टायर पङ्चर हुँदा मुगुमा बस दुर्घटना

मुगुमा दुर्घटनामा परेको बस।

मुगु – नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुबाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ। मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुबाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो। उक्त बसमा ४६ जना यात्रु रहेका थिए। दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको छ। यस दुर्घटनमा परेर १३ जना घाइते भएको प्रहरीले बताएको छ।

दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ। दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो। प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्नेबित्तिकै बस भिरबाट खसेको देखेको थियो। बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको हुँदा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको प्रहरीको अनुमान छ।

सोही मोडमा बस अनियन्त्रित भई भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए। दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरु दसैँ बिदामा घर आएका काठमाडाँैलगायत अन्य सहरका कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी रहेको बताइएको छ।

मृत्यु हुनेमा १८ पुरुष र आठ महिला तथा दुई नबालक रहेका छन्। दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भइसकेको छ। मृतकहरुको जिल्ला अस्पतालमा सनाखत भई शव परीक्षणपछि दाहसंस्कारका लागि घरपरिवारलाई जिम्मा लगाइने तयारी भइरहेको प्रनाउ भट्टराईले बताए। रासस

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्