मोरङमा सुरक्षा गार्डमाथि गोली प्रहार गरी बैंक लुटपाट

घाइते सुरक्षा गार्ड शीतल कुँवर।

मोरङ – मोरङको धनपालथान गाउँपालिकास्थित एक बैंकमा लुटपाट भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गाउँपालिकास्थित कर्सिया बजारमा रहेको सिटिजन्स बैंकमा सोमबार दिउँसो लुटपाट भएको हो।

मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अुनसार बैंकका सुरक्षा गार्डलाई घाइते बनाएर लुटपाट भएको हो। घटनाबारे अनुसन्धान भइरहेको बताएका प्रवक्ता श्रेष्ठले लुटेराको संख्या र लुटिएको रकमबारे यकिन भइनसकेको जानकारी दिए।

उनका अनुसार बैंकका कर्मचारीले लुटिएको रकमबारे तथ्यांक मिलाउने क्रम भइरहेको छ। त्यसैगरी, घाइते सुरक्षा गार्डको घाँटी र पिठ्युँमा चोट लागेको प्रवक्ता श्रेष्ठले बताए।

घाइते गार्डलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ। स्थानीयका अनुसार दिउँसो ३ जनाले सुरक्षागार्ड शीतल कुँवरमाथि गोली प्रहार गर्दै लुटपाट गरेका हुन्। उनले बैंकमा संदिग्ध रुपमा प्रवेश गर्ने प्रयास गरेका ब्यक्तिलाई रोक्ने क्रममा गोली चलेको उनीहरुको भनाइ छ।

घटना र लुटेराबारे थप अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्