प्रतिगमनविरुद्धको आन्दोलनमा पार्टीका केही गद्दार नेताले धोका दिएः मातृका यादव

वीरगञ्ज – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मात्रिका यादवले ५ दलीय गठबन्धन प्रतिगमन विरुद्धको गठबन्धन भएको हुँदा आगामी निर्वाचनसम्म सँगै लैजाने बताएका छन्।

रौतहटको यमुनामाई गाउँपालिकाद्वारा बडादसैं, तिहार तथा छठ पर्वको अवसरमा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले प्रतिगमनविरुद्धको आन्दोलनमा पार्टीका केही गद्दार नेताले धोका दिएको बताए।

उनले समग्र आन्दोलनलाई धोका दिएर गएकाहरू फेरि फर्किने मानसिकतामा रहेको हुँदा उनीहरूले जनतासँग माफी मागेर मात्रै पार्टीमा भित्रिने वातावरण बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीयतालाई मजबुत गर्ने जिम्मा ५ दलीय गठबन्धनको हातमा रहेको बताउँदै प्रदेश २ मा प्रहरी समायोजन प्रक्रिया अगाडि बढिसकेको र संघीय सरकारका गृहमन्त्रीसँग सहकार्य भइरहेको बताए।

उनले ओलीको प्रतिगमनलाई परास्त गरी ५ दलीय गठबन्धन अगाडि बढिसकेको र अब समृद्धि र विकासको यात्रालाई कसैले रोक्न नसक्ने दाबीसमेत गरे।

यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिलकुमारी साह, माओवादी केन्द्रका नेता गोपाल ठाकुर, समीर भट्टराई, शिवम साहलगायतको सहभागिता थियो।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्