसरी बालेको दियोको केही माथि अर्को पालाले छोपिन्छ। दिनभरी नै यसरी छोप्दा माथिबाट छापिएको पालामा कालो ध्वाँसो जम्मा हुन्छ।  बौद्धिक एवं तान्त्रिक विधिबाट निकालेर नेवारहरुले दशमीको दिनमा यही मोहिनीलाई टीकाका रुपमा लगाउने गर्छन्।

तस्बिर: गायिका मेलिना राईको फेसबुकबाट।

त्यसमा शक्ति उपासना हुने उनी बताउँछन्। दसैंमा मात्र नभइ जुनसुकै पूजा गर्दा पनि नेवारहरुले मोहिनी थाप्ने उनी बताउँछन् तर दसैंमा शक्ति उपासनाको महत्व बढी भएको उनको तर्क छ।

दसैंमा टीका के हो भन्ने विषयमा संस्कृतिविद्हरुको धारणा केही हदसम्म मिल्दोजुल्दो देखिन्छ। संस्कृतिविद् डा.वीणा पौडेलका अनुसार दसैंमा धानको सग्लो सिता अर्थात अक्षतालाई निधारमा लगाउने चलन छ। ढिकीमा नकुटी नङले छोडाएको चामलको प्रयोग पनि गर्ने गरिन्छ अक्षता मुस्नका लागि।

पौडेलका अनुसार दसैंमा सरस्वती, महाकाली र महालक्ष्मी गरी तीन देवीलाई आह्वान गरिन्छ। सरस्वतीलाई चढाउने चीजहरु कमलको फूल, मोतिको माला लगायत सबै सेतो रङको हुन्छ। पछि शक्तिको प्रतिकको रुपमा चण्डी र कालीलाई रातो रङ चाहिने हुनाले दुवै रङले टिका लगाउने चलन सुरु भयो।

उनका अनुसार नेपालका विभिन्न समुदायमा दसैंमा सेतो टिका लगाउने चलन थियो। केही समयपछि रातो रङको समिश्रण भयो। केही समुदायहरुले सेतो रङलाई नै पवित्र मान्छन्। बौद्ध धर्म मान्नेहरुले पनि सेतो टिका लगाउने चलन रहिआएको छ।

दसैं कहिलेदेखि सुरु भयो भनेर ठ्याकै प्रमाण नभएको तर नेपालको पुरानो परम्परा रहेको उनले बताइन्। नेपालको सन्दर्भमा यो दुईवटा पक्षसँग जोडिएको पौडेलको भनाइ छ। एउटा सामाजिक पक्ष अर्थात घर–घर गएर टिका लगाउने। अनि अर्को देवीलाई पूजाआजा गरेर शक्ति आर्जन गर्ने।

उनका अनुसार भारतमा विजया दशमीलाई नवरात्र पनि भन्छन्। उनीहरुले घर–घरमा टिका लगाउन जानेभन्दा पनि खराब तत्वको अन्त्य भएको विजया उत्सव भनेर विजया दशमी मनाउँछन्।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्