मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोजेको आरोपमा चार जना पक्राउ

वीरगञ्ज– मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोजेको आरोपमा रौतहटबाट चार जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।

प्रहरीले रौतहटको गौर नगरपालिका–४ टिकुलिया बस्ने पुनम उपाध्याय, गुजरा नगरपालिका–३ बस्ने उमाशंकर तिवारी, पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरी टोल बस्ने सुनिता यादव र वीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने नैना कुमारी मण्डललाई पक्राउ गरेको हो।

पक्राउ परेका चारै जना मिलेर पूर्वयोजना अनुसार गुजरा नगरपालिका वडा नम्बर ३ सिमरा टोल बस्ने विजय शंकर तिवारी र वडा नम्बर १ भसेडवा बस्ने रामलाल महतो कुशवाहालाई फसाउनको लागि दुबै जना चढेर आएको मोटरसाइकलमा लागुऔषध राखेका थिए।

उनीहरुले तिवारी र कुशवाहालाई खाना खान भनि कोठामा बोलाउँदा ना १९ प ६७३३ नम्बरको मोटरसाइकलमा पुगेका दुबैजनाको मोटरसाइकलमा पक्राउ परेका चारैजनाले लागुऔषध राखेर प्रहरीलाई खबर गरेको भनि अनुसन्धानको क्रममा खुलेको रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।

पक्राउ परेका चारैजनाको साथबाट प्रहरीले लागुऔषध निट्राजेपाम ४ पता, निट्राभेट २ सय ९६ पिस, डाईजोपाम ७ वटा, ईन्जेक्सन १६ वटा बरामद गरिएको उनले बताए।

पक्राउ परेका चारैजनालाई आपराधिक षडयन्त्र तथा लागुऔषध शीषर्कमा मुद्दा दर्ता कारवाही प्रक्रिया अघि बढाइएको चिमरियाले बताए।

असोज २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्