स्थलगत रिपोर्ट

गोरखाबाट काठमाडौँ आउने फूलपातीको टुट्न लागेको चलन

हनुमान ढोकाभित्र पूजा गरिँदै।

काठमाडौँ जमलको फूलपाती घरमा अपराह्न ४ बजे ८ जनाको समूह थकाइ मारिरहेका थिए। ६ जना पूजारी र २ सुरक्षाकर्मीहरु बसन्तपुरबाट आउने बाजागाजा सहितको सैनिक टोलीलाई कुरिरहेक‍ा थिए। ४ बजेर १५ मिनेट जानै लाग्दा सैनिकको एक टुकडी तोप पड्काउँदै फूलपाती घर पुगे।

जमलको फूलपाती घरमा आइपुगेको ८ जनाको टोली बसन्तपुर दरबार क्षेत्रमा पुग्दा सयौँको सङ्ख्यामा परिणत भयो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सैनिकहरु मिसिएर भव्य बाजागाजा सहित लावालस्कर लागेर हनुमानढोका दरबारस्थित दशैँघरको नासल चोकमा प्रवेश गर्‍यो।

गोरखा दरबारको दसैंघरबाट काठमाडौँ लैजानको लागि फूलपाती बाहिर ल्याइँदै।

तोप पड्काउँदै जमलदेखि बसन्तपुर हिँडेको यो समूहको बीचमा मूल कलश अघि राखि फूलपातीको डोली बोकिएको थियो। फूलपातीको अगाडि र पछाडि बाजागाजाको टोली थियो।

यो क्षणलाई हेर्न उपत्यका बासी लालायित थिए। व्यस्त बजारमा आफ्नो काम छोडेर बाजागाजा सहितको टोलीलाई स्थानीयले हेर्न थाले। माहोल रमाइलो थियो। धेरैले यसलाई आफ्नो मोबाइलमा कैद गरे। बाजागाजासहितको हल्लाखल्लापूर्ण फूलपाती यात्रालाई देखेर त्यहाँ उपस्थित स्थानीय भन्दै थिए- बल्ल दशैँ आयो।

प्रक्रियागत र आस्थाको रुपमा पनि भव्य हुने फूलपाती यात्रा उद्गम भूमि गोरखाबाट उपत्यकामा पठाउने चलन भने लोपोन्मुख अवस्थामा पुगेको देखियो। फूलपातीमा जति उत्साह उपत्यकाबासीलाई छ, गोरखाबाट काठमाडौँ आउँदा भने त्यस किसिमको माहोल बनेन। गोरखामा साँझ भित्रिने फूलपातीको रौनक फरक भए पनि उपत्यका पठाउने फूलपाती औपचारिकतामा मात्र सीमित हुने अवस्थामा पुगेको छ।

जमलमा फूलपाती बढाइँ।

बिहान ७ बजे, गोरखा दरबार
कुहिरो काटेर घाम लाग्ने समयमा गोरखा दरबार परिसरमा मानिसको चहलपहल सामान्य थियो। कोभिड १९ को प्रभावले मानिसहरु सामागोरखा दरबार हेरचाह अड्डा प्रमुख हरिप्रसाद भुसाल मन्दिर परिसरमा भेटिए। उनी सञ्चारकर्मीलाई गोखरा दरबारबाट कसरी फूलपाती लैजाने प्रचलन शुरु भयो भनेर व्याख्या गर्दै थिए।
भुसालले भने, ‘गोरखाको छिमछिमे फाँटमा निमन्त्रणा पूजा गरेर प्रसाद खाई हनुमानढोका लैजाने फूलपाती तयार हुन्छ। हामीले साइत हरेर यहाँका पूजारी मार्फत फूलपाती काठमाडौँ पठाउँछौँ।’

बसन्तपुरबाट डोली जमल लैजाँदै।

भूसालले भनेजस्तै टोली काठमाडौँको लागि त हिँड्यो तर झण्डैँ सयौँको सङ्ख्यामा मन्दिर परिसरबाट निस्किएको टोली ३ जनामा सीमित भयो। गोरखा दरबारको चण्डिथानका पूजारी कुलबहादुर थापामागरले फूलपाती राखिएको पोका समाए, पुरातत्व विभागको सावारी चालकको साथमा शार्दूल गुल्म गण, जसलाई गुरुज्यूको पल्टन भनिन्छ, त्यहाँका एक सदस्य बसे। टोली त्यहाँबाट गाडीमा सीतापाइलासम्म फूलपाती बोकेर आयो।

