दसैँघरमा सवारी भइनन् तलेजु भवानी

भक्तपुर – यस वर्षको दसैँमा पनि भक्तपुर दरबार क्षेत्रस्थित तलेजु भवानी दसैँघर सवारी भइनन्। दसैँको सप्तमीको दिन मूलचोकको दक्षिणस्थित मूल देवघरमा रहेकी तलेजु भवानी पश्चिमस्थित कुमारी चोकको दसैंघरमा सवारी हुनुपर्ने थियो। यसको लागि तुलजा यात्रासमेत गरिन्थ्यो तर गत वर्षजस्तै यस वर्ष पनि तुलजा यात्रा रोकिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

‘तुलजा यात्रा दोस्रोपटक रोकिँदा मूल देवघरमा रहेकी तलेजु भवानी दसैँघरमा सवारी भइनन्’, मूल नाइके जोशीले भने, ‘तुलजा यात्रा प्रत्येक वर्ष विजया दशमीको सप्तमी एवं फूलपातीको दिन हुन्छ तर गत वर्ष र यस वर्ष कोरोना भाइरसको कारण यो रोकियो।’

उनले तलेजु भवानीको तुलजा यात्रा नभए पनि तलेजु भवानीलाई मूल देवघरमै सप्तमीको सम्पूर्ण विधिविधान पूजा सम्पन्न गरिएको बताए।
अष्टमातृकाभित्र पर्ने शक्तिदेवीहरुमध्ये तलेजु मूल देवी मानिन्छन्। त्यसैले यसअघि तलेजुमा सप्तमीको दिन हुने तुलजा यात्रामा सर्वसाधारणको भव्य उपस्थिति हुन्थ्यो। बाजागाजासहित तुलजा यात्रा गरिन्थ्यो। तर तुलजा यात्रा रोकिएकासँगै बाजा पनि बजेन।

तुलजा यात्रामा पुरानो लुगा (घाजी नङ) लगाएका पुजारीहरु (राजोपाध्याय, जोशी र कर्माचार्य) संलग्न हुन्छन्। उनीहरुले मूल देवघरमा विराजमान भएकी तलेजु भवानीलाई बोकेर कुमारी चोकस्थित दसैंघरमा स्थानान्तरण गर्छन्। पञ्चाङ निर्णायक समितिको साइतअनुसार तुलजा यात्रा गरिन्छ।

कोरोना भाइरस संक्रमण फैलिनसक्ने भन्दै यस वर्ष पनि भक्तपुरस्थित तलेजुमा बलिपूजा रोकिएको छ। जसको प्रत्यक्ष असर तुलजा यात्रामा परेको तलेजुका नाइकेहरु बताउँछन्।

तलेजुका मूल नाइके जोशीका अनुसार दसैंभर दसैंभर तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ वटा हाँसको बलि दिइन्छ। तलेजुमा विशेष गरेर सप्तमी, अष्टमी र नवमी गरी तीन दिन बलि पूजा हुने उनी बताउँछन्।

बलि पूजा हुँदा तलेजुका पुजारीहरुले त्यसको भाग पाउँछन्। बलि पूजा रोकिँदा तुलजा यात्रा पनि रोकिएको हो। भक्तपुर तलेजु नेपाली सेनाको सुरक्षा घेराभित्र रहेको छ। त्यसैले तलेजुभित्र सर्वसाधारणको पहुँच सहज छैन। जसले गर्दा तुलजा यात्राको क्रममा सर्वसाधारणको प्रवेशलाई सहजै रोक्न सकिन्छ तर सर्वसाधारणको भीड लाग्ने बहानामा तुलजा यात्रा रोकिनु राम्रो संकेत नभएको तलेजुका नाइकेहरु नै बताउँछन्।

‘यसवर्षसमेत गरी दुईपटक तुलजा यात्रा रोकियो’, एक नाइकेले भने, ‘यो नजिर बनेर भोलि ससाना कुरामा पनि तुलजा यात्रा रोकिने सम्भावना बढ्यो। यसले हाम्रा जात्रापर्व, संस्कार र संस्कृति म्हासिँदै जाने खतरा बढ्यो।’

उनले तलेजु भवानीको पर्वपूजा तथा जात्रा रोकिँदा देशमा अनिष्ट हुनसक्नेसमेत औंल्याए।

मूल नाइके जोशीले तुलजा यात्रा रोकिएसँगै यस वर्ष तलेजुमा एकान्तकुमारीको सवारीसमेत नहुने भएको जानकारी दिए। महानवमीको दिन तलेजुस्थित दसैंघरमा एकान्तकुमारीको सवारी हुने परम्परा रहेको छ। त्यस्तै विजया दशमीको राती हुने तलेजुको पायो (खड्ग) जात्रा पनि नहुने उनले बताए।

पायो जात्रामा तलेजु भवानीको प्रतीकस्वरुप खड्गलाई सेतो घोडामा सवार गराएर भक्तपुर नगर परिक्रमा गराइन्छ। यस जात्रामा सर्वसाधारणको सहभागिता उल्लेखनीय हुने भएकाले कोरोना भाइरस संक्रमण हुने सम्भावना बढेकाले जात्रा नै रोकिएको उनले स्पष्ट पारे।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्