नेपालगञ्ज–काठमाडौँ पैदल यात्राको अन्तर्कथा

न्यायको लडाइँमा सरकारको वक्र दृष्टि

काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेका नेपालगञ्जबाट पैदलै काठमाडौँ आएका अधिकारकर्मी र पीडित परिवार। तस्बिरः देश सञ्चार।

काठमाडौँ– बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँकी नन्कुनी धोबी (४०)को ‘मृत्यु’ वास्तवमा ‘हत्या’ भएको भन्ने आशंकालाई स्थानीय प्रहरीले गम्भीरताका साथ नलिँदा त्यसले न्यायका लागि राष्ट्रिय अभियानको स्वरुप लिएको छ।

बाँकेबाट न्यायका लागि नन्कुनीका आफन्त र अभियानकर्मी पाँच सय किलोमिटरभन्दा लामो यात्रा पूरा गरेर काठमाडौँ आएका छन्।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका–१७ की निर्मला कुर्मी ‘बेपत्ता प्रकरण’सँगै उनको सम्पत्ति हडप्नका लागि भएका प्रयास पनि सार्वजनिक भएका छन्।

अब सडक, अदालत र प्रहरी प्रशासन अभियानको दबाबमा परेका छन्। यस्तो छ, यी दुई घटनासँग जोडिएको नेपालगञ्ज–काठमाडौँ पैदल यात्राको अन्तर्कथाः

०००

दिदीको हत्या भएको दावी गर्दै नन्कुनीका भाइ माताप्रसाद धोबी महिला अधिकार मञ्च बाँकेको समन्वयमा कर्तव्य ज्यान मुद्दाको जाहेरी लिएर साउन ६ गते जिल्ला प्रहरी कार्यालय पुगे।

नन्कुनीले आत्महत्या गरेको भन्दै प्रहरीले कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्ता गर्न मानेन। आत्महत्या दुरुत्साहनको जाहेरी ल्याएमात्रै दर्ता हुने भनेर फर्काइदियो।

जाहेरी दर्ता नभएपछि भदौ १३ गतेदेखि महिला अधिकारकर्मीलगायत पीडित परिवारले जिल्ला प्रशासन कार्यालयअघि धर्ना सुरु गरे। निरन्तरको दबाबपछि अन्ततः धर्नाको पाँचौँ दिनमा जाहेरी दर्ता गर्न प्रहरी तयार भयो।

मुख्यतः नन्कुनी धोबीको ‘हत्या’ र नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुरकी एकल महिला निर्मला कुर्मी ‘बेपत्ता’ प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने उनीहरुको माग थियो।

भदौ १३ देखि ३१ गतेसम्म १९ दिन सिडिओ कार्यालयमा धर्ना जारी रह्यो। तर माग सम्बोधन नभएपछि बाध्य भएर आफूहरुले न्यायका लागि काठमाडौँसम्मको पैदल यात्रा तय गरेको बताउँछिन्, महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य सकिना तेली।

महिला अधिकार सञ्जालकी अध्यक्ष रुबी खानको नेतृत्वमा १६ जनाको टोली न्याय माग्दै असोज १ गते नेपालगञ्जबाट पैदलै काठमाडौँ हिँड्यो।

तर बाँके प्रहरीका प्रवक्ता डिएसपी मधुसूदन न्यौपाने भने भइसकेको सहमति तोडेर उनीहरु काठमाडौँ हिँडेको दावी गर्छन्।

उनले देश सञ्चारसँग भने, ‘हामीले कैयौँ चरणमा छलफल गर्‍यौँ। सहमति भएको पाँच घण्टामै तोडेर हिँड्नुभो। हिँडेको दोस्रो दिन मैले आधा बाटो गएर अझै पनि फर्किनुस्। हामी कारबाही गर्न तयार छौँ भन्दा पनि मान्नुभएन।’

