‘कुलःछी भ्वे’ दुईमाने भोज होइन – संस्कृतिकर्मीहरु

काठमाडौँ– दसैँको आज आठौं दिन अर्थात महाअष्टमी पर्व। नेपाली भाषीहरुले दुर्गा माताको पूजा गरी महाअष्टमी पर्व धुमधामसँग मनाउँछन्। आज नेपालभाषीहरुले भने कुलःछी भ्वे (कूल भोज) खाने गर्छन्। यो भोजमा नेपालभाषीहरु सपरिवार सहभागी हुनुपर्छ। पहिले घरको कोही सदस्य बित्दा १३ देखि ४५ दिनसम्म बार्नुपर्ने नाताकुटुम्ब यस भोजमा सहभागी हुने प्रचलन थियो। अहिले दुगु पूजा (देवाली) मा सहभागी हुने घरका सबै परिवार कुलःछी भ्वेमा अनिवार्य सहभागी हुनुपर्छ।

कुलःछी भ्वेलाई दुईमाने भोज भनेर अहिले बदनाम गरिएको भन्दै संस्कृतिकर्मीहरुले आपत्ति जनाएका छन्। उनीहरुले यो कुछी (दुईमाना) नभई कुलःछी भ्वे भएको स्पष्ट पारे।

उनीहरुका अनुसार कुछीको शाब्दिक अर्थ दुई माना हो तर कुलःछी भनेको दुईमाना होइन। कुलःछी भ्वे अप्रभंश हुँदै कुःछी भ्वे भए पनि यसलाई दुईमाने भोज भन्नु अनर्थ हुने र वाहियात भएको उनीहरुको भनाइ छ। नेपालभाषीहरुको पर्व र संस्कारलाई दूषित बनाउने उद्देश्यले कुलःछी भ्वेलाई दुईमाने भोज भनेर प्रचार गर्नु भाषिक र सांस्कृतिक अतिक्रमण भएको संस्कृतिकर्मीहरुले औंल्याएका छन्।

‘कुलःछी भोजलाई दुईमाने भोज भन्नु वाहियात कुरा हो’, संस्कृतिकर्मी विनोदराज शर्माले भने, ‘सबै शब्दको अनुवाद गर्नु अनर्थ हुन्छ। फेरि कुलःछीको अर्थ दुईमाना पनि होइन।’

कुलःछी भ्वे भनेको एकाघरका सपरिवार, दाजुभाइ अझ परिवारको सदस्य मर्दा १३ देखि ४५ दिनसम्म बार्नुपर्नेहरु एउटै कुल घरका सबै सँगै बसेर खाने भोज भएको उनले स्पष्ट पारे।

‘दसैँअघि एकाघरका कोही सदस्य कामको सिलसिलामा घर बाहिर हुन्छन्’, शर्माले अगाडि भने, ‘उनीहरुसमेत सहभागी भएर महाअष्टमीको दिन देवताको पूजा गरी प्रसादको रुपमा कुलःछी भोज खाने प्रचलन हो। भोजको नाउँमा दुईमाना खाने होइन।’

कुलःछी भोज तान्त्रिक विधिअनुसार सबै विधिविधान पुर्‍याएर खाने गरिनेसमेत उनले बताए। ‘त्यसैले तान्त्रिक महत्वको भोजलाई अनर्थ हुने गरी दुईमाने भोज भन्नु नेपालभाषीहरुको पर्व र संस्कारमाथि आक्रमण हो’, शर्माले भने, ‘अर्कोतिर नेपालभाषीहरुमाथि हेपाहा व्यवहार गर्नु हो। नेपालभाषीहरुको संस्कृतिप्रति यति असहिष्णु हुनुपर्ने कारण छैन।’

उनका अनुसार सभ्य तरिकाले पूजा गर्ने र खाने परम्परा नेपालीभाषीहरुको पुस्तैनी हो। यो नेपालभाषीहरुको सुरुदेखिकै चलन भएको उनी बताउँछन्।

वर्षमा एकदिन आउने पर्व, सबै घरपरिवार सँगै बसेर सामूहिक रुपमा खानुपर्छ भन्ने ठूलो कर्म, यस कर्ममा सबैले समान रुपमा सहकार्य गर्नुपर्छ र समान योगदान गर्नुपर्छ भन्ने परम्परा एवं चलनअनुसार कुलःछी भ्वेले निरन्तरता पाउँदै आएको संस्कृतिकर्मी शर्माको भनाइ छ।

