मुटुरोग विशेषज्ञ डा. यादव भट्टसँगकाे अन्तर्वार्ता

मुटुका बिरामीले मासुको प्रयोग कसरी गर्ने?

नेपालीहरुको महान चाड दसैँ सुरु भइसकेको छ। यो पर्व विशेषगरी मासुका मीठामीठा परिकार खाएर आफन्तजनसँग टीका लगाएर माउने गरिन्छ। पछिल्लो समय दसैँमा मासुका परिकार खाने फेसन जस्तै भइसकेको छ। अझ नहुनेहरुले ऋण गरेरै भए पनि दसैँमा मासु खानैपर्ने मान्यता छ।

तर चाडपर्वका बेला अव्यवस्थित ढङ्गले मासुको सेवन गर्दा स्वास्थ्यमा असर पर्न सक्ने विज्ञहरुले बताएका छन्। उनीहरुका अनुसार दसैँका बेला खानपिनमा ध्यान नदिँदा स्वस्थ मानिस पनि अस्वस्थ हुन सक्छन्। जसका कारण यस्तो बेलामा खानपिनमा विशेष ध्यान दिन आवश्यक रहेको चिकित्सकहरुले बताएका छन्।

दसैँका बेला उच्च रक्तचाप, मुटुरोग, मधुमेह र पेटजन्य समस्याका बिरामीले अझ विशेष ख्याल राख्नुपर्ने उनीहरुले बताए।
यस्ता विभिन्न पर्वमा मासु कति, कसरी भन्ने सन्दर्भमा मुटुरोग विशेषज्ञ डा. यादव भट्टसँग गरिएको कुराकानीः

दसैँमा मुटुका रोगीहरुले स्वास्थ्यको ख्याल कसरी राख्ने?

खासमा अन्य दसैँभन्दा यो दसैँ अलि फरक छ। गएको वर्ष पनि कोरोना भाइरसले गर्दा धेरै मानिसहरुले दसैँ मनाएको देखिएन। र, यो वर्ष धेरै मानिसहरु आफ्ना आफन्त परिवारहरुसँग दसैँ मनाउने सुरसारमा देखिन्छन्।

यसमा सबैभन्दा महत्वपूर्ण कुरा के छ भने मास्क कसैले पनि छोड्न भएन। मास्क लगाएर दसैँ दूरी कायम गर्दै मनाउनु आवश्यक छ।
योबाहेक खानेकुरा तथा चालचलनमा दसैँ कसरी मनाउने भन्ने हिसाबमा मुटुको रोगी वा अन्य बिरामी सबैले अपनाउनुपर्ने कुरा एउटै हो, चिल्लो कम गर्ने। नेपालमा चाडपर्वका बेला चिल्लोयुक्त खाने कुराहरु सेल, पुरी, त्यहीअनुसारको भुटन जस्ता कुराहरु अगाडि आउँछन्।

त्यहीअनुसारको खानेकुराहरुको सेवन गर्दा पछिका दिनहरुमा समस्या हुने डर बढी हुन्छ। त्यसमा पनि ठ्याक्कै मुटुका रोगीहरुको कुरा गर्ने हो भने खानेकुराबाहेक आफ्नो औषधिको सेवन गर्न बिर्सनु हुँदैन। चाडपर्वको बेला व्यस्त भइरहँदा औषधि सेवन गर्न बिर्सिन सक्छ। यसो हुँदा आफैलाई हानी हुन्छ।

जमघटका बेला मुटुका रोगीले ख्याल राख्नुपर्ने कुरा के हो भने उनीहरुलाई कोरोना भाइरसको संक्रमण भयो भने अन्य व्यक्तिहरुको तुलनामा बढी खतरनाक हुन्छ। यो कुरा विचार गर्न अत्यन्तै जरुरी छ।

मुटुका बिरामीले मासुको प्रयोग कसरी गर्ने?