नेपालगञ्जबाट हिँडेको नवौँ दिनमा उनीहरु बुटवल पुगे। बुटवलमा तीन दिन माओवादी नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको कार्यालयअघि धर्नामा बसे। ज्ञापनपत्र बुझाए।

मुख्यमन्त्री केसीले माग सम्बोधन गर्न समिति बनाउने आश्वासन दिँदै नेपालगञ्ज फर्किन आग्रह गरे।

‘हामी न्याय माग्न हिँडेका हौँ। फेरि नेपालगञ्ज गएर आउनु परिहाल्छ। न्याय प्रदेशबाटै पनि पाइन्छ कि भनेर बुटवलमा रोकियौँ। अभियुक्तलाई कारबाही होस्। जुन ठाउँमा हामी त्यो खबर पाउँछौँ, त्यहीँबाट फर्किन्छौँ भन्यौँ मुख्यमन्त्रीलाई। तर कुनै पनि सुनुवाइ भएन,’ सकिनाले सुनाइन्।

नेपालगञ्जबाट हिँडेको २०औँ दिनमा असोज २० गते अपराह्न उनीहरु काठमाडौँ आइपुगे। काठमाठौँ आइपुगेको पर्सिपल्ट असोज २२ गते धर्नाका लागि टोली माइतीघर मण्डला पुग्यो।

माइतीघरमा उनीहरुले सडक अवरुद्ध गरेनन्। सरकारविरुद्ध चर्का नारा लगाएनन्। निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेनन्। चुपचाप सडकपेटीमा धर्ना बसे। सिंहदरबारतर्फ फर्किएर प्लेकार्डमा लेखिएका आफ्ना माग देखाए।

तर राज्यले सिंहदरबारतर्फ फर्केको मन पराएन। साँझ साढे सात बजेतिर पुलिसले रुबी खानसहित १३ जनालाई नियन्त्रणमा लियो।

खाना खाइरहेका बेला पुलिसले अपमानपूर्ण तरिकाले आफूहरुलाई नियन्त्रणमा लिएको सकिनाले बताइन्।

सकिना तेली।

२० दिनको पैदल यात्राले उनका पैतालामा फोका उठेका थिए। खुट्टा सुन्निएका थिए। उपचारका लागि लैजाने भन्दै आन्दोलनको नेतृत्व गरिरहेकी रुबीलाई पुलिसले रातारात सोह्रखुट्टे हिरासतमा पुर्‍यायो।

असोज २३ गते बिहान ११ बजे रुबी खानबाहेक १२ जनालाई प्रहरीले माइतीघर मण्डलामै ल्याएर छोड्यो। अदालतबाट बहुविवाहको मुद्दामा पक्राउ पूर्जी जारी भएकोले उनलाई छोड्न नमिल्ने प्रहरीको भनाइ थियो। उता प्रहरीले भने रुबीलाई सुटुक्क नेपालगञ्ज पठायो।

रुबीलाई प्रहरीले पक्राउ गरेपछि अधिकारकर्मी मोहना अन्सारीले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिन्। सर्वोच्चले २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन भने पनि प्रहरीले रुबीबारे केही थाहा नभएको जवाफ सर्वोच्चलाई दियो।

प्रहरीले अटेरी गरेपछि सर्वोच्चले मंगलबार फेरि भन्यो– रुबी खानलाई बिहीबार बिहान ११ बजेसम्म अदालतमा उपस्थित गराउनू।

अदालतको कडा आदेशपछि बाँके प्रहरीले रुबीलाई बुधबार काठमाडौँ पठाएको छ। बिहीबार उनलाई सर्वोच्चमा पेश गरिँदैछ।

आफूमाथि बहुविवाहको झूटा मुद्दा लगाइएको भन्दै रुबी हिरासतमै आमरण अनसन बसिरहेकी छन्।

