हार्वर्डको चिनियाँ भाषा कार्यक्रम बेइजिङबाट ताइपेइ स्थानान्तरण हुने

हार्वर्ड विश्वविद्यालयले आफ्नो चिनियाँ भाषा कार्यक्रम चीनको राजधानीबाट ताइवानको राजधानी ताइपेइ लैजाने भएको छ। आउँदो वर्षदेखि हार्वर्डले चिनियाँ भाषा कार्यक्रम ताइपेइ लैजाने व्यवस्थापकले जानकारी दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हार्वर्ड बेइजिङ एकेडेमी समर स्टडी अबोर्ड प्रोग्रामकी निर्देशक जेनिमर लिउले विद्यार्थीहरुले सञ्चालन गरेको पत्रिका द हार्वर्ड क्रिम्सउनलाई चिनियाँ भाषा कार्यक्रम ‘होस्ट’ गरिरहेको संस्थाबाट मित्रवत व्यवहारको कमीका कारण सार्ने निर्णय गरिएको बताएकी छन्। हार्वर्डको चिनियाँ भाषा कार्यक्रम बेइजिङ ल्याङ्ग्वेज एण्ड कल्चर युनिभर्सिटी (बिएलसियू) ले ‘होस्ट’ गर्दै आएको छ।

कक्षा कोठा तथा छात्रावासमा आवश्यकताअनुसारको पहुँच चिनियाँ भाषा कार्यक्रमले नपाएको लिउले बताएकी छन्। यसले गर्दा विद्यार्थीलाई प्रदान गरिने शिक्षा र सेवामा सम्झौता गर्नुपर्ने अवस्था आएको उनको भनाइ रहेको द हार्वर्ड क्रिम्सउनलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सन् २०१९ मा चिनियाँ भाषा कार्याक्रमलाई जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवसका अवसरमा उत्सव मनाउन नपाइने जानकारी गराइएको थियो। त्यसअघिका वर्ष जुलाई ४ मा सानो आकारको कार्यक्रम हुने गरेको थियो, जहाँ विद्यार्थीहरुले अमेरिकी राष्ट्रगान गाउने तथा पिज्जा खाने गर्थे।

अमेरिकी इन्स्टिच्युडहरुप्रति चिनियाँ सरकारको व्यवहारमा आएको परिवर्तन नै चिनियाँ भाषा कार्यक्रममा आफूहरुले भोगिरहेको वातावरणका लागि जिम्मेवार रहेको लिउले बताइन्।

तर हार्वर्ड सेन्टर साङ्घाईका अध्यक्ष तथा चिनियाँ अध्ययनका प्राध्यापक विलियम किर्बीले भने व्यवस्थापकीय कारण चिनियाँ भाषा कार्यक्रम बेइजिङबाट ताइपेइ सार्न लागिएको बताएका छन्।

चीन र ताइवानबीच तनाव बढिरहेको तथा ताइवानको स्वतन्त्रतामा अमेरिकी साथ एवम् चीन–अमेरिका सम्बन्धमा तनाव कायम रहेका बेला भएको यस्तो निर्णयलाई कूटनीतिक रुपमा अर्थपूर्ण मानिएको छ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्