चियाको तेस्रो मुलुक बजारिकरणमा परराष्ट्र मन्त्रालयको चासो, बजार विस्तारमा सहयोग गर्ने आश्वासन

झापा – नेपाली अर्थोडक्स चियाको तेस्रो मुलुक बजारिकरणमा परराष्ट्र मन्त्रालयले चासो देखाएको छ।

केही दिन अघि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल लगायतको टोली पूर्व चिया बगान तथा उद्योगहरूको अध्ययन गरेपश्चात मन्त्रालयले नेपाली अर्थोडक्स चियाको तेस्रो मुलुकमा बजार बिस्तारका लागि पहल गर्ने मन्त्रालयका सचिव पौडेलले आश्वासन दिएका छन्।

टोलीले इलामको जीतपुर तथा माइपोखरी क्षेत्रका अर्थोडक्स चिया बगान तथा उद्योगको अवलोकन गरेको थियो।

सचिव पौडेलले चिया उद्योगीहरूसंगको छलफलमा चिया निर्यातमा देखिएका समस्याका बारेमा चासो राखेका थिए। चिया उद्योगीसंग उनले भने, ‘मन्त्रालयको मातहतमा रहेका निकाय चिया निर्यातमा गर्नसक्ने सबै सहयोग गर्नेछ। तर तपाईंहरू मन्त्रालयको निरन्तर सम्पर्कमा रहनु होला।’

तेस्रा मुलुकहरूमा चिया निर्यात गरिरहेको इलामको गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले ४० वटा देशहरूमा रहेका नेपाली दूतावासमार्फत नेपालको चिया बजारिकरणमा सहयोग गरिदिन सचिव पौडेलसंग आग्रह गरे।

चापागाईंले भने, ’४० वटा देशका दूतावासले चिया प्रवर्द्धनमा सहयोग गरे नेपालको अर्थोडक्स चियाले विश्व बजारमा पहिचान पाउने थियो।’

अहिले चिया उद्योगीको आफ्नै पहल नेपालमा उत्पादित अर्थोडक्स चियाको थोरै हिस्सा तेस्रा मुलुकहरूमा निर्यात हुने गरेको छ।

नेपालको चियाको आन्तरिक खपत बाहेक अधिकांश हिस्सा भारतीय बजारमा निर्भर छ। तेस्रा मुलुकहरूमा निर्यात भएर बाँकी रहेको चिया भारतनै निर्यात गर्नुको विकल्प छैन। तर तेस्रा देशहरूमा बजार बिस्तार भए तेस्रो मुलुक निर्यातमा बृद्धि हुने चिया उद्योगीहरूको भनाइ छ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले भने, ‘अहिले मैले नै आफ्नै पहलमा झापामा उत्पादन भएको सिटिसी चिया जापान तथा सिंगापुर निर्यात गरिरहेको छु। भारतको विकल्प खोजिएन भने नेपाली चियाको बजार बिस्तारमा ठेस लाग्छ। अन्य देशहरूमा विकल्प खोज्नै पर्छ।’

चिया उद्योगीहरूले नेपालको नजिकको तेस्रो मुलुक बांगलादेश पनि नेपाली चियाको ठूलो बजारको रुपमा हेरेका छन्। तर अहिले बांगलादेश नेपाल चिया सोझै गइरहेको छैन।

मित्तलले भने, ‘बांगलादेश पनि निर्यात गर्नका लागि बाधा अवरोध हटे नेपाली चियाले बजार पाउने थियो।’

छिमेकी मुलुक भारतको दार्जिलिङमा अहिले चियाको उत्पादन धेरै घटेको र नेपालको चियाका बोट त्यहाँको भन्दा नयाँ र ताजा उत्पादन दिने भएकाले बजारिकरणमा सरकारको सहयोग अनिवार्य भएको चिया व्यवसायी बताउँछन्।

नेपालमा करिब ६० लाख केजी तयारी अर्थोडक्स चिया बार्षिक उत्पादन हुने गरेको छ।

असोज २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्