‘कुलःछी भ्वे खाने कर्ममात्रै होइन। यो वर्षमा एकदिन मान्नुपर्ने ठूलो पर्व हो। यसमा घरपरिवारका सबै सदस्यको साथ र सहयोग हुनुपर्छ’, उनले थपे, ‘चाहे पूजा गर्ने कुरा होस्, चाहे भोज खान खर्च गर्ने कुरा होस्, चाहे खानेकुरामै होस्, भोजमा खाइने विभिन्न थरिको खानेकुरा पकाउनेलगायत सबैकुरामा सबैको सहभागिता र सहमति हुनुपर्छ।’

तयार भएका भोजका सामग्रीसमेत हामी यस किसिमले खाने है भनी कुलपरिवारमा सहमति र समझदारी गरिएपछि मात्रै कुलःछी भ्वे खाइने उनको भनाइ छ।

‘कुलपरिवारमा हरेक कुरामा संगठित र एकता हुनुपर्छ। कुनै पनि काम गर्दा सामूहिक प्रयास हुनुपर्छ, सबैको सहमति हुनुपर्छ भन्ने शिक्षा दिन कुलःछी भ्वे खाने परम्पराको विकास भएको हो’, उनी थप स्पष्ट पार्दै भन्छन्, ‘नेपालभाषीहरु पूजादेखि भोज खानसमेत संगठित छन् र हुनुपर्छ भन्ने शिक्षा दिन, आफ्नो संस्कार र संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण गर्न कुलःछी भ्वेको परम्परा बसालिएको हो। भएको पैसा र खाद्यान्नको फजुल खर्च गर्न र मोजमज्जा गर्न कुलःछी भ्वेको बन्दोबस्त गरिएको होइन। नेपालभाषीहरु पूजा गर्न र भ्वे खानसमेत संगठित छन् भन्ने यसले देखाउँछ।’

कुलःछी भ्वेमा सहभागी नयाँ पुस्ताले आफ्नो संस्कार यो रहेछ, यस्तो हुने रहेछ र भ्वे खान यो यो प्रक्रिया पूरा गर्नुपर्ने र यी यी सामग्री चाहिने रहेछ भन्ने जानकारी हासिल गर्ने उनको भनाइ छ। ‘भ्वेमा सहभागी जिज्ञासु नयाँ पुस्ताले यो किन र के को लागि भनी प्रश्न गर्नसक्छन्’, ‘शर्माले भने, ‘त्यसबेला हजुरबाबु, बाबुले यो यो कारण यी यी सामग्री यसकारण आवश्यक पर्छ भनी बताउँछन् र बुझाउँछन्। जसले गर्दा यो क्रम एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै अघि बढ्छ।’

खाद्यवस्तु कति थरि हुन्छन् ?

कुलःछी भ्वेमा नेपालभाषीहरुले ८४ व्यञ्जनसम्म तयार गरी खान्छन् भन्ने गरिन्छ। तर यस्तोसम्म पनि नहुने संस्कृतिकर्मीहरु बताउँछन्। उनीहरुका अनुसार कुलःछी भ्वेमा दसैँको नवरातमा कुन कुन शक्तिपीठ वा अष्टमातृकाको मठमन्दिरमा पूजाआजा गर्न गइन्छ र जानुपर्छ, ती सबैको प्रतिनिधित्व हुने गरी खाद्यवस्तु राख्ने गरिन्छ। जसअनुसार अष्टमातृका देवीहरुको प्रतीकस्वरुप कुलःछी भ्वेमा कम्तीमा नौ थरि खाद्यवस्तुका पकवान तयार गर्नुपर्छ। बाँकी सके ८४ व्यञ्जन नै पकाएर खाए पनि अन्यथा नहुने संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्।

उनका अनुसार ठाउँ, परिवेश र समाजअनुसार कुलःछी भ्वेका परिकारमा भिन्नता हुन्छ। तर पितृलाई चल्ने खानेकुरामात्रै यस भोजमा समावेश गरिने उनको भनाइ छ। ‘सपरिवार कुलःछी भ्वे खाँदा देवताको भाग एउटा छुट्टै राख्नुपर्छ’, संस्कृतिकर्मी शर्माले भने, ‘देवीदेवतालाई आफ्नै सामुन्ने साझी राखेर कुलःछी भ्वे खाँदा गल्तीवस वा कमजोरीबस राख्न नहुने र खान नहुने वस्तु परे पनि देवताको प्रसादको रुपमा खाइने हुँदा शरीर र स्वास्थ्यलाई कुनै हानी हुँदैन।’

