मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्छुः श्रममन्त्री श्रेष्ठ

फाइल तस्बिर।

दमौली – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन्।

बडादसैँको आठौँ दिन बुधबार मनकामना मन्दिरको दर्शन गर्न पुगेका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिका पदाधिकारीसँगको भेटमा उक्त कुरा बताएका हुन्।

मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाबारे जानकारी लिँदै उनले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारका तर्फबाट पहल गर्ने बताए। ‘मनकामना मन्दिरको विकासका लागि व्यक्तिगत र सरकारका तर्फबाट मेरो पहल रहनेछ,’ उनले भने।

सो क्रममा मनकामना क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार जोशीले गुरुयोजनाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए। कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर भदौ २३ गतेदेखि खुला गरिएको हो।

प्रसिद्ध मनकामना मन्दिर दर्शन गर्न हजाराँै भक्तजन बर्सेनि यहाँ पुग्छन्। पूजाआजा गर्छन्, बलि दिन्छन् र परेवा उडाउँछन्।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्