नेपालमा ५३ हजारभन्दा बढी अपराधी फरार, कसरी पक्राउ पर्लान्?

काठमाडाैँ – किस्ट बैंकका तत्कालिन सीईओ कमल ज्ञवाली २०७५ असोजमा भारतबाट पक्राउ परे। ब‍ैङ्किङ कसुरमा मुद्धा दर्ता भएपछि फरार रहेका ज्ञवाली भारतको एक धार्मिक स्थलमा जोगीको भेषमा जिवन बिताइरहेका थिए।

२०७३ सालमा तत्कालिन पाटन पुनरावेदन अदालतले दोषी ठहर गर्दै ज्ञवालीलाई ४ वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। महानगरीय अपराध महाशाखाले फैसला कार्यान्वयनका लागि ज्ञवालीको खोजी गर्दै भारतीय प्रहरीको समन्वयमा पक्राउ गरेको थियो। आफू किस्ट बैंकको सिईओ हुँदा उनले धितोको बढी मुल्याङ्कन गरी ऋण प्रवाह गरी बैंकलाई आर्थिक हानी नोक्सानी पुर्‍याएको आरोप उनीमाथि थियो।

– बिपि कोइराला क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा दोषी ठहर भएकामध्ये राजेन्द्र पण्डित घटनाको ११ वर्षपछि पक्राउ परे। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले असोजको पहिलो साता पण्डितलाई नुवाकोटबाट पक्राउ गरेको हो। तत्कालीन पाटन उच्च अदालतले २०७० माघमा पण्डितलाई शरिर बन्धक तथा अपहरण मुद्धामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको सुनाएको थियो। पण्डित भारतमा लुकेर बस्दै आएको प्रहरीको दाबी थियो।

– काम लगाईदिन्छु भन्दै दोलालघाटबाट ल्याएर काठमाडौँको कोटेश्वर स्थिती एक होटलमा राखी जबर्जस्ती करणी गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई सिआईबीले असोजको पहिलो साता पक्राउ गर्‍यो। सिन्धुपाल्चोकको मानेश्वरा स्थायी घर भई हाल भक्तपुरको सल्लाघारीमा बस्दै आएका च्याङ्ग्वा भन्ने सागर तामाङ पक्राउ परेका हुन्। घटनाको १० वर्षपछि सीआईबीले उनलाई पक्राउ गरेको हो। २०७१ वैशाखमा काठमाडौँ जिल्ला अदालतले सागरलाई दोषी ठहर गर्दै ९ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो।

नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्ष २०७७/७८ मा देशभर विभिन्न शिर्षकमा ४१ हजार ८ सय ९८ मुद्धा (प्रहरीमा मात्र दर्ता भएको) दर्ता भएका थिए। ती मुद्धामा प्रहरीले ३८ हजार ३ सय ५१ जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा करिब सात सयभन्दा बढी विदेशी थिए भने भने २ हजार ४ सयभन्दा बढी महिला थिए।  तर दर्ता भएका सबै मुद्धामा आरोप पक्राउ पर्छन् भन्ने हुँदैन। पक्राउ नपर्नेहरु प्रहरीको फरार अभियुक्त र फरार अपराधीको सूचिमा पर्छन्।

के हो फरार भनेको? 

कुनै पनि मुद्धा दर्ता भएपछि आरोपी व्यक्ति सम्पर्क बाहिर भयो वा भागेर बस्यो भने त्यो फरार हुन्छ।

कहिलेकाहीँ व्यक्ति पहिचान भएर पनि प्रहरीले पक्राउ गर्न सक्दैन भने कहिले काहीँ मुद्धा दर्ता हुन्छ तर कसको संलग्नता थियो भन्ने कुरा खुल्दैन। अदालतले त्यस्ता मुद्धाको फैसला नगर्दासम्म उनिहरु फरार अभियुक्त हुन्छन् र फैसला गर्दा दोषी ठहर भए फरार अपराधी हुन्छन्।

ठूला अपराधमा मुछिएको वा दोषी ठहर छ भने प्रहरीको अन्तर्राष्ट्रिय सन्जाल-इन्टरपोलको सहायता लिने गरिन्छ। त्यस्ता व्यक्तिहरुविरुद्ध इन्टर पोलले डिफ्युजन, रेडकर्नर जस्ता नोटिसहरु जारी गर्दछ।

व्यक्ति पक्राउ नपर्दैमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्धा दर्ता गर्दैन भन्ने हुँदैन। प्रमाणहरु प्रशस्त भए, हद म्यादलाई हेरेर प्रहरीले अभियुक्तबिनै पनि मुद्धा अदालतमा पेश गर्न सक्छ। आरोपी व्यक्तिलाई चरणबद्ध समय दिएर पनि उपस्थित नभएमा अदालतले त्यस्ता अभियुक्तका विषयमा समेत फैसला गर्दछ।

नेपाल प्रहरीमा ठूला अपराधका फरार अभियुक्त वा अपराधी पक्राउ गर्न सीआईबीमा एउटा छुट्टै ‘पिलर’कै व्यवस्था पनि गरिएको छ। प्रहरीका हरेक युनिटहरुले आफ्नो कार्यालयबाट चलिरहेका वा चलिसकेका मुद्धामा फरार रहेकाको खोजी गरिरहेका हुन्छन्।

प्रहरी कार्यालयमा हरेक दिन मुद्धा दर्ता भइरहने हुँदा पुराना मुद्धाको अनुसन्धान र त्यस्ता मुद्धामा फरार रहेका अभियुक्त वा अपराधीको खोजी गर्न चुनौतिपूर्ण हुन्छ। यसमा कार्यालय प्रमुखको प्राथमिकता, व्यवसायीकता र सक्रियताको ठूलो भूमिका रहन्छ।

प्रहरी प्रधान कार्यालयका अनुसार हाल नेपालमा ५३ हजार ८ सय ५० जना अपराधि फरार छन्। उनिहरुलाई विभिन्न समयमा अदालतले दोषी ठहर गरे पनि प्रहरीले पक्राउ गर्न नसकेको हो। गत आर्थिक वर्षमा ७ हजार २ सय ५१ जना फरार अपराधी पक्राउ परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्