पाल्पा भैरवमा दर्शनार्थी बढे तर रोटको व्यापार घट्यो

रामपुर (पाल्पा) – पाल्पाका भैरवबाबाको दर्शन गर्न नेपालका मात्र नभई भारतका दर्शनार्थी पनि आउने गर्छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले एसियाकै ठूलो त्रिशूली रहेको यस मन्दिरमा धेरै दर्शनार्थी आउने गर्दछन् ।

कोरोनाले सुनसानजस्तै बनेको पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरमा नवरात्र सुरु भएपछि दर्शन गर्नेको चहलपहल देखिन्छ । यहाँ विशेष गरी नवरात्रको सप्तमीदेखि मन्दिरमा दर्शनार्थीको उपस्थिति बाक्लिँदैछ । महाअस्टमीको दिनमात्रै झण्डै एक हजार ५०० दर्शनार्थीको उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवाली बताउँछन् ।

उनका अनुसार अघिल्ला वर्षको तथ्याङ्क त यो उपस्थिति पनि कम हो, तर पछिल्लो समयमा यहाँ कोरोना महामारीका कारण नआएका दर्शनार्थी आउन थालेका हुन् ।

“नवरात्रका समयमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलै घुइँचो लाग्थ्यो, कोरोनाको असरले गतवर्ष र यो वर्ष भने बिगतको अवस्थालाई हेर्दा दर्शनार्थीको उपस्थिती न्यून भएपनि अहिले पुनः मन्दिरमा बिस्तारै चहलपहल बढ्दै जानु सुखद पक्ष मान्नु नै पर्छ”, उनले भने। यहाँ महामारी सुरु हुनुअघि नवरात्रको समयमा पूजाआजा गर्ने, अवलोकन गर्नेको संख्या एक लाखको हाराहारीमा हुन्थ्यो । दसँै पर्वमा हुने भीडभाडलाई दृष्टिगत गर्दै मन्दिर व्यवस्थापन समिति, कर्मचारी र ठूलो सङ्ख्यामा स्वयंसेवक परिचालन गरिन्थ्यो । यहाँ दसैँमा हाँस, कुखुरा, बोका, पाडाको बलि दिइन्छ भने रोट बनाएर भगवान्लाई चढाउने चलन छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रले प्रसिद्ध भैरवस्थान मन्दिरको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास र यहाँको रमणीय वातावरण अवलोकन गरेर फर्कंदा निकै आनन्द लाग्ने गरेको बताउँछन्, दर्शनार्थी सुदीप खनाल । “नवरात्रको समय भएकाले पनि मन्दिरमा दर्शनार्थीको उपस्थिति बाक्लै थियो, करिब तीन घण्टा लाइनमा बसेर पूजाआजा गरी फर्कियौँ, दसैँको बेला शक्तिपीठको दर्शन गर्ने इच्छाले भैरवबाबाको दर्शन गरेपछि मन आनन्दित भएको छ”, उनले भने।

यस मन्दिरमा वार्षिक ३० देखि ३२ लाख दर्शनार्थी भित्रिने गरेको तथ्याङ्क छ । भारतको उत्तर र दक्षिण क्षेत्रबाट ठूलो सङ्ख्यामा पूजाआजाका निम्ति आउने गरेका छन् । यस्तै तेस्रो मुलुकका नागरिक पनि यहाँको पर्यटकीय वातावरणसँग रमाउँदै घुमफिरका निम्ति भित्रिने गर्दछन् । पाल्पा सदरमुकाम तानसेनदेखि करिब साढे नौ किलोमिटर पश्चिममा अवस्थित यस भैरवस्थान मन्दिर समुद्री सतहबाट एक हजार ४७० मिटरको उचाइमा पर्छ । यहाँबाट गौरीशङ्कर, माछापुच्छ्रे, धौलागिरि, नीलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ । शक्ति सम्पन्न पीठ भएकाले पनि यहाँ ठूलो सङ्ख्यामा दर्शनार्थी भित्रिन्छन् ।

