मोरङमा बैंक लुटपाट : २१ लाख ७० हजार लुटियो, तीनजना पक्राउ

घाइते सुरक्षा गार्ड शीतल कुँवर।

मोरङ – मोरङको धनपालथान गाँउपालिकास्थित सिटिजन्स बैंकको शाखा कार्यालयबाट २१ लाख रुपैयाँ लुटिएको छ।

सोमबार अपरान्ह करिब ४ बजे बैंकको सुरक्षागार्डमाथि आक्रमण गर्दै बैंक लुटिएको हो। सो क्रममा बैंकबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको मोरङ जिल्ला प्रमुख काशीराज दाहालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार घटनामा संलग्न भएको आरोपमा दुई भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिएको छ। अन्य पाँचजना भने फरार छन्।

उनीहरु भारतीय नागरिक रहेको खुलेको छ। पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार छन् ।

अर्का विराटनगर महानगरपालिका–३ मुनालपथका ३२ वर्षीय श्याम मुखिया छन् । विराटनगरका मुखिया लुटपाट योजनाका मुख्य योजनाकार हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले भने हालसम्म लुटिएको रकमबारे खुलाएको छैन। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले लुटपाट भएको रकमबारे बैंकले जानकारी नदिएको बताए।

घटनाका क्रममा बैंकभित्र दुई राउण्ड गोली समेत चलेको प्रहरीको भनाई छ। लुटेरालाई रोक्ने क्रममा बैंकका ३७ वर्षीय सुरक्षागार्ड शीतल कुवँर घाइते भएका छन्। घाँटी र पिठ्यूँमा चोट लागेका उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। उनलाई एक राउण्ड गोली लागेको र अर्को गोली लुटेरा समूहका सदस्यलाई लागेको प्रहरीको भनाई छ।

प्रमुख जिल्ला अधिकारी दाहालले अस्पतालमा रहेका घाइते कुवँरको स्वास्थ्य अवस्था बुझेका छन्। दाहालले घाइतेका आफन्तलाई भेट गर्दै उपचारमा कुनै कसर बाँकी नराख्ने बताए ।

असोज २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्