सशस्त्र प्रहरीको दसैँ: घर जान नपाउँदा खल्लो भए पनि यतै रमाइलो गर्छौँ (भिडियो)

काठमाडौँ – खुमलटारस्थित सशस्त्र प्रहरी बलको ब्यारेकमा पुग्दा गएको शनिबार प्रकाशमणि दुवाडी भोलिपल्टको कामका लागि तयारी गर्दै थिए ।

धादिङका दुवाडी सशस्त्र प्रहरीमा सहायक निरीक्षकका रुपमा कार्यरत छन् । सशस्त्र प्रहरीको सेवामा उनी विगत ९ वर्षदेखि छन् । यो अवधिमा उनले धेरैपटक ब्यारेकमै दसैँसहितका चाड मनाएका छन् ।

‘ब्यारेकमा दसैँ मनाउँदा पनि रमाइलो नै हुन छ हामीलाई त । तर बुवा–आमा घरपरिवारसँगै नहुँदा केही खल्लो त हुन्छ । तर राष्ट्रिय हित र जनताका लागि सेवा गर्ने पाउँदा पनि त खुशी नै लाग्छ’, उनले भने ।

दसैँ जहाँ मनाए पनि आफूहरुका लागि पनि महान चाड नै रहेको उनले बताए । उनले भने, ‘त्यसैले त हामीले ब्यारेकमा पनि रमाइलो गरेर मनाउँछौँ । सिनियर सरहरुको साथ र प्रेमले गर्दा पनि हामीलाई ब्यारेकको दसैँ र घरको दसैँ उस्तै लाग्छ । साथीभाइ यहाँ पनि हुन्छन् । यति हो यहाँ बुवा–आमा हुनुहुन्न ।’

कोरोना भाइरसको महामारीअघिका दसैँमा ब्यारेकमै भोज हुने र सपरिवार सामेल हुने गरेको उनले सुनाए । तर अहिले कोरोना महामारीका कारण सावधानी स्वरुप त्यस्ता कार्यक्रम भने नहुने उनले बताए । ‘टीका जमरा लगाउने र शुभकामना आदानप्रदान गर्ने सबै हुन्छ । ब्यारेक नै हाम्रो घर–परिवार हो’, उनले भने ।

छुट्टी मिलाएर आउन मिल्छ भने आउनु भनेर घरबाट भन्ने गरेको सुनाउँदै उनले भने, ‘मलाई मात्र होइन, सबै सुरक्षा निकायमा आवद्ध साथीहरुलाई भन्नु हुन्छ होला । तर देश र जनताका लागि भनेर सेवामा लागेपछि सधैँभरी घरपरिवार भनेर हुँदैन ।’

भौतिक रुपमा उपस्थित हुन नसके पनि सामाजिक सञ्जालसहितका प्रविधिको माध्यमबाट भर्च्युअल रुपमा भने घरको दसैँमा सामेल हुन पाइने उनले बताए । ‘हामी भन्दा अगाडिका सरहरुले त यसरी बोल्न पाउनु भएको थिएन । त्यो बेला कसरी गर्नु भयो होला ? यसले पनि हामीले मन बुझाउन सजिलो हुन्छ’, उनले भने ।

दसैँको बेला पनि ड्यूटी गर्ने गरेको उनले बताए । उनले भने ‘दसैँको बेला धेरैजसो गाउँ जानु हुन्छ, जसको सम्पति हामी सुरक्षाकर्मीको जिम्मा हुन्छ । जनताको हरेक कुराको सुरक्षा गर्नु भनेको म र म जस्ता सुरक्षाकर्मीको कर्तव्य हो । त्यसैले पनि अरु सुतेको बेला हामी ड्युटीमा हुन्छौँ ।’ आफूहरुलाई यसै खुशी मिल्ने उनले बताए ।

 

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्