मुगु बस दुर्घटनाका मृतक सबैको पहिचान खुल्यो

मुगुमा दुर्घटनामा परेको बस।

सिमकोट – मुगु बस दुर्घटनामा ज्यान गुमाएका मृतक सबैको पहिचान खुलेको छ। मुगुको छायाँनाथ रारा नगरपालिका– ७ को पिनागाउँस्थित तपनी खोलामा पर्ने जुम्ला मुगु सडक खण्डमा मंगलबार बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो।

दुर्घटनमा ज्यान गुमाउने सबैको सनाखत भएको हो। मृतकमध्ये २९ जना एउटै छायाँनाथ रारा नगरपालिकाका छन्। नेपालगञ्जबाट मुगु गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार दुर्घटनामा परेर अन्य १३ जना घाइते भएका छन्। त्यसमध्ये १२ जनाको नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमामा उपचार भइरहेको उनले जानकारी दिए। एकजना बालिकाको मुगु अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीद्वारा सनाखत गरिएका मृतकहरुमा छायाँनाथ रारा नगरपालिका ७ का १९ वर्षीय लग्न सेजुवाल र उनका २ वर्षीय छोरा, २१ वर्षीया अमृता शाही र उनको ५ वर्षीय छोरा, १२ वर्षका आदित्यविक्रम शाह, २२ वर्षीय महेन्द्र शाही र १६ वर्षीया सस्मिता बम तथा वडा नम्बर १० का १८ वर्षीया पूजा बुढा, २० वर्षीया मनदेवी बम, २० वर्षीया सरिता खड्का, १८ वर्षीय अमर साउद, २२ वर्षीय सुनबहादुर विक रहेका छन्।

त्यस्तै छायाँनाथ रारा नपा– ८ का २२ वर्षीय सन्तोष वितालु, ३३ वर्षीया प्यारी विक, ३३ वर्षीय भगवती चन्द, २३ वर्षीय आइतसिंह कामी, टोपबहादुर विष्ट र १८ वर्षीय नवीन बुढाको दुर्घटनामा ज्यान भएको थियो।

छायाँनाथ रारा नपा– १ का २३ वर्षीया चन्द्रदेवी मल्ल र १८ वर्षका चन्द्रप्रकाश भाम, वडा नम्बर ५ का २९ वर्षीय अजय कार्की र ३२ वर्षीया कमला बीसी, वडा नम्बर ६ का १९ वर्षीया राममाया भामको पनि मृत्यु भएको छ। यसैगरी १२ नम्बर वडा निवासी बसका चालक ३६ वर्षीय दानबहादुर रावल र २२ वर्षीया छाता साउद, ११ नम्बर वडाका २२ वर्षीय प्रकाश बुढाको दुर्घटनामा परी निधन भएको छ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्