रोटको व्यापारमा कमी

नवरात्रका बेला दिनमा ५०० सम्म रोट बिक्री गर्ने विमला प्रधान अहिले मुस्किलले बढीमा २०० सम्म मात्रै बिक्री भएको बताउँछिन् ।

“दसैँका बेला दैनिक तीनदेखि चार जनासम्म कामदार बन्दोबस्त गरी बिहानदेखि साँझसम्म रोट पकाउनुपर्थ्याे, अहिले पूजाआजा गर्ने दर्शनार्थी कम भित्रिएसँगै रोटको व्यापार घटेको छ”, प्रधानले गुनासो गरिन् । उनले दसैँका बेला मात्रै रोट बिक्रीबाट रु तीन लाखसम्म पनि कमाइ गरेको अनुभव सुनाइन् तर ती दिन सम्झँदा उनलाई अहिले व्यापार लिनु न छोड्नुजस्तै लाग्ने गरेको छ ।

यहाँ डेढ दशकदेखि रोटको व्यापार गर्दै आएकी प्रधानले शनिबार मात्रै १५० देखि २०० वटासम्म रोटको व्यापार गर्ने गरेकोमा कोरोनाको असरले मुस्किलले ४० देखि ५० वटाको मात्र व्यापार हुने गरेको बताउँछिन् । रोटबाटै दैनिक रु ५० हजारसम्म कमाइ गर्ने प्रधानले अहिले व्यापार निकै कम रहेको बताइन् ।

उनले भनिन्, “पहिला रोट बिक्री गरेर दिनमै ५० हजारसम्म कमाइ गरियो, रोट बनाउन बिहानैदेखि साँझसम्म भ्याइनभ्याइ हुन्थ्यो, अहिले शनिबारका दिन ५० वटासम्म र अन्य दिन १५ देखि २० वटासम्म मात्र रोट बिक्री हुन्छ ।” यहाँ एक/एक माना जोडीको रु ३०० र एक पाथीको रु दुई हजार ४०० मा रोट बिक्री हुने गरेको छ । मन्दिर परिसरमा करिब एक दर्जन रोट व्यापारी छन् । पाल्पाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय भैरवस्थान मन्दिरमा कोरोनाको कहरका कारण पूजाआजा गर्न आउने दर्शनार्थीको सङ्ख्या कम हुँदै गएपछि रोट व्यवसायी चिन्तित बनेका हुन् । रोट भैरवको प्रसादका रुपमा मन्दिरमा चढाउने गरिन्छ । भैरव मन्दिरमा आउने दर्शनार्थीले आफ्नो भाकलअनुसार रोट चढाउने परम्परा रहेको छ ।

चामलको पिठो, चिनी, नरिवल, बदाम, काजुजस्ता बस्तु मिसाएर रोट घ्यूमा पकाउने गरिन्छ । यहाँ महाकाल भैरव रहेको कोठामा सयौँ बर्षदेखि अखण्ड ज्योति बलिरहेको पुजारी बताउँछन् । मन्दिरको छानामा स्वर्ण जलप लगाइएको गजुर रहेको छ । भैरवबाबासँग भाकल गरेमा मनोकामना पुरा हुने विश्वासले पाल्पासहित गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङलगायतका जिल्लाबाट भक्तजन आएर रोट चढाउने र बलि दिने गर्दछन् ।

पाल्पाका तत्कालीन सेनवंशी राजा मणीमुकुन्द सेनले १६ औँ शताब्दीमा भैरवबाबा उत्पत्ति भएको ठाउँमा यो मन्दिर निर्माण गरेका थिए । मन्दिरसँगै रहेका पौवाबाट मणीमुकुन्द सेनले नियमित भैरवको आराधना गर्ने गर्दथे । मन्दिर दुई तलाको छ । माथिल्लो भागमा बटुक भैरवको मूर्ति छ भने तल्लो भागमा काल भैरवको मूर्ति रहेको छ ।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्