साफ च्याम्पियनसिप २०२१

फाइनलमा नेपालको प्रतिस्पर्धी माल्दिभ्स कि भारत?

काठमाडौँ– माल्दिभ्समा जारी १३औँ साफ च्याम्पियनसिपमा ऐतिहासिक नतिजा निकाल्दै फाइनल पुगेको नेपालले उपाधिका लागि भारत र माल्दिभ्समध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ।

प्रतियोगिताअन्तर्गत बुधबार राति पौने १० बजे सुरु हुने लिग चरणको अन्तिम खेलमा भारत र माल्दिभ्सबीच निस्कने नतिजाले फाइनलमा नेपालको प्रतिस्पर्धी तय हुनेछ।

साविक विजेतासमेत रहेको माल्दिभ्सले यो खेलमा बराबरी वा जित निकाले फाइनल यात्रा तय गर्नेछ। यता माल्दिभ्सलाई पराजित गर्न सके ७ पटकको विजेता भारत फेरि एक पटक फाइनल  पुग्नेछ। प्रतियोगितामा चार खेल खेलेको नेपाल सात अंकसहित शीर्षस्थानमा छ।

तीन खेलबाट ६ अंक भएको माल्दिभ्स दोस्रो स्थानमा छ। तीन खेलबाट ५ अंक भएको भारत तेस्रो स्थानमा छ। बंगलादेशको चार खेलबाट ४ अंक छ भने श्रीलंकाले अंक जोड्न सकेको छैन।

सुरुका दुई खेलमा बराबरी खेलेको भारतले नेपाललाई १–० गोलले हराएको थियो भने पहिलो खेलमा नेपालसँग १–० ले पराजित भएको माल्ददिभ्सले त्यसपछि लगातार २ खेल जितेको हो।

यसअघि बुधबार साँझ भएको लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनल पुगेको हो।

खेलको सुरुवातमै पछाडि परेको नेपालले ८८ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई अन्जन विष्टले सदुपयोग गरेपछि नेपालको ऐतिहासिक फाइनल यात्रा सम्भव भएको हो।

त्यसअघि फाइनलनजिक देखिएको बंगलादेश ७९ ‍औँ मिनेटमा १० खेलाडीमा सीमित भएपछि नेपालले दबाब थप बढाएको थियो।

फाइनल शनिबार हुनेछ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्