अफगानिस्तान संकट

अफगानिस्तानमा सम्भावित आर्थिक विपद् टार्न जी–२० सदस्यहरुको अपील

विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समूह जी–२० का सदस्यहरुले अफगानिस्तानमा आर्थिक विपद्को अवस्था आउन नदिन अपील गरेका छन्।

जर्मन चान्सलर एङ्गेला मर्केलले अफगानिस्तानमा अराजक अवस्था आउन दिन नहुने बताइन्।

जी–२० देशका नेताहरुको सम्मेलन भर्च्युअल रुपमा भएको हो। संयुक्त राष्ट्रसंघले विश्वका नेताहरुलाई अफगानिस्तानको अर्थतन्त्रका लागि अर्बौं डलर छुट्याउन भनिरहेका बेला जी–२० सम्मेलन भएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानलाई गरिने सहयोग सीधै तालिबान सरकारलाई नदिई स्वतन्त्र अन्तर्राष्ट्रिय संस्थाको माध्यमबाट जानुपर्ने बताए ।

अफगानिस्तानको अर्थतन्त्र संकटको अवस्थामा जान नदिनका लागि अर्बौं डलर चाहिने भए पनि अहिलेसम्म दसौँ लाखको मात्रै प्रतिबद्धता देखिएको छ। त्यसले अत्यावश्यक आधारभूत आवश्यकता पूर्तिका लागि पनि अपुग हुने देखिन्छ।

मुस्किलले धानिइरहेको अफगानिस्तानको अर्थतन्त्र गएको अगस्टमा देश तालिबानको कब्जामा गएपछि कम्पन आएको हो। बैंकहरु धेरै दिन बन्द भए। अहिले धेरै बैंक खुले पनि नगद प्रवाहमा समस्या देखिएको छ।

तालिबान राजमा जीवन जोखिममा पर्ने डरले धेरै देश छोडेर बाहिरिएपछि ठूलो संख्यामा व्यापार व्यवसाय बन्द भएका छन्। यसले अर्थतन्त्रमा गम्भीर असर परेको छ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्