नेपाली संस्कृतिलाई सभ्य र भव्य बनाऔँ, तोडमोड नगरौँः मुख्यमन्त्री आचार्य

काठमाडौँ– आफ्नो मौलिक संस्कृति तथा धार्मिक आस्था परम्परालाई जगेर्ना गर्दै अघि बढ्नुपर्नेमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले जोड दिएका छन्।

मोरङको रंगेलीस्थित सन्सारी माई भगवतीको मन्दिरमा मंगलबार गरिएको फूलपाती बढाइँको अवसरमा मुख्यमन्त्री आचार्यले आफ्नो मौलिक संस्कृतिलाई बिगार्दै जान नहुने बताए।

फूलपाती हिन्दुको संस्कृति रहेको बताउँदै मुख्यमन्त्री आचार्यले परापूर्वकालदेखि चलिआएको नेपाली परम्परा संस्कृतिलाई रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘हाम्रो नेपाली संस्कृति तलमाथि नहोस्। तोडमोड नहोस् र यसैलाई सभ्य, भव्य र व्यवस्थित बनाउँदै जानुपर्छ।’

संसारी माइस्थानमा विगत झैं प्रदेशस्तरीय फूलपाती बढाइँ गरिएको हो। पूर्वको शक्ति पीठमध्येको एक रहेको मन्दिरमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहित सर्वसाधारणले बाजागाजा र कलशयात्रा गरेका थिए।

मन्दिर परिसरबाट निस्किएको सांस्कृतिक झाँकीले करिब तीन किलोमिटर दूरी तय गर्दै स्थानीय स्कूलटोलस्थित बेलको रुखमा पुगेर विधिपूर्वक पूजाआजा गरेको थियो।

सो क्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सलामी चढाएका थिए। फूलपाती बढाइका क्रममा प्रदेशका अन्य मन्त्री, सरकारी कर्मचारी तथा राजनीतिक दल नेता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

मोरङको चिसाङ खोलाको किनारमा रहेको संसारी माइस्थानका मन्दिरमा गरिएको मनोकामना पूरा हुने, पूजाका लागि छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य मात्रामा भक्तजन पुग्ने गरेका छन्।

मन्दिरमा भक्तजनको आस्था र विश्वाससँगै प्रदेश सरकारले वितग दुई वर्षबाट फूलपातीका दिन बढाइँको आयोजना गर्दै आएको छ।

असोज २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्