सिटिजन्स बैंक लुटपाटमा संलग्न तीन जना सार्वजनिक

मोरङ– मोरङको धनपालथान गाउँपालिकास्थित सिटिजन्स बैंक लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा मोरङ प्रहरीले बैंक लुटपाटका क्रममा विराटनगर ८ का ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया सेखपुराका २८ वर्षीय सुनिल यादव र अररियाकै गोराहाका ३० वर्षीय विजय सहनीलाई सार्वजनिक गरेको हो।

सो क्रममा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन बिसीले घटनामा घाइते भएका सहनीलाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले गाउँपालिका–२ खयरबना चौकबाट पक्राउ गरेको जानकारी दिए।

बैंक लुटपाटका क्रममा आफ्नै साथीको गोली प्रहारले सहनीको देब्रे तिघ्रामा चोट लागेको उनले बताए। प्रहरीले पक्राउ गर्दै सहनीलाई रंगेली अस्पतालमा उपचारका लागि भर्ना गरिएको र हाल स्वास्थ्य अवस्था खतरामुक्त रहेको उनको भनाइ छ।

घटनाको अवस्था

सोमबार कर्सियाको बिपी चौकमा रहेको बैंकमा दसँैका कारण चलहपहल बढ्दो थियो। बैंकको सुरक्षाका लागि दुई जना मात्र सुरक्षागार्ड तैनाथ थिए।

दुवैजना दैनिक सुरक्षाका क्रममा चनाखो अवस्थामा रहेका थिए। बैंकको प्रमुख एलिना श्रेष्ठलाई नयाँ नोट र ग्राहकको चापले व्यस्त बनाउँदै लगेको थियो। सोही क्रममा अपराह्न करिब ४ बजे अपरिचित ७ जना बैंकभित्र प्रवेश गरे।

उनीहरूमाथि शंका लागेर सतर्क रहेका ४० वर्षीय बैंकका सुरक्षा गार्ड शीतल कुमाललाई दुई जनाले घम्साघम्सीमा ब्यस्त बनाए। उनीहरूले कुमालसँग रहेको खुकुरी र पेस्तोल निकालेर उनैमाथि आक्रमण गरे। कुमालले घटनामा प्रतिकार गर्दै गर्दा लुटेराले चलाएको गोली दाहिनेतर्फको पातामा लाग्न पुगेको थियो।

त्यसपछि बैंकभित्र र बाहिर होहल्ला र भीड जम्मा हुन थालिसकेको थियो। यद्यपि, प्रहरीको पहुँच भने पुग्न सकेको थिए। सुरक्षा गार्डमाथि लुटेराले चलाएको अर्को गोली भने सहनीलाई लाग्न पुगेको थियो। उनी सोही क्रममा घाइते भए।

बैंकबाहिर भीड हुन थालेपछि रकम लिएर ४ जना बाहिरिएर मोटरसाइकलमा फरार भए। यद्यपि, लुटेरा मुखिया र यादवले घाइते सहनीलाई जोगाउँदै अघि बढे।

उनीहरूलाई प्रहरीले मोटरसाइकलमा भाग्दै गर्दा खयबना चौकबाट नियन्त्रणमा लिन सफल भएको थियो। प्रहरीले पक्राउ परेका यादवको साथबाट १ राउन्ड गोली लोड गरिएको अवस्थामा कटुवा पेस्तोल बरामद गरेको जनाएको छ।

घटनास्थलबाट समेत प्रहरीले नपड्किएको अवस्थामा एक थान पेस्तोल र गोली फेला पारेको थियो। यस क्रममा प्रहरीले लुटेरा समूहले प्रयोग गरेको को२५ प ३८ ९९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

लुटिएको रकम

घटनापछि मोरङ जिल्ला प्रमुख काशीराज दाहालले घटनामा बैंकबाट २० लाख ७१ हजार रुपैयाँ लुटिएको उल्लेख गरेका थिए।

त्यसैगरी, बैंककी शाखा प्रमुख एलिना श्रेष्ठले समेत सोही बराबरको रकम लुटिएको जानकारी दिएकी छन्। घटनापछि त्रसित बैंकका कर्मचारी लुटपाटपछि बैंकमा जम्मा भौचर तथा नयाँ नोटको आँकडा मिलाउँदै गएको बताएका छन्।

घटनामा हालसम्म कति लुटिएको भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरीले यकिन रकमबारे हालसम्म जानकारी दिएको छैन। प्रहरी स्रोतका अनुसार घटनामा संलग्न अन्यको खोजीका क्रममा सीमावर्ती क्षेत्रमा समेत निगरानी बढाउँदै लगेको छ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्