छलफलमा बोलाएर धम्कीको  भाषा


असोज २४ गते शनिबार सरकारी पक्षले आन्दोलनरत पक्षलाई छलफलका लागि बोलायो। वार्तामा सरकारी पक्षबाट गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखेरललगायत थिए।

सरकारले आफूहरुका माग सम्बोधन गर्नेभन्दा पनि जसरी हुन्छ काठमाडौँबाट लखेट्न खोजेको छलफलमा सहभागी सकिनाको गुनासो छ।

छलफलका क्रममा प्रवक्ता पोखरेलेले माइतीघर मण्डलामा एक मिनेट पनि बस्न नपाइने धम्की दिएको उनले बताइन्।

‘माग पूरा नभएसम्म हामी जान्नौँ, १० देखि ५ बजेसम्म माइतीघरमा धर्ना बस्छौँ भन्यौँ,’ सकिनाले भनिन्, ‘एक मिनेट पनि माइतीघरमा धर्ना बस्न दिन्नौँ, मान्नुभएन भने जबरजस्ती नेपालगञ्ज पठाइदिन्छौँ भन्नुभयो।’

यस विषयमा थप बुझ्न खोज्दा प्रवक्ता पोखरेल बोल्न चाहेनन्। सरकारले न्यायको लडाइँमा गरेको रेस्पोन्सबारे बताउन नमिल्ने कुनै कारण उनले दिएनन्।

उनीहरुले आइतबार गृहमन्त्री बालकृष्ण खाँडलाई समेत भेटेर आफ्ना माग सुनाए। सरकारी पक्षले माग पूरा नभए फेरि आउनू भनेर गैरजिम्मेवारपूर्ण जवाफ दिएको पीडित पक्षको भनाइ छ।

‘गृहमन्त्रीलाई पनि भेटेर मागपत्र सुनायौँ। उहाँले हामी छानबिन गर्छौँ। अहिले तपाईंहरु जानुस्, माग पूरा नभए फेरि आउनू भन्नुभयो। लिखित सहमति नभएसम्म जान्नौँ भन्यो,’ सकिनाले भनिन्।

नन्कुनी धोवी मृत्यु प्रकरणको नालीबेली


नन्कुनी धोवीको बिहे सात वर्षअघि बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँका रामकुमार धोबीसँग भएको थियो।

त्यसअघि उनको भारतमा विवाह भएको थियो। आफूबाट सन्तान नभएपछि सम्बन्धविच्छेद गरेर उनी माइतीमै बस्दै आएकी थिइन्।

रामकुमारले उनीसँग विवाहको प्रस्ताव राखे। घरमै आएर परिवारसँग कुरा गरे। त्यतिबेला नन्कुनीले ‘मबाट सन्तान हुन्न। मसँग विवाह गरेर के गर्नुहुन्छ’ भनेकी थिइन्।

तर रामकुमारले ‘मलाई जीवनसाथी चाहिएको हो। सन्तान चाहिँदैन’ भनेपछि दिदी र रामकुमारबीच विवाह भएको नन्कुनीका भाइ माताप्रसाद बताउँछन्।

माताप्रसादका अनुसार बिहे भएको चार–पाँच वर्षसम्म सबै ठीकै भए पनि त्यसपछि नन्कुनीलाई यातना दिन थालिएको थियो। दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट हुन्थ्यो।

सम्पत्ति नामसारीको विषयलाई लिएर दिदीको ‘हत्या’ गरिएको उनको आरोप छ।

नन्कुनी धोबीका भाइ माताप्रसाद धोबी।

नन्कुनीसँग रामकुमारको तेस्रो विवाह हो। पहिलो श्रीमतीको मृत्यु भएको र दोस्रो श्रीमतीले सम्बन्धविच्छेद गरेपछि उनले नन्कुनीसँग तेस्रो विवाह गरेका थिए। पहिलो श्रीमतीबाट उनकी एक छोरी छिन्।

