सहमतिमै साझा सभापति उम्मेदवार – प्रकाशमान सिंह

प्रकाशमान सिंह/फाइल तस्बिर।

मोरङ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सहमतिमै सभापति उम्मेदवार चयन लागि छलफल जारी रहेको बताएका छन्।
विराटनगरमा जिल्लाका पूर्वसचिव यदु विष्टको आमाको निधनमा समवेदना दिन आएका कांग्रेस केन्द्रीय सदस्य सिंहले देश सञ्चारसँग सभापतिमा धेरैको आकांक्षा देखिए पनि १४ औं महाधिवेशनले निष्ठावान, सक्षम एकलाई रुचाउने बताए।

नेता सिंहसँगै डा. शेखर कोइराला, डा. शशांक कोइराला, विमलेन्द्र निधि सभापति दौडमा रहेकोमा उनले प्रजातान्त्रिक पार्टीमा साझा उम्मेदवारका लागि सरसल्लाह गर्दै सहमतिको प्रयास जारी रहेको उल्लेख गरे।

विद्यार्थी राजनीतिकालदेखि नै पार्टीभित्र चलायमान हुँदै आएको बताएका नेता सिंहले सहमतिका लागि देखिएका व्यक्तिबीच पनि एकल, सामूहिक छलफल भइरहेको स्पष्ट पारे।

सभापतिको उम्मेदवारमा दाबी गरिरहेका उनले भने, ‘सहमतिको प्रयास जारी छ। हुँदै भएन भने आआफ्नो विवेक प्रयोग गर्ने हो। पार्टीमा बगाएको परिश्रम र पसिनालाई साक्षी राख्ने हो। म पनि सभापतिको दौडमा सक्षम रहेको छु। १२ औं महाधिवेशनमा पनि मैलै शशांकलाई महामन्त्रीमा त्याग गरेको हुँ। त्यो बिर्सनुभएन।’

सभापतिको रवैयाका कारण १३ औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको उनको भनाइ छ। गएको निर्वाचनमा जनताले दिएको मतले पार्टीको अवस्था प्रस्तुत भएको बताउँदै सिंहले सोही कारण १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको खाँचो रहेको बताए।

मन्त्री नियुक्तिमा देखिएको विवादले पार्टीमा सकारात्मक सन्देश नगएको उनको भनाइ छ। यस विवादले न्यायापालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरेझैं भएको नेता सिंहले बताए। शक्ति पृथकीकरणको सिद्धान्तविपरीत उक्त कार्य भएको उनले औंल्याए।

फरक प्रसंगमा नेपालको लागि चीनकी राजदूतले कम्युनिष्ट एकता र आन्दोलनलाई संयुक्त रुपमा अघि बढाउन दिएको अभिव्यक्तिबारे उनले भने, ‘कुन देशको राजदूतले के भने आफ्नो ठाउँमा छ। बोल्न हुने नहुने, कूटनीतिक मर्यादा पालनाको कुरा उहाँहरुले बुझ्ने हो। यहाँको राजनीति यहाँकै दलले गर्ने हो। अरुले बोलेर चल्ने होइन नि!’

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्