रोनाल्डोको ह्याट्रिक, पोर्चुगलको शानदार जित

विश्वकप फुटबलको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले शानदार जित दर्ता गरेको छ ।

युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ए मा रहेको पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक गोलको सहयोगमा लग्जेम्बर्गलाई ५–० ले पराजित गरेको हो ।

पोर्चुगलका लागि रोनाल्डोले ८, १३ र ८७ औँ मिनेटमा गोल गरेका हुन् । उनले सुरुका दुई गोल पेनाल्टी मार्फत गरे । रोनाल्डाको अन्तर्राष्ट्रिय गोलसंख्या ११५ पुगेको छ । यस्तै १७ औँ मिनेटमा ब्रूनो फेर्नान्डेस र ६९ औँ मिनेटमा अल्भेस पाल्हिन्हा गोन्काल्भेसले गोल गरेका हुन् ।

गएको महिना इरानका अलि दाईले १०९ गोल गरी बनाएको अन्तराष्ट्रिय प्रतिस्पर्धामा सर्वाधिक गोलको कीर्तिमान ३६ वर्षका रोनाल्डोले गएको महिना तोडेका थिए । त्यसयता उनले आफ्नो कीर्तिमान नै बिस्तार गरिरहेका छन् ।

मंगलबार राति नै भएको खेलमा अजरबैजानलाई ३–१ ले पराजित गरेको सर्बिया सात खेलबाट १७ अंकसहित समूहको शीर्षस्थानमा छ । एक खेल कम खेलेको पोर्चुगल १६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

पोर्चुगलले अब रिपब्लिक अफ आयरल्याण्डसँग प्रतिस्पर्धा गरेपछि सर्बियासँग खेल्नेछ ।

यसैबिच मंगलबार राति भएका अरु खेलमा इंग्ल्याण्ड र हंगेरी तथा युक्रेन र बोजनिया हर्जगोबिनाले समान १–१ को बराबरी खेलेका छन् ।

यस्तै पोल्याण्डले अल्बानियालाई १–०, इजरायलले माल्डोभालाई २–१, स्कट्ल्याण्डले फारोइ आइल्याण्ड तथा डेनमार्कले अस्ट्रियालाई समान १–०, स्वीट्जरल्याण्डले लिथुवानियालाई ४–०, बुल्गेरियाले उत्तरी आयरल्याण्डलाई २–१, स्वीडेनले ग्रीसलाई २–०, जर्जियाले कोसोभोलाई २–१ तथा फिनल्याण्डले काजखस्तानलाई २–० ले पराजित गरेका छन् ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्