केपी ओलीले कूटनीतिक पहल नै गरेनछन्, कांग्रेसले बल्ल थाल्यो: प्रकाशशरण महत

प्रकाशशरण महत। फाइल फोटो।

काठमाडौँ- सत्तारुढ दल नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्।

सहमहामन्त्री महतले भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई संवाद र कूटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताएका हुन्।

उनले भारत भ्रमणका क्रममा व्यापार घाटाको समस्या, महाकाली तुइन प्रकरण र कोभिशिल्ड सप्लाइको बारेमा छलफल भएको बताए।

उनले महाकालीमा भारतीय एसएसबीका जवानले तुइन काटिदिँदा नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा भारत सरकारले छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने कुरा राखेको र यसमा भारत सरकारले चासो देखाएको बताए।

उनले भारत भ्रमणका क्रममा आफूले नेपाल सरकारको तर्फबाट राख्नुपर्ने मुख्य कुराहरु र मुद्दाहरु उठाएको बताए।

भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा आफूले दुवै देशको हितका विषयमा चर्चा गरेको उनले बताए। सहमहामन्त्री महतले भने, ‘हामीले भारतीय विदेश मन्त्रीसँग भेट गर्यौं, उहाँसँग मूलतः नेपालका केही मुद्दाहरुलाई हामीले प्रमुख रुपमा उठायौँ, ती मुद्दाहरुमा सीमा समस्या समाधान गर्ने, वार्ता प्रक्रिया अगाडि बढाउने,र वार्ता भन्दा अर्को विकल्प छैन,दुई देशको बहुआयामिक सम्बन्ध छ, सांस्कृतिक, सामाजिक, राजनीतिक, हरेक किसिमको जुन सम्बन्ध छ, यति धेरै बहुआयामिक सम्बन्ध भएको देशमा बेलाबखत समस्याहरु उत्पन्न हुन्छन्,तर समस्या उत्पन्न भएपनि हाम्रो वार्ता, संवाद मार्फत् त्यसलाई समाधान गर्न सकिन्छ,समाधान बिहीन कुनै समस्या हुन सक्दैन,त्यसैले चाहे सीमा समस्या होस्, चाहे अन्य व्यापारको समस्या होस्, मैले व्यापार घाटाको समस्या पनि उठाएको थिएँ,यी तममा विषयमा छलफल भयो र सँगै महाकाली तुइन प्रकरणको विषयमा पनि मैले भने, हेर्दा सानो देखिन्छ,यो नेपाली जनताको भावनासँग जोडिएका कुराहरु छन्,यी कुराहरुलाई भारत सरकारले पनि छानबिन गरेर सम्बोधन गर्दा राम्रो हुन्छ भन्ने कुरा राखेँ, त्यसलाई सकारात्मक रुपमा लिनुभएको छ, त्यस्तै कोभिशील्ड सप्लाइको कुरा पनि उठाएँ, त्यसलाई पनि चाँडै सप्लाई गर्न प्रतिवद्धता भएको छ, म ठ्याक्कै डेट तोक्न त सक्दिनँ,केमिकल फर्टिलाइजरको सप्लाइका कुराहरु पनि हामीले उठायौँ,नेपाल सरकारले महत्वपूर्ण उठाउनु पर्ने मुद्दाहरु उठाएका छौँ।’

सहमहामन्त्री महतले नेपाली काँग्रेससँग भारतीय जनता पार्टी भाजपाले नेपाल सरकारलाई उच्च महत्व र प्राथमिकता दिएको बताए। उनले नेपाल सरकारका कुराहरुलाई भाजपाले उच्च चासो र समस्या समाधानका लागि गम्भीरताका साथ लिएको बताउँदै कोभिशिल्ड आपूर्ति र महाकाली तुइन प्रकरण लगायतका कुराहरुको तत्काल समस्या समाधान गर्ने बताए।