छोरा नभएका कारण रामकुमार आफ्नो दाइको छोरालाई धर्मपुत्र बनाएर सम्पत्ति नामसारी गर्न चाहन्थे। नन्कुनी त्यसको विरोधमा थिइन्।

अहिले नै सम्पत्ति दाइको छोराको नाममा गर्दा बुढेसकालमा आफूहरुलाई हेरेन भने के गर्ने भन्ने उनको चिन्ता थियो। बरु सम्पत्ति आफ्नै छोरी (रामकुमारको पहिलो श्रीमतीबाट) को नाममा गरौँ भन्ने नन्कुनीको भनाइ थियो।

यही विषयले दिदीमाथि निरन्तर हिंसा भएको माताप्रसादको भनाइ छ।

यातना सहन नसकेपछि नन्कुनीले २०७८ असार ७ गते महिला अधिकार मञ्च बाँकेमा निवेदन दिइन्।

उनले निवेदनमा लेखेकी थिइन्, ‘मेरो श्रीमान्‌ले मलाई अपशब्द प्रयोग गरी गालीगलौज, कुटपिट तथा शारीरिक तथा मानिसिक यातना दिने गर्दछन् र मेरो श्रीमान्‌का दाइ, भाउजू र गाउँकै वीरेन्द्रबाबु काँदु र उसको श्रीमतीसमेत र छिटु प्रधानले अपशब्द प्रयोग गरी गालीगलौज गर्छन्। मलाई, असह्य यातना भएको कारणले गर्दा यो निवेदन पेश गरेकी छु।’

निवेदनमा उनले पीडकमाथि कारबाही गरी न्याय दिलाइदिन अनुरोध गरेकी थिइन्।

नन्कुनी धोबीले महिला अधिकार मञ्च बाँकेमा दिएको निवेदन।

सकिना भन्छिन्, ‘नन्कुनीको शरीरभरि निलडाम थिए। निवेदन दिएपछि भोलि तपाईंका श्रीमान्‌लाई बोलाएर छलफल गरौँला भन्यौँ। नन्कुनीले सञ्चो छैन, निको भएपछि आउँछु भनिन्। हामीले पनि हुन्छ, केही परे फोन गर्नु भनेर नम्बर दिएर पठायौँ।’

सकिनाका अनुसार त्यसको १५–२० दिनपछि नन्कुनीले फोन गरेर भनिन्, ‘मेरो श्रीमान्‌ले मलाई बोलाए। फोन गरेर राम्रोसँग बोले। उनी सुध्रिए। म घर जान्छु। छलफलमा बोलाउनु पर्दैन।’

तर साउन ५ गते उनी फेरि मञ्चमा आइपुगिन्, ‘मलाई फेरि यातना दिन थालियो’ भनेर।

साउन ६ गते बकर इदको सार्वजनिक बिदा थियो। सबै सरकारी कार्यालय बन्द। त्यसैले साउन ७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिउँला भनेर नन्कुनीसँग सल्लाह भएको सकिना बताउँछिन्।

तर साउन ६ गते बिहान उनी घरमै झुण्डिएको अवस्थामा मृत फेला परिन्।

०००

साउन ६ गते बिहान करिब ८ बजेतिर रामकुमारले माताप्रसादलाई फोन गरे, ‘तिम्रो दिदी त झुण्डिएर मरी।’

माताप्रसाद हतारहतार नेवाजी पुगे। घटना हेर्दा कुनै पनि हिसाबबाट आत्महत्या भन्न नमिल्ने माताप्रसाद बताउँछन्। आफ्नी दिदीलाई हत्या गरेर झुण्ड्याइएको उनको आरोप छ।

उनले देश सञ्चारसँग भने, ‘दिदीको नाक–कानबाट रगत बगिरहेको थियो। शरीरभरि चोट थियो। कानको पछाडिपट्टि घाउ थियो। १० फिट अग्लो कोठामा झुण्डिनका लागि तल कुनै सपोर्ट थिएन। कुनै सपोर्ट नभई त्यत्रो अग्लो ठाउँमा कसरी झुण्डिन्छ?’

