मुगु बस दुर्घटना

दसैंका बेला शोकमा मुगु

काठमाडौँ– मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएहरुको शव परिवारले बुझेका छन्। बुधबार जिल्ला अस्पताल मुगुबाट आफन्तले शव बुझेका हुन्। अस्पतालमा आफन्तसँगै स्थानीयको बाक्लो उपस्थिति थियो।

म‌ंगबार दिउँसाे मुगुकाे छाँयानाथ-रारा नगरपालिकाकाे पिनाटपने खोलामा भएकाे बस दुर्घटनामा ३२ जनाकाे ज्यान गएकाे थियाे। जसमध्ये २३ जनाको शव मुगुमै आफन्तले बुझेका छन्। पाँच वटा शव नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगंज पुर्‍याइको छ।

आफन्त नेपालगंज रहेका कारण ५ जनाकाे शव नेपालगंज पुर्‍याइएको प्रहरीले जनाएको छ। चालक दानबहादुर रावलको शव पनि नेपालगंज पुर्‍याइएको छ।

प्रहरीद्वारा सनाखत गरिएका मृतकहरुमा छायाँनाथ रारा नगरपालिका ७ का १९ वर्षीय लग्न सेजुवाल र उनका २ वर्षीय छोरा, २१ वर्षीया अमृता शाही र उनका ५ वर्षीय छोरा, १२ वर्षका आदित्यविक्रम शाह, २२ वर्षीय महेन्द्र शाही र १६ वर्षीया सुस्मिता बम तथा वडा नम्बर १० की १८ वर्षीया पूजा बुढा, २० वर्षीया मनदेवी बम, २० वर्षीया सरिता खड्का, १८ वर्षीय अमर साउँद र २२ वर्षीय सुनबहादुर विक रहेका छन्।

त्यस्तै छायाँनाथ रारा नपा–८ का २२ वर्षीय सन्तोष वितालु, ३३ वर्षीया प्यारी विक, ३३ वर्षीय भगवती चन्द, २३ वर्षीय आइतसिंह कामी, टोपबहादुर विष्ट र १८ वर्षीय नवीन बुढाको दुर्घटनामा ज्यान गएको थियो।

यस्तै छायाँनाथ रारा नपा–१ का २३ वर्षीया चन्द्रदेवी मल्ल र १८ वर्षका चन्द्रप्रकाश भाम, वडा नम्बर ५ का २९ वर्षीय अजय कार्की र ३२ वर्षीया कमला बिसी, वडा नम्बर ६ का १९ वर्षीया राममाया भामको पनि मृत्यु भएको छ।

यसैगरी १२ नम्बर वडा निवासी बसका चालक ३६ वर्षीय दानबहादुर रावल र २२ वर्षीया छाता साउँद, ११ नम्बर वडाका २२ वर्षीय प्रकाश बुढाको दुर्घटनामा परी निधन भएको छ।

दसैंका बेला मुगु शोकमा डुबेको छ। छाँयानाथ–रारा नगरपालिका शोकमा डुबेको छ। मुगुका बजार बन्द छन्। सबैका अनुहार मलिन छन्। दसैंमा रमाउनु पर्ने मुगु शोकमा डुबेको छ। स्थानीय पत्रकार प्रकाश देवकोटाका अनुसार शोकमा डुबेको गमगढी बजारमा दसैंको कुनै उत्साह छैन। कसैले खसी काटेका छैनन्। मासु पसल बन्द छन्।

अस्पतालमा बुधबार दिउँसो मृतकका आफन्तको घुइँचो लागको थियो  भावविह्वल आफन्तले शव बुझेर लगेका छन्। अहिले अस्पताल पनि शान्त छ ।

छायाँनाथ रारा नगरपालिकाले दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई जनही ५० हजार रुपैयाँ उपलब्ध गराएको  छ। छायाँनाथ राराका मेयर हरिजंग शाही आफै अस्पताल पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्।

नेपालञ्जबाट मुगु जाँदै गरेको छायानाथ रारा यातायात प्रालिको भे १  ख ३१६७ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको थियो।

बसमा ४६ जना यात्रु थिए। दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पन्चर भइ बस अनियन्त्रित हुँदा करिब पाँच सय मिटर जति तल खसेको थियाे। दुर्घटनमा १३ जना घाइते भएको प्रहरीले बताएको छ।

दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ। दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो।

प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्नेबित्तिकै बस भिरबाट खसेको देखेको थियो। बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको हुँदा दुर्घटना अन्य कारण नभइ टायर पन्चर भएका कारण भएको प्रहरीको अनुमान छ।

सबै तस्बिर: प्रकाश देवकाेटा

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्