धेरै फ्राई गरेको मासुको सेवन गर्नु हुँदैन। कसैले झोल बनाएर खान्छन् भने ठीक छ। मासुको सेवन धेरै नगर्ने, अलिअलि मात्र मिलाएर ४÷५ दिन मासु खाँदा धेरै समस्या हुँदैन। तर त्यही लगातार धेरै दिनसम्म खान थालियो भने फेरि त्यसले समस्या निम्त्याउन सक्छ।

दसैँ वा तिहारले मात्रै मुटु रोग ल्याउने वा मानिसहरुको स्वास्थ्यमा समस्या देखिने होइन। कुनै पनि व्यक्तिले वर्षौँदेखि कस्तो व्यवहार गर्दै आइरहेको छ, त्यो कुराले समस्या निम्त्याउने हो।

कसैले दसैँ वा तिहारमा मात्रै अलिकति चिल्लो खान्छ, तर वर्षौँभरि बारेको छ भने त्यस्तो व्यक्तिको मुटुमा समस्या देखिएला भन्ने हुँदैन। खानपिनको कुरामा निरन्तरता दिनु अत्यन्तै जरुरी हुन्छ। चार्डपर्वले हाम्रो बानी बिगार्न सक्छ। तर यसमा आफू सजक हुन जरुरी हुन्छ।

दसैँमा चिल्लो धेरै खाँदैमा मुटुमा समस्या देखिने वा अन्य कुनै रोग देखापर्ने भन्ने हुँदैन। यो कुरा सबैले विचार भने गर्नुपर्छ।

चिल्लो खाने कुराहरुको सेवनले रोगीहरुको स्वास्थ्यमा असर गर्न मद्दत गर्छ?

मद्दत गर्न सक्छ। रोगीहरुमा पहिल्यैबाट समस्या हुन्छ। कोहीमा चिल्लो बढी हुने हुन सक्छ। त्यस्ता व्यक्तिहरुले खानामा ध्यान पु¥याएनन् भने उनीहरुलाई अझ नोक्सान हुने सम्भावना बढी रहन्छ।

चिल्लो पदार्थको सेवनले स्वास्थ्यमा कस्तो समस्या देखिन सक्छ?

मुटुको कुरा गर्ने हो भने नशा बन्द हुने हुन्छ जसले गर्दा हृदयाघात हुन सक्छ। त्योबाहेक दिमागको नशा बन्द हुन सक्छ र स्ट्रोक हुन सक्छ। धेरै नै चिल्लो भयो भने पेटको समस्यालगायतका विभिन्न समस्याहरु देखिन सक्छन्।

विभिन्न रोगको औषधि सेवन गरिरहेका व्यक्तिहरुले मासुको मात्र कति सेवन गर्ने भन्ने हुन्छ?

ठ्याक्कै मासुको मात्र यति खाने भन्ने हुँदैन। सामान्यतया भन्ने हो भने बोसोयुक्त रातो मासुमा परहेज गर्नुपर्छ। त्यसको ठाउँमा माछा, कुखुराको मासु धेरै फ्राई नगरेर खाँदा नोक्सान हुँदैन। योबाट मानिसहरुलाई धेरै फाइदा हुन्छ।

मासु नै खानु हुँदैन भन्ने होइन कि चिल्लो नभएको मासु खानु पर्छ भन्न खोजेको हो। मासुसँग चिल्लो सम्बन्धित भएका कारणमात्र हामीले मासु नखानुस् भन्ने गरेको हो। तर ‘लिन मिट’ खाँदा कुनै फरक पर्दैन।

दसैँतिहार पछाडि मुटुसम्बन्धी समस्या लिएर अस्पताल पुग्नेहरुको संख्या बढ्छ भन्ने पनि छ नि?

सामान्यतया हाम्रो देशको कुरा गर्ने हो भने दसैँतिहारमा धेरै मानिसहरु घर पुग्छन्। आफ्ना परिवारको स्वास्थ्यमा केही समस्या देखिएलगत्तै अस्पताल पुर्‍याउँछन्। यो बेलामा संख्यात्मक रुपमा बिरामीको संख्या बढ्ने हो।

स्वास्थ्यको हकमा पछिल्लो पुस्ता अलि सहज भएको जस्तो देखिएको छ। परिवारमा अलिकति समस्या हुने बित्तिकै चेकजाँच गराउनुपर्छ भनेर अस्पताल पुर्‍याएको पाइन्छ।

बिरामीको संख्या हेर्दा दसैँ अगाडि ह्वात्तै बढ्छ र फेरि अर्को दसैँ सकिसकेपछि अस्पताल पुग्ने गरेको पाइन्छ। यसमा कोही सामान्य चेकजाँचका लागि पनि आउने गर्छन् भने कोही पुराना बिरामी पनि हुन्छन्।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्