जमुनाहा नाकामा प्रहरीले गर्छ सिसिटिभीबाट निगरानी

नेपालगञ्ज – नेपालगञ्जको जमुनाहा नाकाका प्रहरी हप्ता दिनअघि चर्चामा रहे। भारतबाट घर फर्किएकाहरुसँग पैसा उठाएको पाइएपछि जमुनाहाका इन्चार्जसहित १८ जना प्रहरी फेरिए।

जमुनाहामा इन्चार्ज मीनबहादुर विष्टसहितको नयाँ टोली पठाइयो। नयाँ टोलीलाई ‘साख’ जोगाउने चुनौती रहेको छ। विष्टले यतिबेला बाहिरी तस्करीमात्रै होइन, आफ्नै कर्मचारीमाथि निरन्तर निगरानी गरिरहेको बताएका छन्।

जमुनाहा नाकामा सिसीटीभी एउटा चालु अवस्थामा थियो। विष्ट गएपछि तीन वटै चालु अवस्थामा बनाइएको छ। इन्चार्ज विष्ट सिसीटीभीमा बाहिरको दृश्य नियालिरहेका देखिन्छन्।

‘मैले यहाँबाट कसले कहाँ के गरिरहेको छ भन्ने सबै निगरानी गर्छु,’ इन्चार्ज विष्टले भने, ‘म आउनुअघि एउटा सिसीटीभी थियो। मैले तीन वटा चल्ने बनाएको छु। यहीँबाट कसले के गरिरहेको छ सबै देखिन्छ।’

यो नाकामा आएका इन्चार्ज बैरलै सेड्युल अनुसार परिवर्तन भएका छन्। अधिकांश कारबाहीमा परेर तानिएका छन्।

‘मेरो लागि चुनौती र अवसर दुवै छन्। काम गरेर देखाउनु छ, म त्यसमा लागिरहेको छु,’ इन्चार्ज विष्टले भने, ‘गलत काम हुन दिन्नँ।’

दसैं मान्न फर्किने नेपालीको भीड बढेको छ। नाका खुलेकाले सीमावर्ती बजारमा किनमेल गर्न जानेको भीड उस्तै छ।

नेपालगञ्ज नाकामा भारतबाट फर्किएका नेपालीलाई खोप लगाएर पठाउन थालिएको छ। एन्टिजेन जाँच चैत्रदेखि नै चलिरहेको छ। भारतबाट फर्किएका धेरैजसो नेपालीले उतै खोप लगाएको पाइएको छ।

कसैले दुवै डोज लगाएका छन् भने कसैले एक डोज। उनीहरुले खोप लगाएको कार्ड देखाउने गरेका छन्। खोप नलगाएका व्यक्तिलाई भेरोसेल खोप लगाएर पठाउने गरिएको छ। २१ देखि ३० दिनभित्र दोस्रो डोज आफ्नै पालिकामा गएर लगाउन भनिएको छ। एन्टिजेन जाँच निरन्तर चलिरहेको छ।

असोज २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्