उनका अनुसार नन्कुनी मृत भेटिएको कोठामा दुईवटा ढोका थिए। दुबै भित्रबाट बन्द थिए। तर एउटा खिड्की (झ्याल) थियो, जहाँबाट सजिलै बाहिर-भित्र गर्न सकिन्थ्यो।

घटना भएकै दिन माताप्रसाद कर्तव्य ज्यान मुद्दामा जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगे। प्रहरीले जाहेरी दर्ता गरिदिएन। आत्महत्याको केसमा दुरुत्साहनको जाहेरीमात्रै दर्ता हुने भन्दै प्रहरीले फर्काइदियो।

डिएसपी न्यौपानेले भने पोस्टमार्टम रिपोर्टमा आत्महत्या देखिएको हुँदा कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता नभएको बताए।

‘उनी मर्नुको पछाडि उनका श्रीमान्‌को धेरै हात हुनसक्छ, अगाडिका झैझगडा, कुटपिटलगायत। तर घटनास्थल हेर्दा पनि, पोस्टमार्टम रिपोर्टमा पनि झुण्डिएर आत्महत्या लेखेको छ। दुरुत्साहन मुद्दा ल्याउनुस् भन्दा उहाँहरु मान्नुभएन, ‘ उनले भने, ‘त्यसैका लागि १२–१५ दिन लागेको हो।’

जाहेरी दर्ता नभएपछि उनीहरु भदौ १३ देखि ३१ गतेसम्म १९ दिन जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना बसे। पीडित परिवार, अधिकारकर्मी र मिडियाको दबाबपछि धर्ना सुरु गरेको पाँचौँ दिनमा जाहेरी दर्ता भयो।

नन्कुनी धोबीका भाइ माताप्रसाद धोबीले जिल्ला प्रहरी कार्यालय, बाँकेमा दिएको जाहेरी।

प्रहरीले अहिले नन्कुनीका श्रीमान् रामकुमार र जेठाजुलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाएको छ। घटनामा संलग्न भएको भन्दै छिटु प्रधान र वीरेन्द्रबाबु काँदुलाई पनि पक्राउ गर्नुपर्ने तथा बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपानेलाई विभागीय कारबाही हुनुपर्ने उनीहरुको माग छ।

न्याय नपाएसम्म आफू काठमाडौँबाट नजाने माताप्रसाद बताउँछन्। उनले भने, ‘हामीलाई न्याय चाहियो। दोषीलाई कारबाही होस्। एसपी, डिएसपीलाई कारबाही होस्। त्यसपछि हामी जान्छौँ। जबसम्म हाम्रो हिसाब मिल्दैन, तबसम्म हामी यहाँबाट जान्नौँ।’

निर्मला कुर्मी प्रकरणः एकल महिलाको सम्पत्ति हत्याउन अनेक जालझेल


सभासद बादशाह कुर्मीले आफ्नो सम्पत्ति हडप्न खोजेको भन्दै नेपालगञ्ज उपमहानगरपालिका १७ परस्पुर (साविक परस्पुर गाविस ९) निवासी एकल महिला निर्मला कुर्मीले २०६६ मंसिर १६ गते महिला अधिकार मञ्चमा निवेदन दिइन्।

आफ्ना श्रीमान् र छोराहरुको मृत्यु भएपछि सभासद कुर्मीले आफ्नो नागरिकता, जग्गाको लालपुर्जालगायतका कागजात नियन्त्रणमा लिएको र आफूमाथि कुटपिट भएको उनको निवेदनमा उल्लेख थियो।

२०६२ सालमा उनका श्रीमान् र २०६६ सालको कार्तिकमा १५ दिनभित्रै दुबै छोराको मृत्यु भएको थियो।