गोरखा दरबार हेरचाह अड्डा कार्यालय प्रमुख हरिप्रसाद भुसाल।

त्यहाँ अघिल्लो दिन हनुमान ढोका मन्दिरबाट हिँडेको टोली पुगेको थियो। सीतापाइलामा छत्रे देउराली र गोरखाबाट ल्याएको फूलपातीलाई मिसाएर काठमाडौँको लागि अगाडि बढ्यो।

उपत्यकामा उत्सव (साँझ ४ बजे)
विष्णुप्रसाद कुँईकेल तिनै ६ जना पुजारीमध्येका एक थिए, २ जना सुरक्षाकर्मी फूलपातीको अघिल्लो दिन (सोमबार) बिहान १० बजे उनीहरु काठमाडौँबाट धादिङको लागि निस्किएका थिए। छत्रे देउरालीमा विधिवत पूजा गरेर एक बोका र एक थुमोको बली दिएपछि टोली फूलपातीको दिन बिहान ६ बजे काठमाडौँको लागि हिँडेको थियो।

जमलबाट दसैंघर लगिँदै फूलपाती।

बिहान ६ बजे धादिङको छत्रे देउरालीबाट फूलपातीको डोली बोकेर हिँडेको पूजारी टोली झण्डै ३० किलोमिटर पैदल यात्रा पार गरेर जमलमा साँझ ४ बजे आसपासमा आइपुग्यो। टोलीका नाइके विष्णुप्रसाद कुँईकेल खुट्टमा लागेका धुलो टकटकाउँदै थिए। कुँइकेल सहित ६ जना दशैँ घरका पूजारीको टोलि सोमबार साँझ नै छत्रे देउरालीमा फूलपाती लिन पुगेको थियो। मंगलबार बिहादेखि पानी मात्रै पिएर हिँडेको यो टोलीले सितापाइलामा आएर गोरखा दरबारबाट आएको फूलपाती लियो र पुन खाली खुट्टा बसन्तपुरको दशैँ घरको यात्रा थाल्यो।

कसरी शुरु भयो फूलपाती उपत्यका ल्याउने चलन ?
नेपाल एकीकरणको इतिहास बोकेको गोरखा दरबार हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशैँमा चर्चामा आउने गर्छ । हर्ष र उल्लासका साथ मनाइने दशैँका महत्वपूर्ण पूजाका प्रक्रिया यही दरबारबाट सुरु हुने गर्छन्। धार्मिक आस्थाको केन्द्रमा रहेको गोरखा दरबारमा शाहवंशीय राजखलकको कुलायन देवता गोरखकाली मन्दिर छ। यही मन्दिरबाट फूलपातीको साइत गरेर उपत्यकाको दशैँघरमा फूलपाती भित्राएपछि मात्र देशैभर विधिवत रुपमा दशैँ शुरु भएको सन्देश जाने गर्छ।

जमलमा पूजा गरिसकेपछि हनुमान ढोका दसैंघरमा लैजान तयारी अवस्थामा फूलपाती।

दशैँमा फूलपाती भित्राउने परम्परा पहिलेदेखि नै भएपनि वि. सं १८२४ सालमा जब श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा उपत्यका विजय गरे, उपत्यकामा विजयी भएपछि काठमाडौँमा राजधानी बन्यो। त्यसपछि हरेक दशैँमा गोरखाको फूलपाती उपत्यका भित्र्याउने चलन पनि शुरु भयो।

समाजशास्त्री प्राध्यापक दिनेशराज पन्तका अनुसार त्यो समयमा गोरखाका युवाहरुलाई जम्मा गरी गोरखा दरबारको दशैँघरमा पूजा गरिएको फूलपातीलाई ठाउँठाउँमा हस्तान्तरण गर्दै दौडाएर काठमाडौँको दशैँघरसम्म ल्याइन्थ्यो। सवारी साधन र सडक विस्तार नभएको त्यो समयमा निश्चित दूरीमा एक समुदायले बोकेको फूलपाती अर्को समुदायलाई हस्तानतरण गर्दै अन्त्यमा बसन्तपुर दरबार क्षेत्रभित्र रहेको दशैँघरमा आइपुग्थ्यो।

जमलमा पूजा गर्न ल्याइँदै फूलपाती।

गोरखाको सतिपिपल, बुङ्कोट, मैदी, कल्लेरी, छत्रे देउराली, भिम ढुंगा हुँदै हनुमानढोका आइपुग्ने फूलपाती जंगबहादुर राणाको पालामा भने बाटो परिवर्तन भएको देखिन्छ। नेपाली सेनाले १ वर्ष अगाडि बनाएको वृत्तचित्रका अनुसार त्यसपछि गोरखाबाट सतिपिपल, ताप्ले, अग्राङ, सल्याणटार, थुप्रे भञ्जाङ, सामरी खोला, हात्तीगौडा, रानीपौवा, बालाजु हुँदै रानीपोखरीबाट फूलपाती बसन्तपुर आइपुग्थ्यो। श्री ३ जंग बहादुर राणासँग लखन थापाको विद्रोहले गर्दा फूलपाती ल्याउने बाटो परिवर्तन भएको बताइन्छ।

