भारतीय सीमावर्ती जिल्लादेखि काठमाडौँसम्म स्रोत नखुलेका रकम झोलाभरी

काठमाडौँ – असोज १५ गते पर्साको विरगन्जबाट स्रोत नखुलेको रकम भन्दै साढे १५ लाख नगदसहित  तीनजना पक्राउ परे। पक्राउ पर्नेमा भारतीय नागरिक बिहार मोतिहारीका मुकेश पटेल र पूर्वी चम्पारनका विक्रम पटेल तथा पर्साको धोविनी गाउँपालिका–३ हरिहरपुरका बलिराम पटेल थिए। उनीहरु वीरगञ्ज महानगरपालिका–२५ र्सिसियास्थित छोटी भन्सार अगाडिबाट पक्राउ परेको प्रहरीको भनाई थियो।

पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–२ औरैया घर भइ भारतमा बस्दै आएका निरज कुमार राय र रामचन्द्र राउत रहेका छन्।

-गत शुक्रबार महोत्तरीबाट स्रोत नखुलेको १० लाख ४ हजार ४ सय रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गर्‍यो।  पक्राउ पर्नेमा मनराशिश्वा नगरपालिका–५ कटैयाका ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगाहा नगरपालिका– ७ की १८ वर्षीया बिन्दाकुमारी साह थिए।

उनीहरु मोटरसाइकलमा सवार थिए। प्रहरीले मोटरसाइकल चालक दीपेन्द्रले बोकेको झोलाभित्रबाट ५ लाख, मोटरसाइकलको सिटमुनिबाट २ लाख र मोटरसाइकलको बाँया भागको एयर फिल्टरको पल्लाभित्र लुकाई राखिएको ३ लाख र उनको साथबाट ४ हजार ४ सय बरामद भएको प्रहरीको भनाई थियो।

– प्रहरीले ११ लाख भारतीय रुपैयाँसहित एक जनालाई इलामबाट असोज २० गते पक्राउ गर्‍यो।  अग्रवालले  झोलामा बोकेको दुई हजार, ५००, २०० र १०० का नोट गरी ११ लाख भारु बरामद गरेको थियो।

-प्रहरीले असोज १० गते स्रोत नखुलेको रकम दाबी गर्दै  चार लाख ५१ हजार रुपैयाँसहित रौतहटबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो।

पछिल्लो समय दैनिकजसो स्रोत नखुलेको रकम दाबी गर्दै प्रहरीले मानिसहरु पक्राउ गरिरहेको छ। कानुनत: सम्पत्तीको स्रोत देखाउनुपर्ने व्यवस्था छ। राष्ट्र बैंकले पनि १० लाखभन्दा बढीको रकम कारोबार गर्दा बैङ्किङ च्यानलमार्फत गर्न नियम बनाएको छ। तर गैरकानुनी तरिकाबाट आर्जन हुने त्यस्ता रकमहरु बैङ्किङ च्यानलमार्फत आउँदैनन्। तस्करीसहितका विभिन्न गैरकानुनी कारोबारमा यस्ता किसिमका रकमहरु प्रयोग हुने गरेको प्रहरीको दाबी छ।

गत आर्थिक वर्षमा मात्र देशभर ६ करोड ३६ लाख ३५ हजार ७ सय ६० रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको प्रहरीको केन्द्रीय तथ्यांक छ। चालु आर्थिक वर्षमा पनि स्रोत नखुलेको दावीसहित देशभरबाट दुई करोड ८ लाख ५२ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।।

काठमाडौं उपत्यकामा स्रोत नखुलेका रकम 

प्रहरीले गत असोज ९ गते स्रोत नखुलेको  दाबी गर्दै ९५ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गर्‍यो। नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो।

सागरका साथबाट रु ४५ लाख र कृष्णका साथबाट रु ५० लाख बरामद गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरको भनाई थियो। चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ६६४५ नम्बरको माइक्रोमा सवार उनीहरुले झोलामा उक्त रकम लुकाइछिपाइ ल्याएका थिए। त्यसको अघिल्लो दिन मात्र काठमाडौंको खिच्चापोखरीबाट ३१ लाख रुपैयाँसहित पक्राउ परेका लक्ष्मण पौडेलको बयानका आधारमा उनलाई उक्त रकम अभिषेक अग्रवालले दिएको बताएपछि ती व्यक्तीलाई पनि ५४ लाख ५६ हजार रुपैयाँसहित पक्राउ गरेको थियो।

प्रहरीले भदौ १५ गते कालिमाटीका फलफुल ब्यापारी मिन प्रसाद गौतमलाई ३० लाख ७ हजार रुपैयाँसहित पक्राउ गरेको थियो। उक्त रकमको स्रोत खुलाउन नसकेको भन्दै ती व्यक्ति हुन्डी कारोबारी भएको प्रहरीको दाबी थियो। भदौ २२ गते प्रहरीले नागढुंगाबाट भारतको पश्चिम बंगाल घर भएका १९ वर्षीय शोविक आदतलाई प्रहरीले ११ लाख रुपैयाँसहित पक्राउ गरेको थियो।

प्रहरीले गत पुसमा नागढुंगाबाट एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको थियो। उनीहरुले कारको स्पेयर टायर मुनिलुकाएर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त रकम बरामद गरेको थियो। काठमाडौँ प्रहरीले गत मंसिरयता मात्र स्रोत नखुलेका रकमको दाबीसहित जिल्लाका विभिन्न ठाउँबाट ५ करोड ५६ लाख ७३ हजार रुपैयाँ बरामद गरेको छ।

यसरी बरामद भएका रकम र व्यक्तिसहित प्रहरीले थप अनुसन्धानका लागि सम्पत्ती शुद्धिकरण विभाग, भन्सार कार्यालय, राजस्व अनुसन्धान विभाग लगायत निकायलाई बुझाउने गरेको छ।

असोज २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्