निवेदन परेपछि महिला अधिकार मञ्चले निरन्तर दबाब दियो। त्यतिबेला विभिन्न सञ्चारमाध्यममा समेत सभासद कुर्मीले एकल महिला निर्मलामाथि हातपात गरेका समाचार सार्वजनिक भएका थिए।

आफूविरुद्ध दबाब बढ्दै गएपछि उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा ती कागजपत्रहरु बुझाए।

निर्मला कुर्मीले दिएको निवेदन।

परस्पुरका पूर्वगाविस अध्यक्षसमेत रहेका कुर्मी भने श्रीमान् र दुबै छोराको निधन भएपछि उनको सम्पत्ति अरुले हिनामिना गर्न नपाओस् भनेर नागरिकता र लालपूर्जा आफूले राखिदिएको दावी गर्छन्।

केही मानिसले विरोध गरेपछि ती कागजपत्र जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाएको उनको भनाइ छ।

‘लालपूर्जा, नागरिकता मैले राखिदिएको हो। समाजका धेरै मान्छे थिए। रुबी खानलगायत केही मान्छे जग्गा खान खोज्यो भनेर मेरो पछि लागे। पछि जिप्रकाले हामी राख्दिन्छौँ भन्यो। मैले जिम्मा लगाएँ। त्यसपछि मेरो कुनै सम्बन्ध छैन। मैले सम्पत्ति संरक्षण गरिदिन खोज्दा दुनियाँको आरोप लगाए। त्यसपछि मैले छोडिदिएँ,’ उनले देश सञ्चारसँग भने।

त्यतिबेला निर्मलामाथि असुरक्षा  बढेको भन्दै साथी संस्थाको सेल्टरमा राखेकोसमेत पाइएको छ।

त्यसपछि झण्डै १२ वर्ष गुमनामजस्तै बनेको उक्त प्रकरण न्यायको माग गर्दै नेपालगञ्जबाट काठमाडौँसम्म भएको अधिकारकर्मीहरुको पैदल यात्रापछि एक पटक फेरि सतहमा आएको छ। अहिलेसम्म पनि उनको अवस्था केहो? भन्ने रहस्यकै विषय छ।

यद्यपि प्रहरीले भने निर्मला भारतमा बिहे गरेर गएको र उतै मृत्यु भएको दावी गरेको छ।

तर महिला अधिकार मञ्चले निर्मलाको करोडौँको सम्पत्ति हत्याउन अपहरणपछि हत्या भएको दावी गर्दै २०७७ चैत २० गते जिल्ला प्रहरी कार्यालय बाँकेमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गराएको छ।

पूर्वसभासद बादशाह कुर्मी, कृष्णमुरारी सिंह, कुवर बब्बन सिंह ठाकुर, उर्मिला कनोजिया, अम्मरलाल कुर्मी, धिरेन्द्र सिंह, रमेश थापा र पार्वती विष्टविरुद्ध मञ्चका तर्फबाट केन्द्रीय सदस्य मनकुमारी गुरतालले जाहेरी दिएकी छन्।

महिला अधिकार मञ्चले जिल्ला प्रहरी कार्यालय, बाँकेमा आठ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरी।

पूर्वसभासद कुर्मी यस घटनामा आफ्नो संलग्नता भेटिए जेल जान तयार रहेको बताउँछन्।

उनले भने, ‘बादशाहले मारिदिन्छ, नेपाल नआउनू भने केही व्यक्तिले उनलाई भारतमा राखे। सम्पत्ति खान पछि उतै विवाह गराइदिए। २०६६ सालपछि यसमा मेरो एकरती कहीँकतै संलग्नता छैन। संलग्नता पाइए जेल जान तयार छु।’

प्रहरीको भनाइलाई आधार मान्ने हो भने उनको भारतीय नागरिक अर्जुन कुर्मीसँग बिहे भएको देखिन्छ। अनुसन्धानबाट निर्मलाको कालगतीले नै मृत्यु भएको प्रहरीको दावी छ।