केराको पातमा खाइन्छ कुलःछी भ्वे

नेपालभाषीहरुले कुलःछी भ्वे केराको पातमा खाने गर्छन्। केराको पात आकारमा ठूलो र फराकिलो हुन्छ। कुलःछी भ्वेमा एकैपटक सबै खाद्य परिकार राख्नुपर्ने भएकाले केराको पात प्रयोग गरिएको संस्कृतिकर्मीहरु बताउँछन्। ‘कुलःछी भ्वे खान सुरु गरेपछि कोही उठ्न पाउँदैन’, संस्कृतिकर्मी धौभडेलले भने, ‘त्यसैले पहिल्यै सबै खानेकुरा राख्न ठूलो ठाउँ चाहिन्छ। त्यसको लागि घर वरपर नै पाइने केराको पात राख्ने प्रचलन आएको हो। यो प्रचलनअनुसार अहिले पनि कुलःछी भ्वे खान ठूलो नभए सानो एक टुक्रामात्रै भए पनि केराको पात अनिवार्य छ।’

उनका अनुसार थालीमा कम चिउरा राख्दा पनि धेरै देखिन्छ तर केराको पातमा त्यो चिउरा थोरै हुन्छ। त्यसैले केराको पातमा चिउरा कम नदेखियोस् भनेर मानोले नै नापेर चिउरा राख्नेक्रम सुरु भएको हुनसक्ने उनले बताए। ‘मान्छेले खानसक्ने बढीमा दुईमाना हो’, धौभडेलले भने, ‘त्यसैले दुईमाना राखेर कुलःछी भ्वे खान थालियो तर अहिले यसैलाई दुईमाने भोज भन्न थालियो। यो गलत हो।’

कुलःछी भ्वेमा चिउरा थप्न पाइँदैन

संस्कृतिकर्मीहरुका अनुसार अरु भोजमा चिउरा, मासु, गेडागुडी, तरकारी जे जे छ, त्यो पटकपटक थपेर खाइन्छ तर कुलःछी भ्वेमा त्यसरी थपेर खान पाइँदैन। यस भ्वेमा सुरुमै सबै खानेकुरा पुग्ने गरी हालिन्छ। त्यसैले पनि कुलःछी भ्वेको भाग राख्दा अरु भोजभन्दा दोब्बर चिउरा राखिन्छ। साथै कुलःछी भ्वे खान सुरु गरेपछि नसकिएसम्म उठ्न पाइँदैन। सबै एकैपटक बस्छन्, एकैपटक खान्छन् र एकैपटक भोज सकाएर उठ्छन्।

‘सामान्य अवस्थामा एकजनाले एकपटकमा कम्तीमा एकमाना चिउरा खान सकिने विश्वास गरिन्छ’, संस्कृतिकर्मी धौभडेल भन्छन्, ‘तर कुलःछी भ्वे खाँदा थप्न नपाइने र उठ्न पनि नपाइने भएकाले एकैपटक दोब्बर अर्थात दुईमाना चिउरा राख्ने प्रचलन आएको हो।’ उनका अनुसार कुलःछी भ्वेमा पहिले पहिले मानाले भरेर चिउरा राखिँदैनथ्यो। पछि कुलःछी भ्वे अपभ्रंश हुँदै कुःछी भ्वे हुन थालेपछि दुईमाना अट्ने भाँडो कुलेबाटै चिउरा राख्ने क्रम चलेको उनको भनाइ छ।

‘हचुवाको भरमा चिउरा राख्दा बढी भएर खेर पनि जानसक्ने भएकाले सामान्य बेला एकमाना खान सकिने भएकाले भोजको बेला कम्तीमा दोब्बर खान सकिने विश्वासका साथ दुईमाना नापेरै चिउरा राख्ने चलन पछि आएको हो’, धौभडेलले भने, ‘अरु बेला डालोमा रहेको चिउरा हातैले भागमा हाल्ने गरिन्छ । तर कुलःछी भ्वे कुःछी भ्वे हुन थालेपछि चिउरा नापेरै राख्ने प्रचलन आएको हो।’

तर अहिले चिउरा राख्न कुले (दुई माना अट्ने भाँडो) भित्र कपडा वा कागज कोचेर खान सकिनेमात्रै राख्ने प्रचलन आएको छ। देवताको भाग र घरका थकाली र खानसक्ने व्यक्तिको भागमा भने अहिले पनि कुःछी (दुईमाना) चिउरा राख्ने गरिन्छ। कुलःछी भ्वे खाइसकेपछि देवतालाई राखिएको भाग जमरा कोठामा चढाइने गरिन्छ।

कहिलेदेखि हुन थाल्यो अतिक्रमण ?