उनले भारतीय पक्षले महाकाली तुइन प्रकरणमा आफूहरुको संलग्नता नरहेको बताए पनि महाकाली तुइन प्रकरण नेपाली जनतासँग जोडिएको कुरा भएकोले सरकारले नै एकपटक छानबिन गरेर निष्कर्शमा पुग्न आग्रह गरेको बताए। सह हामन्त्री महतले भने, ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको राष्ट्रियता बलियो हुनुपर्छ र मात्र भारतको हीतमा छ भन्नुभयो, नेपाललाई सहयोग गर्न म तयार छु भन्नुभएको छ, समग्रमा मलाई लाग्छ, भ्रमणलाई भारतीय जनता पार्टीले उच्च महत्व दिएको छ, नेपाल र नेपाली काँग्रेस पार्टीसँग महत्वपूर्ण र निकट सम्बन्ध राख्न चाहेको, नेपालको सरकोकारका विषयहरु, चासो र चिन्ताका विषयहरुलाई उच्च प्राथमिकताका साथ सुनेको र त्यसलाई गम्भीरताका साथ लिएको मैले पाएँ, हामीले पनि हामी सम्बन्धित निकायमै कुरा राख्छौँ, सडकमा बोल्दै हिँड्दैनौँ भन्यौँ, नेपाली जनतासँग जोडिएका कुरा हेर्नुपर्छ भन्दा उहाँहरुले अहिलेको भेटघाटमा अति महत्वका साथ र गम्भीरताका साथ हाम्रो कुराहरुलाई लिएको कतिपय कुराहरुलाई तत्काल सम्बोधन गर्ने कुराहरु भएकोले भ्रमण फलदायी पाएँ । कोभिशील्ड सप्लाई,तुइन प्रकरण, उनीहरुले त्यहाँ हामी संलग्न थिएनौँ भन्ने आयो ।’

सहमहामन्त्री महतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कूटनीतिक पहल नै नगरेको बताउँदै आफूले भारत सरकारसँग कूटनीतिक पहल शुरु गरेको बताए। उनले पूर्व सरकारले जनतातिर मात्रै फर्केर ठूलो स्वरले कराएको तर सरकारी तहमा कुनै कूटनीतिक पहल नगरेको आरोप लगाए। उनले नेपाली काँग्रेस तर्क, तथ्यांक र आधारमा विश्वास राख्ने भएको बताउँदै अब कूटनीतिक पहलद्वारा समस्या समाधान हुँदै जाने बताए।

सहमहामन्त्री महतले भने, ‘पछिल्लो सरकारले त ठूलो कुरा मात्रै गर्‍यो, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त चर्को कुरा गर्ने, उहाँले कूटनीतिक तवरमा कुनै पनि कुरा बोल्नुभएन,हामीले त पार्टी तहमा पनि कुराहरु उठाइरहेका छौँ, सरकारी तहमा पनि कुराकानी गरिरहेका छौँ, हामी गम्भीर रुपमा सम्बन्धित ठाउँमा कुरा गर्नेमा विश्वास राख्छौँ, जनतातिर फर्केर ठूलो स्वरले कराउने,तर जहाँ कुरा राख्नुपर्ने हो त्यहाँ कुरा नराख्ने,त्यो गलत हो, त्यसले नेपालको हित गर्दैन,हामी कूटनीतिक टेबलमै आधार र तर्कसहित तथ्यांकसहित प्रस्तुत हुने र उहाँहरुको भनाइमा के आधार छ, त्यसमा छलफल गर्छौं, यो भन्दा अघिको सरकारले त कुरा नै गरेन, तर हामीले गर्न थाल्यौं ।’

उनले भारतीय जनता पार्टी भाजपासँगको सम्बन्धले नेपाली काँग्रेस र देशलाई नै सकारात्मक हुने बताए।

कतिपय सम्बन्ध नेपालले बुझाउन नसकेर पनि समस्या आएको भन्दै उनले भारतसँग राम्रो सम्बन्ध बनाउन सम्वाद आवश्यक रहेको बताए। उनले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठ पर्वपछि प्रधानमन्त्रीको भारत भ्रमण हुनसक्ने बताए।

नेपालको राष्ट्रियता बलियो बनाएर अघि बढ्नु पर्ने र त्यसमै भारतको हीत हुने बताए। भारत भ्रमणमा सह महामन्त्री महतसहित उदय समशेर राणा र विजय चौरसियाको टीमले भाजपाका राष्ट्रिय महासचिवहरु अरुण सिंह, राजु बिष्ट,प्रवक्ता सुधांशु त्रिवेदी,महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष भनाथी श्रीनिवासन र विदेश विभागका प्रमुख विजय चौथाइवाल लगायतका नेताहरुसँग भेट गरेका थिए।

असोज २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्