बाँके प्रहरीका प्रवक्ता डिएसपी न्यौपानेका अनुसार उनको भारतमा बिहे भएको प्रमाणपत्र, बिहेको फोटो तथा मृत्यु दर्ता र अन्तिम संस्कारका फोटोहरु प्राप्त भएका छन्। अब आफूहरु प्राप्त तथ्यहरुलाई पुष्टि गर्नेतर्फ लागिरहेको उनले बताए।

उनले भने, ‘प्रहरीको अनुसन्धानले निर्मलाको  मृत्यु भएको देखिन्छ। हामीले त्यसको तथ्य भेट्टायौँ, जसले निर्मलाको मृत्यु नै भएको पुष्टि गर्छ। हामीले भेटेको कुरा अन्तिम सत्य नहुन सक्छ। हामी त्यसको जाँच गर्छौँ। आवश्यक परे परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँछौँ।’

अनुसन्धानबाट निर्मलाको नाममा रहेको  जग्गा हडप्न विभिन्न जालझेल भएको पाइएको उनले बताए। उनका अनुसार निर्मलाको नाममा ४ विघा १० कट्ठा जग्गा  र अर्को दुई कट्ठा जग्गा थियो। अहिले उक्त जग्गा विभिन्न व्यक्तिहरुको नाममा पुगेको र त्यो अबको अनुसन्धानको पाटो रहेको उनको भनाइ छ।

डिएसपी न्यौपानेका अनुसार ०७५ सालमा निर्मलाकै छिमेकी निजामुद्दिन दर्जीको नाममा घरबास र तीन कट्ठा जग्गा दर्ता भएको देखिन्छ। त्यस्तै बाँकी ४ विघा १० कट्ठा जग्गा रमेश थापाकी श्रीमती रत्न थापाको नाममा छ।

सुरुमा २०६९ सालमा उक्त जग्गा पार्वती विष्टको नाममा नामसारी भएको र पछि अदालतबाट जग्गा लिलाम गराई रमेश थापाकी श्रीमती रत्नको नाममा गरिएको पाइएको डिएसपी न्यौपानेले बताए।

प्रहरी तथ्यको गहिराइसम्म पुगिसकेको भए पनि केही व्यक्तिले रातारात सेलिब्रेटी बन्न खोजेर अनुसन्धानमा सहयोग नगर्दा ढिलाइ भएको उनको भनाइ छ।

निर्मलाका श्रीमान्‌ अर्जुन कुर्मीलाई भारतबाट झिकाएर बयान लिइसकेको पनि उनले बताए। डिएसपी न्यौपानेले भने, ‘उनको दोस्रो पतिलाई हामीले इन्डियाबाट खोजेर ल्यायौँ। अर्जुन कुर्मीसँग उहाँको बिहे भएको देखिन्छ। बिहे दर्ता देखिन्छ। उहाँसँग बिहेको फोटोहरु देखिन्छ।’

बयानका क्रममा अर्जुनले भनेका थिए, ‘मेरो श्रीमतीलाई धेरै मान्छेले ठगे। हाम्रो जग्गा खाइदिए। विभिन्न प्रलोभनमा पारेर जबरजस्ती  सही छाप गराएर सम्पत्ति लगियो।’

अर्जुनले बयानका क्रममा जे कुरा बोलेका छन्, त्यसलाई कागजले पनि पुष्ट्याइँ गरेको डिएसपी न्यौपाने बताउँछन्। निर्मला असुरक्षा महसुस गरेरै भारत गएको र पछि उतै बिहे भएको प्रहरीको निष्कर्ष छ। तर सम्पत्ति हत्याउन त्रास देखाएर निर्मलालाई भारत पठाई उतै बिहे गराइदिएको हुनसक्ने प्रहरीको आँकलन छ।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्