हनुमान ढोकाभित्र पूजा गरिँदै।

त्यसपछि आरुघाटमा पुल बनेपछि अस्राङ नगई आरुघाट आउने बाटो खुल्यो। युवापुस्ताबाट आउने यो फूलपाती जीवनपुरमा केही हिस्सा चढाएर हनुमानढोका ल्याइन्थ्यो। तर २० औँ शताब्दीको मध्यमा गोरखाबाट काठमाडौँ जाने फूलपाती यात्रा रोकिएको छ। वृत्तचित्रका अनुसार राजा राजेन्द्रविक्रम शाह, सुरेन्द्रविक्रम शाहको पालामा फूलपाती काठमाडौँ नआएको स्थानीय जानकार बताउँछन्।

हनुमान ढोकाबाट तामझामका साथ फूलपाती लिन जमल जाँदै।

भौगोलिक दूरीका कारण असंभव भएको भन्दै गोरखाबाट फूलपातीमा ल्याइने अन्न, विरुवा (अशोक, बेल, दाडिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो) लाई छत्रे देउरालीमा सारिएको थियो। २०३७ सालमा गोरखासँग पृथ्वी राजमार्ग जोडिएपछि वि सं २०४० सालदेखि फूलपाती पुन गोरखाबाट काठमाडौँ आउन थालेको वृत्तचित्रमा उल्लेख छ।

२०७० सालसम्म पनि गोरखाबाट काठमाडौँ पठाउने फूलपाती निकाल्दा भव्य उल्लास हुने गरेकोमा अहिले परम्परा शान्त भएको एक प्रहरी अधिकारीले बताए। गोरखकाली मन्दिर परिसरबाट मंगलबार काठमाडौँ हिँडेको टोली सीतापाइलामा काठमाडौँबाट गएको टोलीलाई फूलपाती हस्तान्तरण गरेर हनुमान ढोका दरबार पुग्यो। गोरखाबाट आएका कुलबहादुर थापहनाले हनुमानढोका हेरचाह अड्डाका प्रमुखबाट फूलपाती आइपुगेको चिठ्ठी लिए अनि पैदल आउँदै गरेको टोली काठमाडौँ नआइपुग्दै गोरखा फर्किए।

बसन्तपुरमा फूलपाती बोक्ने डोली सिँगारिँदै।

फूलपातीलाई दरबारसम्म ल्याउन बाजागाजासहित तामझामको व्यवस्था गर्न पुरातत्व विभाग लागिपरेको थियो। उनीहरुलाई सघाउँदै थिए, काठमाडौँका शारदूल जंग गुल्म गण। यो गण पृथ्वीनारायण शाहले उपत्यकामा जितेर शासन गर्न थालिसकेपछि उपत्यकाबासीको मन जित्न बनाउको गण हो। यो गणले उपत्यकामा हुने हरेक जात्रा महोत्सवको रखवालीदेखि रौनक बढाउने काम गर्छ।

संंस्कार र परम्परा जोगाउन लागि पर्ने यो गणका सैनिक उपत्यकाका हरेक पर्वमा मौलिक पोशाक लगाएर हिँड्ने गरेको देखिन्छ। जात्रामा कालो रंगको पोशाक र भाला सहितको बन्दुक बोकी हिँड्ने यो टोली बाँसुरी बजाँउँदै पनि हिँड्ने गरेको देखिन्छ। यी सैनिकले लगाएका पोशाक र हतियारमा सजिएका ऐतिहासिक परम्परा अनुसारका हुन्। उनीहरुले लगाउने पोशाक पृथ्वीनारायण शाहको पालामा सैनिकले लगाउँथे। यी सैनिकले पड्काउने तोपहरु पनि राजा पृथ्वीनारायण शाहकै पालाको रहेको बताइन्छ।

बसन्तपुरबाट डोली जमल लैजाँदै।

जमलदेखि बसन्तपुरको नासल चोकमा पुगेको यो टोलीले लगेको फूलपातीलाई हनुमानढोका दरबारका मूल पुजारीले विधिवत पूजा गरी मूल चोकमा लैजान्छन्। उपत्यका बासीलाई साक्षी राखेर बसन्तपुर भित्र्याइएको यो फूलपातीलाई मूलचोकमा पूजा गरी दशैँघरमा भित्राइन्छ।

हनुमान ढोकाभित्र पूजा गरिँदै।

 

असोज २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्