राजनीतिक इतिहासमा काठमाडौँ उपत्यकामा नेपालभाषी मल्ल राजाहरुले शासन गरेका थिए। मल्ल शासनमाथि शाह राजा पृथ्वीनारायणले हमला गरे। उनले काठमाडौँ उपत्यकामाथि विजय पनि प्राप्त गरे। काठमाडौँ उपत्यकामा शाहवंशीय राजाहरुको शासन क्रमसँगै नेपालभाषी पर्व र संस्कारमाथि अतिक्रमण र हमला हुन थालेको संस्कृतिकर्मीहरु बताउँछन्। उनीहरुका अनुसार यो क्रम राणाशासनमा घनीभूत भएको थियो। एकल भाषा, एकल संस्कृतिमा जोड दिने क्रमसँगै नेपालमा अन्य भाषाभाषी र जातजातिमाथि थिचोमिचो बढेको थियो। जसअनुसार राजधानीमै भएर पनि नेपालभाषा, नेपालभाषी र उनीहरुको पर्व र संस्कारमाथि अतिक्रमण र हमला बढेको संस्कृतिकर्मी शर्मा बताउँछन्।

‘नेपालमा राणाकालको उदयभएसँगै नेपालभाषी पर्व र संस्कृतिमा व्यापक अतिक्रमण भएको देखिन्छ’, उनले थपे, ‘राणा शासकहरुले नेपालभाषी छोरीचेलीलाई दरबार भित्र्याए। दरबार भित्र्याइसकेपछि दसैँमा तिमीहरुको के के गर्नुपर्छ भन्दा नेपालभाषी छोरीचेलीहरुले आफ्नो पर्व र संस्कारको बेलिविस्तार लगाए। त्यसबेला राणाहरुले ‘ए तिमीहरुको मात्रै छ, ल हेर हाम्रो पनि छ’ भन्दै अतिक्रमण थालेको देखिन्छ।’

सांस्कृतिक अभियन्ताहरुको ध्यान नपुगेकै हो त ?

नेपालभाषी पर्व र संस्कारमा अतिक्रमण हुँदा पनि नेपालभाषी सांस्कृतिक अभियन्ताहरुको यसतर्फ ध्यान नपुगेको भन्दै संस्कृतिकर्मीहरुले असन्तुष्टि पोखे। उनीहरुले पाटीपौवा नबनेको, ढुंगेधारा संरक्षण नभएकोतर्फ मात्रै सांस्कृतिक अभियन्ताहरुको ध्यान गएको भन्दै गुनासो गरे।

‘मूर्त सम्पदाको संरक्षण त जसरी पनि हुन्छ, गर्नुपर्छ’, उनीहरुले भने, ‘तर अमूर्त सम्पदाहरुको संरक्षण र सम्बर्द्धन कसले गर्ने ? हामी आफै पश्चिमी पर्व र संस्कारको अन्ध नक्कलतर्फ अग्रसर छौं तर आफ्नो पर्व र संस्कार म्हासिँदै र हराउँदै गएकोमा चिन्तित छैनौं।’

संस्कृतिकर्मी शर्माले राणाकालमै नेपालभाषी पर्व र संस्कारमाथि भएको अतिक्रमण र हेपाहा प्रवृत्तिविरुद्ध भित्रभित्रै अभियान अघि बढेको सुनाए। ‘पञ्चायतकालसम्म यो अभियान सुषुप्त अवस्थामा चलेको थियो तर प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा यो अभियान चलेको देखेको छैन’, उनले भने, ‘नेपाल संवत्को न्हुदँमा तडकभडकसहित मोटरसाइकल र्‍याली गरिन्छ तर पर्व र संस्कारमाथि भएको अतिक्रमण र हेपाहा प्रवृत्तिको विरोधमा कुनै र्‍याली र जुलुस निस्किँदैन। किन ?’

उनले आफ्नो संस्कृतिमाथिको अतिक्रमणविरुद्ध जागरुक नेपालभाषीहरु आन्दोलित हुन ढिलो भइसकेको औंल्याए। ‘सांस्कृतिक अभियन्ताहरुले अभियान चलाउनुपर्ने बेला हो यो’, संस्कृतिकर्मी शर्माले भने, ‘पार्टी, पौवा, ढुंगेधाराका कुरा आए तर आफ्नो जीवन्त संस्कृतिमाथिको अतिक्रमणविरुद्ध कुनै कुरा आएन। यो दुर्भाग्य हो।’

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्