राम्रो काम गरेकै कारण गठबन्धनको नाममा घेराबन्दी गरियोः एमाले नेता पोखरेल

दाङ – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकै कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन्।

दाङको भालुबाङमा बुधबार आयोजित पार्टी प्रवेश तथा दसैं मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नराम्रो काम गरेकाले नभई राम्रो काम गरेकाले सरकारबाट बाहिरिनु परेको बताए ।

‘राम्रो काम गर्न थालेपछि अन्य राजनीतिक दलको दुकान बन्द हुने अवस्था आएपछि गठबन्धनको नाममा घेराबन्दी गरियो’,उनले भने, ‘जहिले जहिले हामीले जिम्मेवारी पायौं। त्यसबेलामा जनताको पक्षमा काम भएका छन्। यही हो विश्वास।’

उनले जनताको भरोसाको पार्टीको रूपमा नेकपा एमाले स्थापित भएको दाबी गरे। आफूहरू सरकारबाहिर रहेका बेला जनताले एमाले रोज्न थालेको भन्दै एमाले काम गर्ने पार्टीको रूपमा स्थापित भएको दाबी गरेका हुन्।

‘केन्द्रमा पनि हामी सरकारबाहिर छौं। यो प्रदेशमा पनि हामी सरकारमा छैनौं। यस्तो बेला पार्टीको रूपमा एमाले रोज्नुभएको छ’, उनले भने, ‘एमाले काम गर्ने पार्टी हो भन्ने स्थापित भएको छ।’

नेकपा एमाले राप्ती गाउँपालिका–१ र छिमेकी जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका–८ र ९ नम्बर वडा संगठन कमिटीको संयुक्त आयोजनामा माथिल्लो भालुबाङमा कार्यक्रम भएको हो।

विभिन्न राजनीतिक दल परित्याग गरी एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गरिएको छ।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्